बिर्तामोड, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला कार्यसमिति झापाको २३ औँ वार्षिक साधारण सभा तथा १३औँ जिल्ला अधिवेशनबाट विनोद सापकोटा पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। झापाको दोमुखामा सम्पन्न अधिवेशनले सापकोटालाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा चयन गरेको हो।
अधिवेशनबाट गठन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, प्रथम उपाध्यक्षमा खगेन्द्र गौतम र द्वितीय उपाध्यक्षमा सन्तोष बुढाथोकी चयन भएका छन्। सचिव पदमा पुनः चन्द्रमणि घिमिरे (चन्द्र) सर्वसम्मत चयन भएका छन् भने कोषाध्यक्ष पदमा पनि सर्वसम्मत चयन भएको छ। उपसचिवमा निर्मला भण्डारी यादव चयन भएकी छन्।
त्यसैगरी पदाधिकारीतर्फ सन्तोष बुढाथोकी र दुर्गा प्रसाद घिमिरे जिल्ला सदस्यबाट पदाधिकारीमा सर्वसम्मत चयन भएका हुन्। सदस्यहरूमा बबिता पौड्याल, सुनिता उप्रेती, प्रदीप कुमार चौधरी, खेमराज श्रेष्ठ, शत्रुघन जैसवाल, विनोद खतिवडा, गौरीप्रसाद चौलागाईं, मनिष खतिवडा, ईश्वरीप्रसाद नेपाल, शंकरप्रसाद पाण्डेय, मिलन चापागाईं र अशोक पोखरेल सर्वसम्मत चयन भएका छन्।

अधिवेशनले लेखा समितिको संयोजकमा मनकुमार चौलागाईंलाई चयन गरेको छ भने सदस्यमा सोम अधिकारी र मोहनप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्। अध्यक्ष सापकोटाको नेतृत्वमा महासङ्घले अघिल्लो कार्यकालमा झापाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा हुने पाठ्यसामग्रीको अव्यवस्थित बिक्री वितरणको विषयमा कडा आवाज उठाउँदै सरकारको ध्यानाकर्षण गराएको थियो। विद्यालय हाताबाट पाठ्यपुस्तक बिक्री हुने गलत परिपाटी अन्त्यतर्फ उन्मुख गराउन महासङ्घले खेलेको भूमिकाका कारण जिल्लामा विद्यालय हाताबाट पाठ्यपुस्तक बिक्री क्रमशः बन्द हुन थालेको थियो।
सापकोटाले पहिलो कार्यकालमा लामो समयदेखि सुस्त अवस्थामा रहेको झापाको संगठनलाई चलायमान बनाउँदै सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियानलाई प्रभावकारी बनाएका थिए। हाल झापा जिल्लामा ३१३ जना पुस्तक तथा स्टेसनरी व्यवसायीहरू महासङ्घमा संगठित भएका छन्, जुन संगठनको सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ।
महासङ्घका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष मातृकाप्रसाद शिवाकोटी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले दक्ष जनशक्ति उत्पादनमा पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको अतुलनीय योगदान रहेको उल्लेख गर्दै अब राज्यले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए।
कार्यक्रममा कोशी प्रदेश अध्यक्ष जीवन नेपाल, महासङ्घका पूर्व केन्द्रीय उपमहासचिव रामदेव पाण्डे, झापाका पूर्व अध्यक्ष फडिन्द्रराज न्यौपाने, सुनसरी जिल्ला सचिव भीम घिमिरे, प्याप्सन झापाका कोषाध्यक्ष अमृतकुमार तिम्सिना तथा रिडमोर प्रकाशनका कमल श्रेष्ठलगायतले पछिल्ला दुई वर्षमा झापा जिल्ला समितिले गरेको कामको खुलेर प्रशंसा गरेका थिए।
अवसरमा महासङ्घले झापाका पूर्व अध्यक्षहरू श्यामकुमार ढकाल, फडिन्द्रराज न्यौपाने र देशबन्धु ढुङ्गेललाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको थियो।
कार्यक्रमको स्वागत उपाध्यक्ष खगेन्द्र गौतमले गरेका थिए भने सञ्चालन सचिव चन्द्रमणि घिमिरे चन्द्रले गरेको कार्यक्रम संयोजक सुमन खनालले जानकारी दिए।































