महिलाको उद्यमशीलताः सय करोड बात्ती बनाउँदै

0
97

दुर्गादेवी रिजाल : उदाहरणीय उद्यमी महिला, बिदेशमा पनि लाखबत्तीको उच्च माग

सुरेन्द्र भण्डारी

झापा । आठ वर्षअघि बिर्तामोड–५, मंगलएकता टोल निवासी दुर्गादेवी रिजालले पाँच लाख रुपैयाँ लगानी गरेर पूजा सामग्री उद्योग शुरु गरिन् ।
घर खर्च चलाउन हम्मे–हम्मे परिरहेका दिनमा उनले उद्यमी बन्ने सपना बोकेर लाखबत्ती बनाउने मेसिनमा लगानी गरिन् । तर, शुरुका दिनहरू सजिला थिएनन् । बजारमा आफ्नो उत्पादन पु¥याउँदा बिक्री नभएपछि निराशा र पीडाले उनका आँखा रसाएका थिए । 
त्यो समय सम्झँदा अझै आँखा रसाउँछ– उनी भन्छिन्– ‘नरसाउन् पनि किन, आफू स्वयम् खटिएर उत्पादन गरेको बात्ती बिक्री नभएपछि मनमा परेको चोट अझै ताजै छ ।’ तर, दुर्गादेवीले हार मानिनन् । उनले आफ्नो श्रीमान मधुसुधन रिजालको साथ लिएर उद्योगमा समर्पित भइन् ।
दुःख, असफलता र चुनौतिले उनलाई रोक्न सकेन । दिन–रात मेहनत, निरन्तर अभ्यास र नवीनताको खोजीपछि उनको उद्योगले उत्पादन गरेको सामग्रीले बिस्तारै बजार पाउन थाल्यो ।
आज दुर्गादेवीको उद्योगले देशभरिका पूजा पसलहरू मात्र होइन, विदेशमा बस्ने नेपाली समुदायसम्म आफ्नो उत्पादन पु¥याएको छ । लाखौंलाख लाखबत्ती, हजारौं ब्रतबन्ध पोशाक, चदँुवा, काँचो धागो, धार्मिक झण्डा, जनै, बाटेको धुप, फूलबत्ती लगायतका सामग्री तयार पारेर देशविदेशमा आफ्नो उत्पादन पु¥याउन दुर्गादेवी सफल भएकी छिन् ।
दुर्गादेवीको सपना पूरा गर्न श्रीमान मधुसुधनले साथ दिए । मेसिन सञ्चालन, डिजाइन तयारी र बिक्री व्यवस्थापनमा उनले पनि सहयोग पु¥याए । दुर्गादेवी भन्छिन्– ‘श्रीमानको प्रेरणा र साथ बिना म यो उद्योग सञ्चालन गर्न सक्दिन थिएँ होला तर परिवारको समर्थन पाइयो भने हामी महिलाहरुले जस्तोसुकै चुनौति पार गर्न सक्ने रहेछौं ।’
दुर्गादेवीको उद्योगले वार्षिक करिब १२ करोडभन्दा बढी बात्ती उत्पादन गर्दै बिक्री गर्छ । एक लाख बात्तीको तौल करिब ४ केजी हुन्छ भने काँचो धागोको उत्पादन चार टनभन्दा बढी हुन्छ ।
ब्रतबन्ध पोशाक र चदँुवा ५ हजारभन्दा बढी थान उत्पादन हुँदै बिक्री हुने गरेको छ । पर्याप्त मात्रामा जनै, बाटेको धुप, धार्मिक झण्डा बिक्री हुँदै आएको दुर्गादेवीले बताइन् । उनीसँग पाथीभरा मातालाई चढाउने झण्डाको डिजाइन गर्ने क्षमता पनि छ । यसको डिजाइन श्रीमान मधुसुधनले गरेका थिए । यो झण्डाको डिजाइन तयार गरेसँगै अन्य झण्डाहरुको उत्पादनमा मार्ग प्रशस्त भयो ।
बात्ती बनाउने मेसिनको कालीगढ भारतबाट ल्याइएको भए पनि, मेसिन सञ्चालन र निर्माणको प्रक्रिया निकै चुनौतिपूर्ण थियो । श्रीमान मधुसुधनले निरन्तर ६ महिना प्रयास गरे तर सफलता नपाएपछि भारतको आग्राबाट सहयोग लिएर मेसिन तयार पारियो । जुन मेसिनले दुर्गादेवीको सफल उद्यमी बन्ने सपना पूरा गरेको छ ।
दुर्गादेवीका लागि उद्योगको उद्देश्य केवल उत्पादन र बिक्री मात्र होइन, सामाजिक जिम्मेवारी र प्रेरणा पनि त्यत्तिकै महत्वपूर्ण छ ।
