सर्वसुलभ उपचारको भरोसा बोकेर बिर्तामोडमा ‘नागरिक अस्पताल’ वैशाखदेखि सञ्चालनमा

0
43

झापा । सर्वसाधारण नागरिकको पहुँचमा सुलभ, गुणस्तरीय र भरोसायोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित बिर्तामोडमा ‘नागरिक अस्पताल’ सञ्चालनमा आउने भएको छ । आगामी वैशाखदेखि सेवा सुरु गर्ने तयारीसहित अस्पताल सञ्चालक नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडले आफ्नो ५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सुविधासम्पन्न अस्पतालहरूको केन्द्र बन्दै गएको झापाको बिर्तामोड–४ हर्कलाल रोडमा निर्माणाधीन नागरिक अस्पताल सहकारी मोडलमा सञ्चालन हुन लागेको हो । आम नागरिकलाई लक्षित गरी न्यून शुल्कमा उपचार सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पताल स्थापना गरिएको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

शनिबार संस्थाको कार्यालयमा आयोजित ५औँ वार्षिक साधारणसभामा अस्पताल सञ्चालनको तयारी तीव्र पारिएको जानकारी दिइयो । अस्पताल सञ्चालनका लागि ११ कठ्ठा जमिन २५ वर्षका लागि भाडामा लिइएको र सो स्थानमा अस्पताल भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको पौडेलले बताए । उनका अनुसार हालसम्म भवन निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

साधारणसभामा प्रस्तुत विवरणअनुसार हालसम्म नागरिक स्वास्थ्य सहकारी संस्थामा ३०० भन्दा बढी सेयर सदस्य आबद्ध भइसकेका छन् । सहकारीको सहभागितामूलक मोडलमार्फत अस्पताल सञ्चालन गर्दा सेवाग्राहीलाई सस्तो दरमा उपचार उपलब्ध गराउन सहज हुने विश्वास लिइएको छ ।

उपचार केन्द्रको ‘हब’ का रूपमा विकसित हुँदै गएको बिर्तामोडमा नयाँ अस्पताल थपिँदै जाँदा आधुनिक उपकरण, विशेषज्ञ सेवा र प्रतिस्पर्धात्मक स्वास्थ्य सुविधा विस्तार हुँदै गएको छ । संस्थाका सदस्य कृष्ण बजगाईंले नागरिक अस्पतालले बिरामीको आर्थिक अवस्थालाई विशेष ध्यानमा राखी सुलभ दरमा उपचार सेवा दिने बताए ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराइने र नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गर्ने तयारी रहेको संस्थाका कोषाध्यक्ष जीवन खड्काले जानकारी दिए । यसले बीमामार्फत उपचार गराउने सेवाग्राहीलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ ।

संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा सम्पन्न साधारणसभामा मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष जीवन खड्काले राखेका थिए भने संस्थाका प्रमुख सल्लाहकार राजकुमार पोखरेल, संस्थापक अध्यक्ष बलराम कार्की, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा। टंक बाह्रकोटी, पूर्व सह–सचिव डा। मुक्ति खनाललगायतले अस्पताल सञ्चालनले क्षेत्रीय स्वास्थ्य सेवामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव रवीन्द्र भट्टराईले गरेका थिए । सहकारी भावनामा आधारित नागरिक अस्पतालले बिर्तामोडसहित आसपासका क्षेत्रका सर्वसाधारणका लागि राहत र भरोसाको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here