झापा , झापाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा एक वृद्धको भिरबाट खसेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार पुस ६ गते साँझ करिब ७ बजे अन्दाजी ६५ वर्षीय स्थानीय यमबहादुर मगर आफ्नै पुरानो घर जान्छु भन्दै हिँडेका थिए । तर उनी घर नफर्किएपछि परिवार र स्थानीयले खोजतलास सुरु गरेका थिए ।
खोजतलासका क्रममा शान्ति सामुदायिक वनभित्र पर्ने करिब ६० देखि ७० फिट अग्लो भिरबाट खसेको र उनी मृत अवस्थामा भेटिएका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।