पाँच जनालाई रोजगार दिन पाएको भन्दै उनले खुशी व्यक्त गरिन् । हामी केवल उद्योग चलाउँदैनौं, अरुलाई पनि स्वरोजगार बन्न प्रेरित गर्छौं– उनले भनिन्– हिजो आफूले दुःख पाएको र संघर्ष सम्झिएर अरुलाई पनि उद्यमी बन्न प्रेरित गर्ने गरेकी छु ।
उद्योग शुरु गर्दा बजारमा २५ हजार वात्ती बेच्न पनि चुनौतिपूर्ण थियो । अहिले भने माग अत्यधिक बढेको छ उनले भनिन्– धरानको लक्ष्मी पूजा पसलले शुरुमा २५ हजार वात्ती खरिद गरेको थियो, पछि एकै पटक दुई लाख वात्ती माग्दा आफूले रातदिन मेहनत गरेर वात्ती तयार पारेका थियौं ।
त्यो दिनको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ–उनले भनिन्– दुई लाख बात्ती बिक्री भएको दिन माई भगवतीलाई ढोगेर यही व्यवसायमा लाग्ने अठोट लिएँ ।
कोरोना महामारीको समयमा अधिकांश व्यापार ठप्प भए पनि दुर्गादेवीको उद्योग निरन्तर चलिरह्यो । त्यो समयमा धेरै मानिसको मृत्यु भयो तर, हामीले उद्योग बन्द गरेनौं– उनले भनिन्– हामीले उत्पादनलाई निरन्तरता दियौ । यसले उद्योगलाई मात्र होइन, समाजलाई पनि सहयोग पुग्यो ।
कोराना सकिएपछि धेरै मानिसको बार्षिकी आयो, धेरैलाई लाखबत्ती आवश्यक प¥यो । त्यो बेला बजारमा लाखबत्ती कमी थियो । हामीले त्यही समय धेरै बात्ती बेच्न सफल भयौं ।
अहिले दुर्गादेवीको उद्योगद्वारा उत्पादित सामान नेपालका विभिन्न जिल्लासँगै भारतमा रहेका नेपाली भाषी समुदाय, खाडी मुलुक र युरोपसम्म पुग्ने गरेको छ ।
पश्चिम नेपालका पहाडी जिल्लाहरू बाजुरा र डडेलधुरामा समेत उनका ग्राहक छन् । लाखबात्तीको माग बढेसंगै अहिले आफूले पाँच करोड वात्ती भण्डारण गरेर राखेको उनी बताउँछिन् ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले पनि उनको उद्योगलाई नयाँ आयाम दिएको छ । फेसबुक र टिकटकमार्फत गरेको बिक्री र प्रचारले देश–विदेशमा ग्राहक थपेको छ । दुर्गादेवी भन्छिन्– ‘सोसल मिडियाले हाम्रो उत्पादनलाई विश्वव्यापी बनाएको छ ।
माघदेखि असारसम्म मुख्य बिक्री अवधि हो । त्यस समयमा हामीले उत्पादनमा कुनै कमी राख्दैनौं ।’ ‘उद्यमशीलता भनेको अवसरको पहिचान र लगनशीलता हो’– उनी भन्छिन्– ‘मानिसमा यदि इच्छाशक्ति जागृत हुने हो भने गर्न सकिने रहेछ । उद्यमी बनौँ, लक्ष्मी (धन) कमाउन कहीं जानु पर्दैन ।’ दुर्गादेवीको कथा केवल उद्योग र आम्दानीको कथा होइन ।
यो महिलाको आत्मविश्वास, लगनशीलता र सामाजिक योगदानको कथा हो । उनले घर र उद्योग दुवै सम्हालेकी छिन् । समाजमा महिला उद्यमशीलताको दृष्टान्त बनेकी छिन् । उनको प्रेरणा धेरै महिला र बेरोजगार युवतीका लागि मार्गदर्शन बनेको छ । आज दुर्गादेवी रिजालको उद्योगले एक सय करोड बात्ती बनाउने काममा अग्रसरता लिएको छ ।
सुनसरीको बराह क्षेत्रमा आयोजना गरिने सय करोड बात्ती बाल्ने कार्यका लागि उनको उद्योगले बात्ती बनाउन शुरु गरेको छ । बिगतका दिन स्मरण गर्दै उनी भन्छिन्– शुरुमा उद्योग चलाउँदा सोच्थें २५ हजार बात्ती बेच्न पनि कठिन छ । आज एक सय करोडको माग हुँदा उद्योगले न्याय पाएको महशुस गरेकी छु । यो केवल मेरो सफलताको कथा होइन, समाजका अन्य महिला उद्यमीका लागि पनि प्रेरणा हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here