भद्रपुरका औषधि पसलमा म्याद गुज्रिएका औषधि फेला

0
30

पार्थ मण्डल, झापा ।

झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ । भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो ।

औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको समितिका संयोजक तथा नगर उपप्रमुख राधा कार्कीले बताइन् ।

विभिन्न प्रकारका म्याद गुज्रिएका औषधिहरू जफत गर्नुका साथै पसल सञ्चालकहरूलाई एक पटकका लागि सचेत गराइएको छ । व्यवसाय दर्ता तथा नवीकरण नगरेका पसलहरूलाई सात दिनभित्र दर्ता तथा नवीकरण गरी पसल सञ्चालन गर्न निर्देशनसमेत दिइएको उनले बताइन् ।

अनुगमनको क्रममा चन्द्रगढीस्थित कृपा फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रिएका औषधिहरू फेला परेको, सरसफाइमा ध्यान नदिएको र औषधि स्टोर कक्षमा खाजा बनाउने कार्य गरेको पाइएको छ ।

चन्द्रगढीकै प्रभु कृपा फार्मेसीले २०७८/०७९ सम्म नवीकरण गरेकोले ३ दिनभित्र नवीकरण गर्ने र सरसफाइमा ध्यान नदिएको, भद्रपुरस्थित तिम्सिना फार्मेसीले २०६९/७० यता व्यवसाय नवीकरण नगरेको र औषधिहरूको प्रकार अनुसार छुट्टा छुट्टै नराखी बिक्री गरेको पाइएको छ ।

त्यस्तै गीता फार्मेसीले व्यवसाय दर्ता नवीकरण नगरेकोले सात दिनभित्र नगरपालिकामा आएर नवीकरण गर्न निर्देशन दिएको छ । रिदम हेल्थ केयर सेन्टरले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, दर्ता भएका कागजातहरू नवीकरण नभएको, नभएका डाक्टरहरूको नाम लेखेर राखेको, दररेट नभएको र नागरिक बडापत्र नभएको पाइएको छ ।

चन्द्रगढी मानव डेन्टलले २०७९/०८० देखि व्यवसाय दर्ता नवीकरण नगरेको, न्यु साझा डेन्टल होमले नगरपालिकामा व्यवसाय दर्ता नगरेको र सरसफाइमा ध्यान नदिएको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here