नक्कली नम्बर प्लेटमा सञ्चालित पाँच बोलेरो नियन्त्रणमा

0
32

धरान ,  भारतबाट चोरी गरी ल्याइएका तथा नक्कली नम्बर प्लेट प्रयोग गरेर सञ्चालन गरिएका पाँचवटा बोलेरो गाडी कोशी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

यो तस्बीर साङ्केतिक मात्र हो ।


कोशी प्रदेश ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय, इटहरीले आज पत्रकार सम्मेलन गरी नियमित सवारी जाँच तथा अभिलेख परीक्षणका क्रममा इन्जिन नम्बर परिवर्तन (रि–पञ्च), रङ परिवर्तन, दर्ता अभिलेख नपुगेको तथा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा ती सवारीसाधन फेला परेको जानकारी दिएको हो। कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार शंकास्पद विवरण भेटिएपछि सबै गाडी नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा परेका सवारीमध्ये को१ज ११११ नम्बरको बोलेरो गाडी सवारी दर्ता किताबमा उल्लेख इन्जिन नम्बर एफ ३१ एल ३२७६४ भए पनि सवारीमा जडान गरिएको इन्जिन नम्बर डिडब्लु ४६०२३ भेटिएको छ। उक्त सवारीको चेसिस नम्बर एमएआइएनभी २ एएफए ४२ ए १०६३३ रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी ना२च ७२९५ नम्बरको सवारीसाधनमा परिवर्तन गरिएको इन्जिन अभिलेखअनुसार नपाइएको, रङ परिवर्तन गरिएको तथा जीजी ८१ एफ ४१४८४जीए ९४ एल ६९४८१ इन्जिन नम्बर उल्लेख रहेको पाइएको छ।

ना १ ज १५८३ नम्बरको सवारीसाधन यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नपरेको र सवारी दर्ता किताबसमेत उपलब्ध नभएको देखिएको छ। यस्तै ना३च ३९२८ नम्बरको बोलेरो कम्पनीबाट आयात नभएको अवस्थामा इन्जिन नम्बर रि–पञ्च गरिएको पाइएको प्रहरीले जनाएको छ।

ग१च ६६८४ नम्बरको सवारीसाधन पनि आयातकर्ता कम्पनीले आयात नगरेको तथा यातायात व्यवस्था कार्यालय गण्डकीबाट विवरण उपलब्ध नगराइएको पाइएको छ। उक्त सवारीको चेसिस नम्बर एमए १ एक्सबी २ जीएफके ७२इ२६५८६ रहेको छ।

नियन्त्रणमा लिइएका सबै सवारीसाधन चोरी पैठारी तथा नक्कली नम्बर प्लेट प्रयोगसँग सम्बन्धित हुन सक्ने आशङ्कामा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाउने तयारी भइरहेको उपरीक्षक गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here