जग्गा विवाद मालपोतमा धर्ना, सेवा ठप्प

0
45

झापा ।

झापास्थित भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको सम्पूर्ण सेवा बुधवार दिनभर ठप्प बन्यो ।

मोही पक्षसँगको जग्गा विवादका कारण जग्गाधनी पक्षधर मालपोत कार्यालय परिसरभित्रै धर्नामा बसेका कारण कार्यालयको सम्पूर्ण सेवा प्रभावित बनेको हो । बिर्तामोड–८का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा पुगेका जग्गाधनी पक्षधरले भूमि सुधारलाई जिल्ला अदालत सरह दिएको अधिकार खारेज गर, भू–माफियालाई कडा कारबाही गर, भूमिसुधार चाहिँदैन, जनता लुट्न पाइँदैन, आखिर जनतालाई सास्ती कहिलेसम्म भन्ने प्ले कार्ड हातमा बोकेर मंगलबार दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म मालपोत कार्यालयमा धर्ना बसेका थिए । उनीहरू बुधवार फेरि धर्नामा बस्दा टाढा टाढाबाट कार्यालयमा सेवा लिन पुगेका अन्य सेवाग्राहीहरू रित्तै फर्किनु परेको थियो ।

जग्गाधनी पक्षधरले भूमिसुधारले गरेको निर्णय सच्याउनुपर्ने र जग्गा हत्याउने खोज्ने संलग्न भूमाफियाहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै धर्ना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

घटना विवरण अनुसार मोहियानी कुरानु राजवंशीकी पत्नी बिर्तामोड– १ निवासी ७३ वर्षीया जानाकी राजवंशीले भूमिसुधार तथा मालपोत कार्यालयमा २०८१ साल माघ १९ गतेका दिन जग्गाधनी पहलमान कार्कीकी पत्नी बिर्तामोड–१ की ५८ बर्षीया भीमादेवी कार्की बस्नेतलाई प्रतिवादी बनाएर मोही हक बाँडफाँड गरी मोही लगत कट्टा गरी पाउँ भन्दै मुद्दा हालेकी थिइन् ।

मोहियानी हालेकी मुद्दामा उल्लेख भए अनुसार साबिक चारपाने १ हाल बिर्तामोड १ को सा.कि.नं. १७ भई हाल कायम कि.नं. २०७५२को ज. वि. ०–१७–० र ऐ. को कि.नं. २०७५४को ज. वि. १–०–४.७५ जग्गाका २०२१ सालका दर्तावाला मोही मेरा पति कुरानु राजवंशी भन्ने कुडानु राजवंशी भएकोमा भूमिसुधार कार्यालयबाट २०३८ सालमा उक्त जग्गामा मेरो नाम कायम गरिएको, मोहीको २ नं. लगतमा मेरो नाम जनाकी उल्लेख भएता पनि जनाकी भन्ने म जानाकी राजवंशी नै भएकोमा हाल उक्त जग्गाको मोही बाँडफाँड गरी मोही लगत कट्टा गरौँ भन्दा जग्गाधनीले बाँडफाँड गरी मोही लगत कट्टा गर्न मञ्जुर नगरेकोले उक्त जग्गा भू.सं. ऐन, २०२१को दफा २६ घ बमोजिम नरम करम मिलाई बाँडफाँड गरी मोही लगत कट्टा गरी पाउँ भन्ने वादी जानाकी राजवंशीको निवेदनमा उल्लेख छ ।

भूमि सुधारमा मुद्दा परेपछि तामेल भएकोमा प्रतिवादीका तर्फबाट मिति २०८१ चैत ६ गतेको प्रतिउत्तरमा उक्त जग्गाको साबिकमा मोहीको लगतमा कुरानु राजवंशी उल्लेख भए तापनि उक्त मोहीले २०३८ सालदेखि नै जग्गा जोत्न छाडेकोले उक्त जग्गा म प्रतिवादीका पति पहलमान कार्कीले नै जोतभोग गरी आउनुभएको अवस्थामा पति पहलमान कार्कीको जीवनकालमा नै २०४९ साल चैत २७ गते तत्कालीन भूमिसुधार कार्यालय भद्रपुरमा निवेदन गरी सोही निवेदनका आधारमा भूमिसुधार कार्यालय भद्रपुरबाट मिति २०५० साल असार ६ गते विपक्षी वादीले दाबी गरेको उक्त कि.नं. ३७० को ज.वि. १–३–० र ऐ.ऐ.को कि.नं. १५५० को ज.वि. १–११–१० समेत जम्मा ज. वि. २–१४– १० जग्गाको मोही लगत कट्टा गरी दिने टिप्पणी सदर भई मिति २०५० असार ७ गते मालपोत कार्यालयलाई पत्राचार गरी उक्त जग्गाको स्रेस्ताबाट मोही कुरानु राजवंशीको मोही लगत कट्टा भइसकेको छ ।

