‘राष्ट्रिय सहकारी बैंक रुपान्तरणको समयमा छ’

0
50

मुलुककै ठूलो सहकारी झापास्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको सोचदेखि सफलतासम्म जोडिएका अभियन्ता हुन् महेन्द्र कुमार गिरी । कुशल सहकारी सञ्चालक उनी उत्तिकै कुशल व्यवस्थापक पनि सावित भएका छन् । उद्यमशीलता, कृषि, नवप्रवर्तन, लगानी आदिका क्षेत्रमा समेत गिरी समानान्तर तवरले आवद्ध छन् । र, सकारात्मक सोच र निरन्तर मिहेनतको बलमा विविध क्षेत्रमा सफलता प्राप्त भएको दाबी गर्छन् । विचारमा महत्वाकांक्षी गिरी बुझाइमा स्पष्ट सुनिन्छन् र व्यवहारमा लगनशील देखिन्छन् । सहकारीमार्फत समुदायका पिछडिएका वर्ग र समुदायको सामाजिक आर्थिक उत्थान सम्भव भएपनि त्यसका लागि नीतिगत एवम् कानुनी गाँठाहरु फुकाइनुपर्ने धारणा उनी राख्दछन् । परिस्थिति जन्य कारणले राष्ट्रिय सहकारी बैंकको अध्यक्ष बनेका गिरीले दुर्घटनाको डिलमा पुगेको बैंकलाई सेफल्याण्डिङ गराएका छन् । अब निर्वाचनमार्फत नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरी बैंकलाई संस्थागत दिगोपनाको रनवेमा अघि बढ्न अभिभावकीय भूमिकामार्फत सहयोग गर्न तम्तयार छन् । बाँकी छ त केवल नेपाल राष्ट्र बैंकको ग्रिन सिग्नलको । यसै सन्दर्भमा गिरीसँग सहकारी बैंकको सेरोफेरोमा रहेर गरेको संवादको सम्पादित अंशः

संकटग्रस्त अवस्थाको राष्ट्रिय सहकारी बैंकको जोखिम न्यूनीकरण के कसरी सम्भव भयो ? अहिले हामी कहाँ छौं ?

बैंकको अध्यक्ष बनेको एक वर्षमा धेरै करोठ निर्णयहरु भए । त्यही कठोर निर्णयहरुकै कारण बैंक सुरक्षित अवस्थामा छ । यो अवधिलाई म रूपान्तरणको समयका रूपमा लिन्छु । मैले जिम्मेवारी सम्हाल्दा बैंक तरलताको दबाबमा थियो । सहकारी बैंकप्रति समग्र रूपमा नकारात्मक धारणा बनेको अवस्था थियो । तर आजको अवस्था फरक छ, त्यो सबैले महशुस पनि गर्नु भएकै छ । अहिलेको टिमले सदस्य सहकारी र कर्मचारीहरूको भरोसा, आत्मविश्वास र मनोबल उठाउने काममा ध्यान दियौं । आन्तरिक व्यवस्थापनलाई पनि व्यवस्थित गर्नमा केन्द्रित भयौं ।

२५ वटा ऋणमा ५ अर्ब फसेको छ । धितो लिलामीको प्रक्रिया अघि बढेको छ । कस्ता कस्ता व्यक्तिहरुको धितो लिलामी परेको सबैलाई थाहा नै छ । चार जना त सांसद नै हुनुहुन्छ । जेलबाट गोली ठोक्छु भनिरहेका छन् । कठोर निर्णय गरेको थिएन भने बैंक अहिलेको अवस्थामा आउने थियो? पाँच अर्ब प्रोभिजन गर्न सञ्चालकले दिएको थिएन भने बैंकको अवस्था के हुन्थ्यो ? हामी जेल जानु पर्ने थिएन ? अहिलेका सञ्चालकहरुले धेरै बुझ्नु भएको छ । दुई कार्यकाल अध्यक्ष हुनुभएको रमेश पोखरेलले विगतमा केही बुझ्नुभएको थिएन । हामीले पनि त्यति वास्ता गरेनौं । खासमा हामी सबैले केबी सरले जे गर्न भन्नु भयो त्यसैलाई हुन्छ भन्यौं मात्र । तर, अहिले त्यस्तो छैन । सबैले बुझेका छन् र सिकेका छन् ।

