झापा । हल्दीबारी गाउँपालिका वडा नम्बर १ स्थित जनजागृति माध्यमिक विद्यालयमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। विद्यालयस्तरका खेलाडीबीच प्रतिस्पर्धा गराउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक सन्तकुमार थापाको अध्यक्षता तथा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, हल्दीबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य राखे।
वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण जनजागृति माविका शिक्षक झमक तिम्सिनाले गरेका थिए।
प्रतियोगितामा हल्दीबारी गाउँपालिका भित्रका १३ वटा विद्यालय सहभागी छन्। जनजागृति मावि, हल्दीबारी मावि, लक्ष्मी मावि, महेन्द्र मावि, सरस्वती मावि, जसोधा मावि, चिल्ड्रेन गार्डेन एकेडेमी, चिल्ड्रेन गार्डेन अंग्रेजी मावि, गोलधाप सनसाइन अंग्रेजी मावि, संस्कार शिक्षा सदन, केनरी एकेडेमी र सिग्मा अंग्रेजी मावि प्रतियोगितामा सहभागी छन्।
आयोजक समितिका अनुसार प्रतियोगितामा करिब १२०० जना छात्र–छात्राको सहभागिता रहनेछ। खेलाडीले २२ वटा खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा भलिबल, कबड्डी, कराते, १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० र ४×४०० मिटर रिले, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुट समावेश छन्।
प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ५४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। पुस २८, २९ र ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताका विजयी खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने समग्र प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयलाई विशेष ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।