२०३८ सालदेखि नै जग्गा जोत्न छाडी भागी बेपत्ता भएको र मोही लगत कट्टा भएको हुँदा एकपटक मृतक मोही जीवित छँदै जग्गा जोतभोग गर्न छाडी बेपत्ता भई मोहीको लगत कट्टा भई सकेपछि उक्त जग्गामा पुनः मोहियानी हक प्राप्त भई जग्गा बाँडफाँड हुने होइन । वादीकै निवेदन बमोजिम निजका पति कुरानु भन्ने कुडानु राजवंशीको २०४५ सालमा मृत्यु भएकोमा मोही जीवितै रहेको अवस्थामा एउटा मोही देखिरहेको अवस्थामा सोही जग्गामा जनाकी नाममा नामसारी भएको भनी २ नं. अनुसूचीमा जबरजस्ती नाम सम्म लेखी समावेश गराएकोबाट समेत मोही होइन र मोही हुन सक्ने अवस्था समेत छैन । एकपटक साधिकार निकायबाट निर्णय भई मोही लगत कट्टा भइसकेको वादीले पुनः सोही विषयमा निवेदन गर्न मिल्ने होइन । वादीको झुट्टा दाबीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत ब्यहोराको प्रतिउत्तर जिकिर भएको देखिन्छ ।

यता भूमि सुधारले पेशी सूचीमा पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रमाण, मोही लगत कट्टाको निर्णय, मोही नामसारीको निर्णय संलग्न कागजातहरूको आधारमा २०८२ साल मंसीर १५ गते चारवटा मुद्दामध्ये दुईवटा जग्गाधनी र दुई वटा मोहियानीको पक्षमा फैसला सुनाएको थियो ।

फैसलामाथि विवेचित तथ्य प्रमाणहरू, कानूनी व्यवस्था एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतका आधारमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम प्रतिवादी ज.ध. का नाममा दर्ता कायम रहेको चारपाने–१ को सा. कि.नं. १७ को ज.वि. ३–१४–१० जग्गा कि.का. भई दक्षिणतर्फ कायम कि.नं. १७५१ मध्येको कि.नं. २०७५४ को ज.वि. ०–१४–० र ऐ. को सा. कि.नं. १७ को ज.वि. ३–१४–१० फोर भई दक्षिण बीचमा कायम कि.नं. १७५० मध्येको कि.नं. २०७५२ को.ज.वि. १ –०–४.५० जग्गा नरघटी वा नरबढी भएमा समेत आधा–आधा हुने गरी उत्तर–दक्षिण कित्ता काट गरी पश्चिमतर्फको आधा जग्गा मोही जानाकी राजवंशीका नाममा कायम गरी पूर्वतर्फको आधा जग्गा जग्गाधनीकै नाममा कायम राखी भूमि सम्बन्धी ऐन, २०२१को दफा २६ घ बमोजिम मोही र जग्गाधनीबिच बाँडफाँड गरी सम्पूर्ण जग्गाको मोही लगत कट्टा समेत हुने ठहर गरेको फैसलामा उल्लेख छ ।

यता जग्गाधनीका छोरा सुशील कार्कीका अनुसार एकपटक लगत कट्टा भइसकेको जग्गामा फेरि कसरी मोही लाग्छ । उनले भूमाफियाको सेटिङमा कर्मचारीले कागजात मिलाएको आरोप लगाएका छन् । भूमिसुधारबाट मुद्दा हारेपनि पुनरावेदनका लागि उच्च अदालत इलाम इजलास जान पाइन्छ । हामी त्यहाँ जाने तयारीमा थियौँ । ‘तर भूमिसुधारले मोहीको नाममा जग्गा लालपुर्जा बनाई अरूको नाममा नामसारी गरी दिन लागेको थाहा पाएपछि हामी धर्नामा बस्न बाध्य भएका हौँ’– उनले भने ।

कार्यालयबाट गरिएको सेवा प्रवाह सम्बन्धी गुनासो र निर्णयको विषयमा जग्गाधनी पक्षधरले धर्ना दिएको प्रमुख मालपोत अधिकृत लेवन काश्यप अधिकारीले बताए । कार्यालयले गरेको निर्णय वा फैसलाप्रति चित्त नबुझेको खण्डमा माथिल्लो निकाय जान पाउने कानूनी प्रावधान छ । तर, उहाँहरू उच्च अदालत नजाने यहींबाटै सो निर्णय सच्याउनु पर्ने माग राख्दै धर्नामा बस्नुभयो । एकपटक कार्यालयले गरिसकेको निर्णय सच्चाउन नपाइने कानूनी प्रावधान रहेको बताउँदै उनले भने– ‘कुनै पनि न्यायिक प्रक्रियामा दबाब दिएर समस्याको समाधान हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here