बैंक घाटामा थियो, पुँजीकोष पर्याप्त थिएन । बैंकले घाटा कम गर्दै नाफाको यात्रामा अघि बढेका छौं । आगामी वर्ष बैंक नाफामा जानेमा हामी आशाबादी छौं । सदस्यसँगको सम्बन्ध मजबुत बनाउने उद्देश्यले सदस्य संलग्नता कार्यक्रम, तालिम, स्तरीकरण र उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन गरेका छौँ । यी पहलहरूले बैंकप्रति सदस्य संस्थाको अपनत्व बढाएको छ र संस्थागत मजबुतीमा सहयोग पुगेको छ ।

राष्ट्रिय सहकारी बैंक ‘बैंक’ नबनेर अभियान बन्दा समस्या आएको भनिन्छ नि?

महासंघ पनि आफै हुने प्रवृति छ । नेफ्स्कून पनि महासंघ बन्ने । सबैको आ-आफ्नो कार्यक्षेत्र छ । जसको कार्यक्षेत्रको जुन हो त्यसैमा काम गर्नुपर्छ । केही हदसम्म एक आपसमा जुधेर नै यो समस्या देखिएको हो । मैले साथीहरुलाई स्पष्टसँग के भनेको छु भने आफूलाई चाहिने कुरा बाहेक अन्य सबैकुराहरु महासंघमार्फत ललिङ गरौं । बरु त्यसका लागि कति खर्च लाग्छ फण्डिङ गरिदिने ।

राष्ट्रिय सहकारी बैंक नयाँ नेतृत्व चयनको प्रक्रियामा छ । नयाँ नेतृत्वको विषयमा तपाईंको धारणा के हो?

मेरो प्रष्ट धारणा के हो भने बैंकको नेतृत्वमा म हुँदिन । नेतृत्व हस्तान्तण नै हो । परिस्थितीले अध्यक्षको जिम्मेवारी पाएको हुँ । धेरै कामहरु भएका छन् । यो नेतृत्वले गरेको उपलब्धीहरु पनि केही दिनमा सार्वजनिक हुँदैछन् । मेरो चाहना हुने हो भने सर्वसम्वत नै छ । बस्नुपर्छ भनेर प्रेसर पनि छ । तर मैले के बुझे भने मैले समय धेरै दिन सक्दिन । समय दिन नसक्ने ठाउँमा बस्नु हुँदैन । चार ठाउँमा बसेर समय दिन नसक्ने भए किन बस्नु ? समय नदिएपछि संस्थाले सहि दिशा तय गर्न सक्दैन ।

एक वर्षमै सहकारी बैंकमा धेरै परिवर्तन आएको छ । इच्छा शक्ति र गर्ने चाहना हुँदा गर्न सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेका छौं । सबैको चाहना राम्रो मान्छे ल्याउने नै हो । राम्रो, प्रोफेशनल मान्छे ल्याउन एक्ससाईज भईरहेको छ । हिजोको जस्तो तरिकाले बैंक चलाउने दिने छैनौं । हिजो कतिपय कुरा बुझेका थिएनौं, चलाईयो । अब त्यस्तो हुन दिदैनौं । प्रतिपक्षको रुपमा हुनेछौं । अब हामी डाटा हेर्छौं । सहकारी बैंक सुधारका २५ बुँदे सुझाव व्यवस्थापनलाई दिएका छौं ।

पहिलो कुरा बैंकको स्वस्थता जाँच हुनुपर्छ भन्ने मान्यता मेरो हो । स्तरीकरण कार्यक्रम भनेर सदस्यको गर्ने अनि आफ्नो चाँही नगर्ने? पहिला आफ्नो जाँच गर्ने ठीक छ भने सदस्यको स्वस्थता जाँच गर्ने । कमीकमजोरी छन् भने सुधार गर्दै लैजानु पर्यो।

बैंक सुधारको २५ बुँदे कार्यदिशाको कुरा गर्नुभयो । के-कस्ता कुरा छन् त्यसमा ?

