कोशी प्रदेशको विराटनगरका तारे होटलभित्र सञ्चालनमा रहेका क्यासिनोहरु नेपालीलाई नै कंगाल बनाउने थलो बनेको तथ्य सार्वजनिक भएको छ । त्यसो त झापामा सञ्चालनमा रहेका तारे होटलहरुका क्यासिनोमा पनि नेपालीको प्रवेश हुने गरेको र कति नेपाली जुवाको लत लागेर कंगाल बनेको चर्चा भएको हो । विदेशी पर्यटक भित्र्याउने उद्देश्यले खोलिएका यस्ता क्यासिनोहरुमा सञ्चालक, स्थानीय बिचौलिया र उच्च प्रहरी अधिकारीको सेटिङमा कानून विपरीतका काम हुने गरेको थियो । तर, विराटनगरका रत्ना र बिग होलटमा सञ्चालित क्यासिनोमा गत आइतबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा मारेर बीस जना नेपालीलाई पक्राउ गरेपछि विगतदेखिको आरोप पनि पुष्टि भएको छ ।

क्यासिनो सरकारको स्वीकृति लिएर सञ्चालन हुने जुवा घर हो जहाँ नेपालीलाई प्रवेश गर्न वर्जित छ । थोरै समयमा धेरै पैसा कमाइने लोभमा भारतीय परिचय आधार कार्ड देखाएर झापा, मोरङ, सुनसरीका नेपालीहरु टाट पल्टिएका पनि छन् । क्यासिनोको लतले विराटनगरका ठूला व्यापारिक घरानाका युवाहरु टाट पल्टिने अवस्थामा पुगेपछि उनीहरुकै परिवारले प्रशासन समक्ष गुनासो गरेका थिए । स्थानीय सञ्चारमाध्यमहरुले पनि क्यासिनोहरुले नियम विपरीत नेपालीलाई प्रवेश तथा क्यासिनो खेल्न दिएको समाचार लेख्ने गरेका थिए । यस्ता गुनासा र समाचारको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङ प्रहरी प्रमुख कोवित कटुवालको नेतृत्वको टोलीले छापा मार्दा नेपाली नागरिक, युवा–व्यवसायी र विद्यार्थी समेत क्यासिनोको शिकार बन्ने गरेको आरोप र गुनासो पुष्टि भएको हो ।
विराटनगरमा पक्राउ परेका बीस जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीको भनाइ छ । तर, क्यासिनोका सञ्चालक कांग्रेस र एमालेका नेता रहेको सुरक्षा स्रोतले जनाएको छ । तर, प्रशासनले भने सञ्चालकहरु को हुन् भन्ने खुलाएको छैन जसका कारण सर्वसाधारणले भने कारवाही हुनेमा आशंका प्रकट गरेका छन् । नेपालीलाई प्रवेश नै निषेध गरेको क्यासिनोमा यति धेरै नेपाली एकैपटक पक्राउ पर्नुलाई स्थानीयले उपलब्धी मानेका छन् । यसले प्रशासनलाई क्यासिनो सञ्चालक, आधार कार्ड देखाउने भारतीय र नक्कली भारतीय माथि कडा निगरानी गर्नुपर्छ भन्ने सन्देश दिएको छ । नेपालको प्रचलित कानूनले नेपाली नागरिकलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा कानूनको धज्जी उडाउँदै नेपालीलाई जुवा खेलाउने क्यासिनो सञ्चालकहरु कारवाहीबाट उम्किनु हुँदैन । अनि मात्र कानून सबैका लागि बराबर भएको ठहरिन्छ ।




























