निःशुल्क जग्गा दान गर्ने दातालाई कमल गाउँपालिका ४ द्वारा सम्मान

0
21

कमल ।

झापाको कमल गाउँपालिका वडा नम्बर ४ ले वडा कार्यालय तथा आधारभूत स्वास्थ्य कार्यालय निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरेको छ ।

विकास र जनस्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै वडा कार्यालयको आयोजनामा विहिवार एक कार्यक्रमबीच जग्गादातालाई दोसल्ला, कदरपत्र तथा सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको हो ।

आधारभुत स्वास्थ्य कार्यालय निर्माणकालागी तुलसी चाम्लिङ र मीरा चाम्लिङको तर्फ बाट एक कठ्ठा तथा हरी बहादुर तामाङ ,दावा तामाङ र नैना कला मुखियाको तर्फ बाट एक कठ्ठ जमिन उपलब्ध गराउनु भएको थियो ।

त्यस्तै वडा कार्यालयको प्रशासनिक भवन निर्माणकालागी जग्गा दान गर्नुहुने मनमाया इङनाम र रत्न कुमार इङनामको तर्फ बाट २ कठ्ठा १० धुर, पदम बहादुर श्रेष्ठ र विष्णु कुमारी श्रेष्ठ बाट १ कठ्ठा ,भीमबहादुर तामाङ र विना तामाङको तर्फ बाट १० धुर तथा अम्बर बहादर कार्की र कमला कार्कीको तर्फ बाट १० धुर जग्गा उपलब्ध गराउनु भएको थियो ।

त्यसैगरी वडा कार्यलयको प्रशासनिक भवन निर्माणकालागी आवश्यक पर्ने अपुग जग्गा खरिद गरी दान गर्ने हरुमा कैलाश थापा मगर ३३ हजार , डम्बर कुमार लक्सम २९ हजार तारा बहादुर राई २५ हजार, सावित्रा देवी लिम्बु २५ हजार, वीरबहादुर राई २५हजार रेणुका कार्की २० हजार लगायत २८ जनालाई गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार ढकाल, वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई ,निवर्तमान वडा अध्यक्ष प्रेम बहादुर राईले दोसल्ला तथा सम्मान द्वारा सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सार्वजनिक प्रयोजनका लागि व्यक्तिगत सम्पत्ति दान गर्नु उदाहरणीय र प्रशंसनीय कार्य भएको उल्लेख गर्दै यसले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्तो सहयोगले आगामी दिनमा अन्य सामाजिक कार्यमा समेत प्रेरणा मिल्ने बताउनुभयो ।

वडा कार्यालय र आधारभूत स्वास्थ्य कार्यालय निर्माणपछि वडा वासीले नजिकैबाट प्रशासनिक तथा स्वास्थ्य सेवा पाएका छन् । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई प्रत्यक्ष लाभ पुगेको वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराईले बताउनुभयो ।

सम्मानित जग्गादाताले समाज र समुदायको हितका लागि आफ्नो सानो योगदान उपयोगी भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि विकासका कार्यमा सहकार्य गर्न तयार रहेको सम्मानित हुनुहुने मध्येका कैलाश थापा मगरले बताउनुभयो ।

आफ्नै कार्यकालमा स्थानियले वडाको अनुरोधलाई स्वाकार्दैै वडाको प्रशासनिक भवन र स्वास्थ्य कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएर ठूलो गुन लगाउनु भएको निवर्तमान वडा अध्यक्ष प्रेम बहादुर राईले बताउनुभयो ।

कार्यक्रम वडा सचिव तेज प्रसाद आचार्यले सञ्चालन गर्नु भएको थियो भने वडा सदस्य नविन राईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य, टोल विकास सस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here