ताप्लेजुङ,

करदाता सेवा कार्यालयको सेवा अब ताप्लेजुङबाटै सुरु भएको छ । यसअघि पाँचथरको फिदिमबाट सञ्चालन हुँदै आएका करसम्बन्धी सम्पूर्ण सेवा शुक्रबारदेखि ताप्लेजुङबाटै सुरु गरिएको हो ।
स्थानीय तह वा अन्य निकायमार्फत कर सेवा उपलब्ध गराउने सरकारको निर्णयअनुसार ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कर दर्ता, दाखिलालगायत सबै करसम्बन्धी कामकाज सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख यामनाथ गिरीले जानकारी दिनुभयो ।
नयाँ व्यवस्थासँगै करदाता तथा सेवाग्राहीले फिदिम पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । यसले सेवाग्राहीलाई समय र आर्थिक भार कम भएको छ । कर प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ सेवा सुरु गरिएको प्रमुख गिरीले बताउनुभयो ।






