सञ्चालक र व्यवस्थापन दुबैलाइै समेटेर तयार गरिएको छ । कतिपय कुराहरु कठोर पनि छन् । कार्यान्वयन गर्न अप्ठेरा पनि हुन सक्छ । सञ्चालकहरुका संस्थाले ऋण लिन नपाउने कुराहरु छन् । नाफा नहुँदासम्म विदेश जान नपाउने पनि समावेश छन् ।

स्वस्थता जाँच, सानो सानो ऋण लगानी (पाँच करोडसम्म)का कुराहरु गरेका छौं । अब आउने सञ्चालकले ऋण लगानी र कर्मचारी परिचालनमा हस्तक्षेप नगर्ने र एक खालको वातावरण बनाईदिने हो भने बैंक नाफामा जान्छ ।

प्रोफेशनल मान्छे आउनुपर्छ भन्नु त भयो तर राजनीतिक हस्तक्षेपको सम्भावना त प्रवल देखिन्छ नि?

राजनीति सबैतिर छ । राजनीतिबाट अछुतो कोही छैन । राजनीतिलाई पनि व्यवस्थापन गर्दै लैजानुपर्छ । नेतृत्वलाई कुरा बुझाएर अघि बढ्नुपर्छ । कतिपय साथीहरुले कुरा समेत नबुझाउने हुनुहुँदो रहेछ । हाम्रा मात्रै साथीहरु ल्याउनुपर्छ भनेर लविङ गर्ने हिड्नुहुने रहेछ ।

कतिपय साथीहरु विरक्त पनि हुनुभएको छ । कतिपय अवस्थामा नेतृत्वले राम्रो मान्छे छान्नु पनि भन्नुभएको छ । ‘बाहिर ‘फलानो आउने रे !’ भन्ने हल्ला सुनिन्छ । तर, यसपटक बैंकमा त्यसरी आउँदैन । त्यस्तो अवस्था आयो भने विद्रोह पनि हुनसक्छ । प्रोफेशनल मान्छे आउनुपर्यो । सबै अट्ने हुनुपर्याे । एक पक्षीय बनाएर हुँदैन ।

बैंक अझै राम्रो हुन्छ । राष्ट्र बैंकले पनि सुशासनको कुराहरु पटक पटक गरेको छ । निर्वाचनबाट राम्रो, सक्षम र प्रोफेशनल टिम आउँछ।

एउटा सहकारीलाई सफल बनाउने सुत्र के हो?

एउटा सहकारी सफल बनाउन सबैभन्दा पहिलो शर्त सही नियत हो । सहकारीको नेतृत्वमा आउने व्यक्तिले स्वयंसेवी भावनाका साथ सेवा गर्छु भन्ने सोच लिएर आउनुपर्छ । व्यक्तिगत स्वार्थ, लोभ वा फाइदाको अपेक्षा बोकेर सहकारीमा प्रवेश गर्दा संस्था कहिल्यै सबल बन्न सक्दैन ।

दोस्रो महत्वपूर्ण कुरा भनेको सक्षम र मजबुत व्यवस्थापन हो । अध्यक्ष वा सञ्चालकले मात्र सबै काम गरेर संस्था चल्छ भन्ने सोच गलत हो । सञ्चालक समितिले नीति, योजना र दिशानिर्देशन तय गर्ने हो भने त्यसको कार्यान्वयन व्यवस्थापनले गर्नुपर्छ । कर्मचारी नियुक्ति, ऋण लगानी जस्ता कार्यमा सञ्चालकको प्रत्यक्ष हस्तक्षेप हुनु हुँदैन । त्यसैगरी कर्मचारीहरू पनि संस्थाप्रति प्रतिबद्ध, अनुशासित र जिम्मेवार हुन आवश्यक छ । समयअनुसार शिक्षा, तालिम र नियमित बैठकहरू सञ्चालन हुनुपर्छ ।

