बिर्तामोड वडा स्तरीय फुटबलः वडा नं. ३ को शानदार जित, क्वाटरफाइनलमा प्रवेश

0
46

बिर्तामोड । बिर्तामोडमा जारी छैटौँ वडा स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा वडा नं. ३ ले दमदार प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।  

वडा नं. ३ ले वडा नं. ८ लाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सहज जित दर्ता गर्‍यो। खेलमा वडा नं. ३ का आशिष चापागाईंले ह्याट्रिकसहित ५ गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। यस्तै, सन्तोष राईले १ तथा प्रयास बुढाथोकीले २ गोल थपे। वडा नं. ८ का लागि विवेक राजवंशीले एकमात्र सान्त्वना गोल फर्काए।

उत्कृष्ट प्रदर्शनका कारण आशिष चापागाईं ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे। पुरस्कार कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ तथा आयोजक समितिका अध्यक्ष विकास गिरीले संयुक्त रूपमा प्रदान गरेका हुन्।

प्रतियोगिताको विजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैबीच, दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा पनि वडा नं. ३ विजयी भएको छ। वडा नं. ८ का खेलाडी उपस्थित नभएपछि वडा नं. ३ ले वाकओभर पाउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो।

आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुका अनुसार भेट्रान्स फुटबल प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। भेट्रान्स प्रतियोगिताअन्तर्गत आइतबार वडा नं. ६ र वडा नं. ७ बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here