झापा, झापाको विकास र समृद्धिमा योगदान पु¥याउने उद्देश्यसहित झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाहरूको सहभागितामा ‘पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने भएको छ ।
सन् २०२६ भरी पठन संस्कृतिको प्रवर्धन गर्ने लक्ष्यसहित यो अभियान सुरु गर्न लागिएको आइतवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
अभियानका लागि ‘अभियन्ता’का अध्यक्ष प्रकाश गुरुङ, वीरता रिडर्सका संयोजक तीर्थ सिग्देल, रेडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्य, झापाली साहित्य समाजका अध्यक्ष हरि बराल, मिडिया रिसर्च सेन्टर र इशा बुक्स सेन्टरको संयुक्त पहलमा अभियान अघि बढाइएको हो ।
अभियान अन्तर्गत सामाजिक स्तरबाट पठन संस्कृति वर्ष घोषणा गर्दै यसलाई सरकारी कार्यक्रमका रूपमा अघि बढाउन सरकारलाई ज्ञापनपत्रमार्फत आग्रह गरिनेछ । साथै साहित्यिक, सामाजिक, व्यावसायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थी लक्षित सन्देशमूलक कार्यक्रमहरू सञ्चालन गरिने पठन संस्कृति वर्ष २०२६ का सह संयोजक केशव मैनालीले जानकारी दिए ।
यस अभियानका मुख्य उद्देश्यमा सन् २०२६ लाई पठन संस्कृति वर्षका रूपमा मनाउने औपचारिक घोषणा, सबै संघसंस्थासँग सहकार्य गर्दै रचनात्मक गतिविधि सञ्चालन, तथा स्थानीय तहसहित सरोकारवालाहरूको सहभागितामा शैक्षिक सरोकार समिति गठन गरी दीर्घकालीन अभियान सञ्चालन गर्नु रहेको छ ।
पठन संस्कृति वर्ष २०२६ घोषणा कार्यक्रम आगामी २०८२ पुस १४ गते सोमबार बिर्तामोडस्थित होटल हेवन ग्रान्डमा आयोजना हुने कार्यक्रम संयोजक तीर्थ सिग्देलले बताए । कार्यक्रम दिनको १२ः३० बजेदेखि ३ः०० बजेसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा झापाका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व र विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा गीत, कविता र गजल वाचनका साथै दुई कृतिको विमोचन गरिने छ । हेम गुरागाईद्वारा लिखित उपन्यास ‘दिगो समाधान’ र तीर्थ सिग्देलद्वारा लिखित इतिहास ग्रन्थ ‘त्यो झापा’ को विमोचन हुने कार्यक्रम तालिकामा उल्लेख छ ।
झापाको इतिहासमाथि वरिष्ठ अधिवक्ता तथा लेखक लीला उदासी, समाज विकासमा अभियानको भूमिकाबारे सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी, तथा पठन संस्कृतिले समाजमा पार्ने प्रभावबारे लेखक तथा सामाजिक अभियन्ता केदार शर्माले आ – आफ्नो धारणा राख्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा पठन संस्कृति वर्ष २०२६ घोषणापत्र सार्वजनिक गरिने बताइएको छ । अभियानका संयोजक तीर्थ सिग्देल र सह–संयोजक केशव मैनालीले झापाबाट सुरु भएको यो अभियानलाई राष्ट्रिय अभियानका रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् ।





























