झापा ।

झापामा प्रगति इटाभट्टाले खनेको पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका ५ स्थित बुधबारे निवासी ६६ वर्षीया नंगमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार नगंमाया घरमा कोही कसैलाई जानकारी नगराई आफूखुसी निस्केर हिँडेकी थिइन् ।
घर नफर्किएपछि उनका छोरा दलबहादुर तामाङले खोजतलास गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिममा जगनाथ खनालले सञ्चालन गरेको नेपाल इँटा टायल उद्योगको प्रगति इटाभट्टाले आफ्नो प्रयोजनको लागि बनाएको पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।































