झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको ३५ औँ स्थापना दिवसको अवसर पारेर जिल्लास्तरीय सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

औपचारिक शिक्षासँगै विद्यार्थीभित्र लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा झापाका १४ वटै पालिकाबाट छनोट भएर आएका उत्कृष्ठ विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।
प्याब्सन झापाले वार्षिक क्यालेण्डरअनुसार पालिकागत रूपमा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ । यही कार्यक्रमअन्तर्गत गत मंसीर २२ गते गौरीगञ्ज गाउँपालिकाबाट सुरु गरिएको पालिकास्तरीय प्रतियोगिता पुस ६ गते दमक नगरपालिकामा समापन गरिएको थियो । पालिकागत प्रतियोगिताबाट छनोट भएका विद्यार्थीबीच बिर्तामोडमा जिल्लास्तरीय फाइनल प्रतियोगिता आयोजना गरिएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए ।
जिल्लास्तरीय सांस्कृतिक कार्यक्रममा सामूहिक नृत्य, एकल शास्त्रीय नृत्य तथा दुई उमेर समूहमा विभाजन गरिएको गायन विधासहित पाँच विधामा प्रतिस्पर्धा गराइएको थियो । प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीका अनुसार पालिकास्तरदेखि जिल्लास्तरसम्म सबै विधामा गरी जम्मा ४ हजार २२७ जना विद्यार्थीले प्रतिस्पर्धामा भाग लिएका थिए । यो संख्या नै झापामा निजी विद्यालयका विद्यार्थीहरूभित्र कति ठूलो प्रतिभा लुकेको छ भन्ने प्रमाण हो, उनले भने ।
सामूहिक नृत्यमा कनकाईको दबदबा
सामूहिक नृत्यतर्फ प्यारागन एकाडेमी कनकाई प्रथम हुन सफल भयो भने ग्रिनफिल्ड स्कूल भद्रपुरले द्वितीय र कर्णाली एजुकेशन फाउण्डेशनले तृतीय स्थान हासिल गरे । एकल शास्त्रीय नृत्यतर्फ चिल्ड्रेन इन्भारोमेन्ट स्कूल बिर्तामोडकी विद्यार्थी प्रथम भइन् । प्रज्ञा एकाडेमी भद्रपुर द्वितीय र इन्स्पायर एकाडेमी दमक तृतीय भए ।

गायनमा बालस्वरको मिठास
१२ वर्षमुनिको उमेर समूहमा आयोजित गायन प्रतियोगितामा अंकित विष्ट (सूर्यज्योति स्कूल, अर्जुनधारा) प्रथम, प्रज्ञान उप्रेती (बुद्ध स्मृति, बिर्तामोड) द्वितीय र आरध्या विक (एकता एकाडेमी, दमक) तृतीय भए ।
१२ वर्ष माथिको उमेर समूहमा संगम ढकाल (लिटल स्टार स्कूल, बुद्धशान्ति) प्रथम, मासुम लिम्बू (हिमालय एकाडेमी, मेचीनगर) द्वितीय र प्रसुन गुरागाईं (बुद्धस्मृति इङ्लिस स्कूल, बिर्तामोड) तृतीय स्थानमा रहे ।
यता कक्षा ११/१२ गायन तर्फ झापा मेरी गोल्डका कृष्ण भण्डारी प्रथम, एमिटी स्कूल बिर्तामोडका प्रशान्त विष्ट द्वितीय र प्रजिता एकाडेमी दमकका सुभाूजा सिटौला तृतीय भए ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
घोकन्ते शिक्षाको आरोप चिर्ने प्रयास
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले निजी विद्यालयलाई केवल घोकन्ते शिक्षामा सीमित गरिन्छ भन्ने आरोपलाई चिर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । “शिक्षा भनेको किताब र परीक्षामात्र होइन, विद्यार्थीभित्र रहेको गायन, नृत्य, अभिनय जस्ता सिर्जनात्मक क्षमतालाई पहिचान र प्रोत्साहन गर्नु पनि शिक्षा नै हो,” उनले भने ।
अध्यक्ष छत्रबहादुर कार्कीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै शैक्षिक गुणस्तरसँगै संस्कार, सिर्जनशीलता र आत्मविश्वास विकासमा प्याब्सन प्रतिबद्ध रहेको बताए । “प्याब्सनको स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी शिक्षा र प्रतिभाको उत्सवका रूपमा मनाउनु हाम्रो लक्ष्य हो,” कार्कीले भने । शिक्षा र संस्कृतिको सुन्दर संगम बनेको यस कार्यक्रमले झापाका निजी विद्यालयका विद्यार्थीहरू केवल परीक्षामा मात्र होइन, मञ्चमा पनि उत्तिकै सक्षम छन् भन्ने सन्देश दिन सफल भएको प्याव्सन झापाका सचिव उप्रेतीको भनाई छ ।
यस अघि प्याब्सन झापाले संस्थागत विद्यलयको वृद्धि विकासमा टेवा पु¥याउँदै आएका शिक्षा सेवी, उत्कष्ठ विद्यार्थी र शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका दुई जना सञ्चारकर्मीहरुलाई सम्मन गरेको थियो ।






