सहकारी सञ्चालनमा ऋण लगानी अत्यन्त संवेदनशील विषय हो । क्षमताभन्दा ठूलो ऋण प्रवाह गर्नु हुँदैन । सहकारी सहकारीकै रूपमा चल्नुपर्छ, बैंक बन्ने होडबाजी गर्नु हुँदैन । ठूला–ठूला निक्षेप संकलनमा भन्दा दीर्घकालीन बचत संस्कृतिमा ध्यान दिनुपर्छ । उदाहरणका लागि, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘सन्तति बचत’ खाता सञ्चालनमा ल्याएको छ, जहाँ अभिभावकले आफ्ना सन्तानको नाममा बचत गर्न सक्छन् र भविष्यमा सो रकम अंशको रूपमा उपयोग गर्ने नीति बनाइएको छ ।

समय सापेक्ष बचत र कर्जाका नयाँ–नयाँ उत्पादन विकास गर्नुपर्छ । अरु सहकारीको नक्कल मात्रै गर्नु हुँदैन । आवश्यकता अनुसार परिमार्जन र सुधार गर्दै जानुपर्छ । सहकारी लाभांशमुखी मात्र हुनु हुँदैन । सेयर पुँजी सदस्यहरूबीच सकेसम्म समान हुनुपर्छ । सहारा नेपाल साकोसले सबै सदस्यका लागि १० हजार रुपैयाँ बराबरको सेयर पुँजी सुनिश्चित गर्ने दिशामा काम गरिरहेको छ ।

संस्थागत पुँजी मजबुत बनाउनु अत्यावश्यक छ । घुमाउरो तरिकाले नाफा बाँड्ने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्छ । ऋण एक दिन पनि भाखा नाघेमा प्रोभिजन गर्नुपर्छ भन्ने सोच सञ्चालक र कर्मचारी दुवैमा हुनुपर्छ । केवल धितोमा भर पर्नु पर्याप्त हुँदैन, किनकि धितोले ऋण तिर्दैन । ऋणीको आय, व्यवसाय र ऋण तिर्न सक्ने क्षमताको यथार्थ मूल्याङ्कनका आधारमा मात्रै कर्जा प्रवाह गर्नुपर्छ । यही अनुशासन र संस्कारले सहकारीलाई दिगो र सफल बनाउँछ ।

पाँच वर्षपछि महेन्द्र गिरीलाई सहकारी अभियानमा हामी कहाँ पाउँछौं ?

मेरो अपेक्षा त राष्ट्रिय सहकारी महासंघको अध्यक्ष हो । अबको अध्यक्ष रमेश सर हो । त्यसपछिको अध्यक्षमा मेरो दाबी हो । महासंघको नेतृत्वमा पुगे भने सहकारी अभियानलाई नयाँ ढंगबाट परिचालन गर्नेछु ।

सहकारी बैंकमा पुरै समय दिनुपर्ने हुन्छ तर म प्रारम्भिक संस्थाको पनि नेतृत्वमा भएका कारण पुनः बैंकको नेतृत्वमा बस्न सक्दिन । तर साथीहरुको चाहना ४ वर्ष बैंकको नेतृत्व गरिदिओस् भन्ने नै छ । तर, पनि मैले अरु साथीहरु आउनुस् भनेको छु । मेरो चाहना महासंघनै हो । अब सञ्चालक बन्ने र त्यसपछि अध्यक्ष बन्ने हो ।

सहकारी अभियानबाट टाढा हुन सक्दिन । मेरो नशा नशामा सहकारी छ । सहकारीलाई कुन मोडलमा चलाउनुपर्छ, त्यसका पोलिसीहरु के के हुनुपर्छ भन्ने सबै आईडिया मसँग छ । ग्राउण्डमा बसेर काम गरेको अनुभव छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको अनुभव पनि कम छैन । केही बर्ष भित्रै अध्यक्ष बनेर नेपालको सहकारी अभियानलाई सही दिशामा सञ्चालन गर्ने मेरो सपना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here