
भनिन्छ, पिता आकाशभन्दा महान् हुन्छन् । मलाई मेरा बा देख्दा लाग्छ मेरा बा आकाशभन्दा दोब्बर महान् वा भनौ बासँग तुलना गर्न योग्य कुनै कुरा नै छैन । आमालाई धर्ती भनिन्छ । धर्तीमा केही मैला गरे रिसाउनु होइन हामीलाई प्राण धान्न अन्न दिन्छिन् । त्यस्तै आमाले नौ महिना कोखमा राखेर जन्म दिन्छिन् ।
काखमा दिसापिसाब गरिहाले पहिले सन्तानलाई सफा बनाउँछिन् र अनि मात्र आफू सफा हुन्छिन् त्यसैले म बालाई आकाश नै देख्छु आमालाई धर्ती नै । अन्य कुनै योग्य उपमा पाउदिनँ । मेरा बा त्यति मात्र होइन मेरा उच्च आदर्शका अनुपम प्रति मूर्ति पनि हुनुहुन्छ ।
अनन्त प्रेरणाका स्रोत, उदाहरणका खानी, संघर्षका प्रतीक, सन्तानका लागि सतिसाल झैं उभिने न्यायका लागि मरिमेट्ने, प्रजातन्त्र प्रेमी, अन्याय तथा अत्याचारका बिरुद्ध लड्ने, घुसखोरी, चाकरी र चाप्लुसी गर्नेहरुका निम्ति कठोर बनेर उभिने एक दृढ व्यक्तित्व हुनुहुन्छ मेरा बा ।
अफ्ठ्यारोमा परेका जोसुकैलाई सहयोग गर्न खोज्ने मेरा बाको जागिर जीवन भने त्यति सजिलो रहेन । बाहिरबाट हेर्दा सरकारी जागिर जति सजिलो र राम्रो छ भित्र त्यति नै अफ्ठ्यारो हुँदोरहेछ । सरुवाका क्रममा बुवा कहिले यहाँ कहिले त्यहाँ कुनै ठेगान नहुने । बिरालाले आफ्ना छाउरा सारे जस्तै आफ्नो जागिर सरुवा हुनासाथ बुबा जहाँ हामी पनि त्यहीँ । आरुनो खर्च, कोठा भाडा, पारिवारिक खर्च, सबै धान्नु पर्ने, सरकारी जागिरे भन्ने इज्जत धान्नु पर्ने साथै भविष्यका निम्ति सञ्चय समेत गर्नुपर्ने । ती सबै कुराहरु ध्यानमा राखेर पनि बुबाले हामीलाई जुन सुख दिनुभयो, जुन तवरले हाम्रा माग र सपनाहरु पूरा गर्नुभयो त्यो म कल्पना पनि गर्न सक्दिनँ । हामीलाई त के थियो र ? यो चाहियो भनिन्थ्यो; नपाए रोइन्थ्यो ।
आफ्नो कर्तव्य पथबाट कहिल्यै पछि नहट्ने मेरा बा न कहिल्यै कसैसँग झुक्नुभयो न कसैलाई अन्याय नै गर्नुभयो । म कान्छो छोरो भएको नाताले केही प्याउलो हुनु स्वभाविक नै थियोे, त्यसमाथि बुबा धेरैजसो कार्यालयीय काममा व्यस्त हुने हुँदा कहिलेकाहीँ विदाका दिनमा मात्रै बुबासँग मसँगै हुन्थेँ । दाजुहरुभन्दा बुबासँग म एक्लै तथा बढी समय बिताउन रुचाउँथेँ र दाजुहरुसँग बुबाआमाले मलाई धेरै माया गर्नुहुन्छ भन्ने देखाउन खोज्थेँ तर बुबाले हामी तीनै दाजुभाइलाई उत्तिकै माया गर्ने र उत्तिकै समय दिने गर्नुहुन्थ्यो । कहिलेकाहीँ दाजुहरुसँग मेरो पढाइको चिन्ता व्यक्त गर्नुहुन्थ्यो । किनकि म पढाइमा त्यति राम्रो थिइनँ ।

मिहिनेतले मानिसलाई पूर्णता दिलाउँछ भने मनमा जोस र जाँगर भए उमेर बुढो भएर केही हुँदैन भन्ने कुरा पनि मैले बुबाबाट नै सिकेँ । केही गर्नुपर्छ भन्ने बुबाको हुटहुटी हुँदैनथ्यो भने जागिरे जीवनपश्चात् अवकाश प्राप्त जीवन बिताइरहेका आममानिस सरह बुबा घरको एउटा कोठामा धुमधुमती बसिरहनुभएको हुने थियो । यता म पनि आममानिस सरह कि त विदेश गएको हुने थिएँ वा कुनै सानोतिनो जागिर गरिरहेको । ग्रामीण भेगमा जन्मनुभएको मेरा बाको बाल्यकाल कष्टकर रहेको कुरा म हजुरआमाका मुखबाट सुन्थेँ ।
तत्कालीन अवस्थामा आम्दानीका स्रोत धेरै नहुने र हजुरबुबाको जजमानी वृत्ति पनि त्यति राम्रो नभएको बाल्यकालमै महशुस गरी जागिर खान घर–परिवारबाट टाढा बस्नुपर्दाको पीडा, छोराछोरी तथा भाइबहिनी र बुबाआमाप्रतिको कर्तव्य, तत्कालीन राजनीतिक व्यवस्थाका साथै प्रशासनिक अवस्थाले सताएका कुरा बाले कहिलेकाहीँ हामीलाई सुनाउनुहुन्थ्यो ।
बाले गरेका ती संघर्ष बावाआमाका मुखबाट सुन्दा यदि म त्यो अवस्थामा भएको भए के गर्थेँ होला भन्ने लाग्छ । अविकसित देश, आफ्नै देशको राजधानी जान पनि विदेशको बाटो अपनाउनुपर्ने, त्यो पनि तीन–चार दिनमा मात्रै पुगिने, विभिन्न स्थानमा सरुवा पठाउने र फेरि त्यहाँ कति दिन मात्रै रहनुपर्ने भन्ने समेत थाहा नहुँदा पनि छोराछोरीको मायाले साथमा लिएर जानुहुन्थ्यो ।
बुबाका लागि शब्दहरु जति नै लेखे पनि अपुग नै हुन्छन् । मैले यहाँ केही लेख्न खोज्नु समुद्रमा लगेर एक गाग्री पानी थप्नु सरह हो वा भनौँ इन्द्रका सामु स्वर्गको बयान । तथापि गलतलाई गलत र सहीलाई सही नै भन्न सिकाउने, यो समाजमा मलाई तातेताते गराउने, मेरा गल्ती औँल्याउँदै सजग गराउने, जस्तोसुकै कठिन परिस्थिति पनि हाँसी–हाँसी सामना गर्नुपर्छ भन्ने र आजको सूर्यास्तले भोलिको प्रातः उज्यालोको सङ्केत गर्छ भन्दै दुःखलाई सुखको आधार हो भनी परिभाषित गर्ने मेरा बा मेरा लागि प्रातः स्मरणीय, अनन्त ऊर्जा र प्रेरणाका स्रोत हुनुहुन्छ । मेरी आमा धर्ती जस्तै सहनशील हुनुहुन्छ । बा–आमाका चरणमा दण्डवत् ढोग गर्दछु ।
(गणेशप्रसाद खनाल आत्मवृत्तान्तबाट उहाँका कान्छा छोरा उत्तम खनालको यो लेख लिइएको हो ।)


























