झापा, झापाको गौरादह नगरपालिका–९ बैगुनधुराको झमकचोकमा गिरिजाप्रसाद कोइराला सामुदायिक भवनको शिलान्यास गरिएको छ । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुराले निर्माण गर्न लागेको भवनको नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले शिलान्यास गरे ।
स्थानीयवासी महेन्द्र चम्लागाईँले निःशुल्क उपलब्ध गराएको दुई कट्ठा जग्गामा निर्माण हुन लागेको उक्त भवन ५० फिट लामो र ३० फिट चौडाइको हुनेछ । प्रतिष्ठानका अध्यक्ष उत्तमबहादुर चम्लागाईँका अनुसार भवन निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने र जुटाउने क्रम जारी छ । प्रतिष्ठानका आजीवन सदस्यबाट जनही पाँच हजार रुपैयाँ सहयोग संकलन गर्ने निर्णयसमेत गरिएको छ ।
भवन निर्माणका लागि सहयोगको अपिल गर्दै अध्यक्ष चम्लागाईँले सार्वजनिक कार्यक्रमका लागि स्थान अभावका कारण स्थानीयवासीले समस्या भोग्दै आएको बताए । भवन निर्माणपछि उक्त समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।
शिलान्यास कार्यक्रमका अवसरमा बैगुनधुराको डाँडागाउँस्थित बलभद्र आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । विद्यालयलाई घण्टी, विज्ञान सामग्री र नेपालको नक्सालगायत सामग्री पनि प्रदान गरिएको छ । बलभद्र आधारभूत विद्यालयमा लोपोन्मुख सन्थाल समुदायका विद्यार्थीको बाहुल्यता रहेको छ ।
त्यसैगरी, नेपाली कांग्रेस कोशी प्रदेश श्रमिक तथा ट्रेड युनियन विभागले झापा क्षेत्र नम्बर ४ का २५ सामुदायिक विद्यालयमा सञ्चालन गरेको हिज्जे तथा निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने ३० जना शिक्षकलाई मायाको चिनोसमेत प्रदान गरिएको छ ।
कार्यक्रममा जेहेन्दार विद्यार्थी प्रोत्साहन पुरस्कारअन्तर्गत लक्ष्मीनारायण माध्यमिक विद्यालयकी छात्रा प्रिया दर्नाललाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ । दर्नाल सो विद्यालयबाट एसईई उत्तीर्ण गर्ने जेहेन्दार विद्यार्थी हुन् । साथै, बैगुनधुरा कीर्तनमण्डलीलाई सहयोगस्वरूप डायरी हस्तान्तरण गरिएको सामुदायिक भवन निर्माण समितिका अध्यक्ष दिवसपति पोखरेलले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, महासमिति सदस्य सीताराम भट्टराई, प्रतिष्ठानका उपाध्यक्ष खेम प्रसाईँ, सचिव कुवेरपति पोखरेललगायतले सामुदायिक भवन निर्माणले गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरणलाई चिरस्थायी बनाउने बताए । सामाजिक कार्यमा सर्वपक्षीय सहयोग जुट्ने विश्वाससमेत व्यक्त गरिएको थियो ।
विसं २०६७ मा किरण भट्टराईको अध्यक्षतामा स्थापना भएको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुराले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।






























