झापा । झापाको अर्जुनधारामा गत पुस ९ गते भएको सवारी दुर्घटनामा परेर घाइते भएका मध्ये आज एक जनाको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–६ अन्तर्गत महानन्द चोक नजिक दास पुल छेउको शनिश्चरे–बिर्तामोड सडकखण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे २ प २४६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ निवासी करिब ३० वर्षीय बुद्ध तामाङ र पछाडि सवार सोही नगरपालिकाका करिब ४० वर्षीय मोहनराज कार्की घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा आज दिउँसो मोटरसाइकल चालक बुद्ध तामाङको बी एण्ड सी अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएको थियो ।






























