अभिभावकबाट सहभागी हुँदै ग्रान्ड फिनालेको यात्रामा पुगेकी कविता 

0
230
अर्जुनधारा ।
आफ्नो बाल्यकालदेखिनै गीतसंगीतप्रतिको रुचिलाई निरन्तरता दिन नखोजेको पनि होइन तर उनलाई कहिल्यै पनि त्यस किसिमको वातावरण तयार भएन । सुगम जिल्लाको दुर्गम ठाँउले परिचित साविक खुदुनाबारी गाँउ विकास समितिमा वि.सं. २०५० साल कात्तिक १८ गते आमा कल्पना र बुबा लेखनाथ गहतराजकी एक्लो सन्तानको रुपमा जन्मिएकी उनलाई समय र पारिवारिक जिम्मेवारी दुवैले व्यस्त बनाउँदा आफ्नो रुचीलाई निरन्तरता दिन नसकेको उनले बताइन् ।
बाल्यकालदेखिनै मावली घरको ठूलो परिवारमा बसाई, सानै उमेरमा भएको विवाह र त्यसपछिको जिम्मेवारीले पनि आफ्नो गीतसंगीतप्रतिको रुचिलाई उनले घटाउनु परेको थियो । आफ्नो रुचिका कारण छिमेकीको घरमा बज्ने रेडियोको गीत सुनेर गीत कण्ठ बनाउने गरेको अनुभव सुनाएकी उनको जीवनमा गत साउन ३ गतेले भने फरक पहिचान स्थापित गरेको उनी हुन् अर्जुनधारा नगरपालिका–४ निवासी कविता खाती (३२) ।
अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा रहेको सारेगम कला केन्द्रद्वारा नयाँ प्रतिभाहरुको पहिचान एवम् प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरिय रियालिटी सो “इस्ट सुपर स्टार सिङ्गिङ एण्ड डान्सिङ सिजन–१”को अडिसनमा सहभागी आफ्नी छोरी नानुका र भतिजी छोरी रस्मिकाको अभिभावकको रुपमा प्रस्तुती हेर्न पुगेकी उनी आफैं सहभागी भइन् ।
सानो ममीको गीतसंगीतप्रतिको रुचीलाई बुझेको भतिजी छोरी रस्मिकाको विशेष अनुरोध, केही समय अघि अर्जुनधारा–४ नं. वडा कार्यालयको आर्थिक सहयोग र स्थानीय  दलित लक्षित उपभोक्ता समितिको आयोजनाम सम्पन्न भएको १५ दिने उद्घोषण तालिमको अनुभव र प्रतियोगिताका आयोजक केन्द्रका प्रमुख सन्तोष आलेको प्रतिभालाई उमेरले छेक्दैन भन्ने प्रेरणाका कारण उनी अभिभावकबाट प्रतियोगिताको सहभागी भइन् ।
जीवनमा गीतसंगीत सम्बन्धी कुनै पनि प्रशिक्षण लिन अवसर नजुरेको उनले प्रतियोगिताअन्र्तगत अडिसनसहित पाँच वटा चरण पार गरेर हाल ग्रान्ड फिनालेमा स्थान सुरक्षित गरेकी छिन् । श्रीमान मनिराजसँगै आफन्त, छरछिमेक, शुभचिन्तक सबैको कारण आफ्नो फरक पहिचान स्थापित भएकोमा उनले सबैलाई धन्यवाद व्यक्ति गर्दै यही पुस १२ गते अर्जुनधारा नगरपालिका–७स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको प्राङ्गणमा हुने प्रतियोगिताको ग्रान्ड फिनालेका लागि आफूलाई आशिर्वाद र सहयोग गर्न अपिल गरेकी छिन् ।
जीवनमा आफूले घटाएको रुचिलाई फेरि अगाडी बढाउने अवसर मिलेको हुँदा यदि प्रतियोगितामा आफू उपाधिविहिन भएको खण्डमा पनि गीतसंगीतप्रतिको यात्रालाई सधैं निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरिन् । नेपाली गीतसंगीतलाई माया र संरक्षण गर्नु संसारभरका नेपालीको जिम्मेवारी भएको बताउने उनलाई भोट गर्न प्रतियोगिताको क्यूआरमार्फत रिमार्कमा  KABITA/05 कोड टाइप गरि पठाउनु पर्ने छ ।
प्रस्तुतीः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here