झापा । झापाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता उल्लंघन सह्य नहुने स्पष्ट पारेका छन्। आचारसंहिता पालना नगरे उम्मेदवारको उम्मेदवारीसमेत खारेज हुनसक्ने भन्दै उनले राजनीतिक दल र उम्मेदवारहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचन आचारसंहिता केवल नैतिक निर्देशन मात्र नभई बाध्यकारी कानुनी दस्तावेज भएको बताए। उल्लंघन प्रमाणित भए कानुनअनुसार कडा कारबाही अघि बढाइने उनले प्रस्ट पारे।
मनोनयन दर्ताको चरणदेखि नै आचारसंहिता उल्लंघनका सम्भावना रहने उल्लेख गर्दै उनले विशेष गरी मनोनयनका दिन २५ जनाभन्दा बढी मानिस सहभागी गराउन नपाइने र अधिकतम १० वटा झन्डामात्र प्रयोग गर्न पाइने व्यवस्थाबारे जानकारी गराए। “मनोनयनको यो संवेदनशील समयमा आचारसंहिताको मर्यादा कायम राख्नु सबैको साझा जिम्मेवारी हो,” उनले भने।
छलफलमा लुइँटेलले निर्वाचनसँग सम्बन्धित प्रमुख कानुनी प्रावधानहरू स्मरण गराउँदै नियम उल्लंघन भए कानुनी प्रक्रिया अघि बढ्ने चेतावनीसमेत दिए।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचनको मिति नजिकिँदै गएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
यस्तै, जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले प्रचारप्रसारका क्रममा दलहरूले आफ्ना घोषणापत्रमा समेटिएका विषयवस्तु मात्र जनतासमक्ष राख्न पाउने र भ्रामक गतिविधि गर्न नपाइने व्यवस्था रहेको स्पष्ट पारे।
सर्वपक्षीय छलफलमा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, राप्रपा झापाका अध्यक्ष केशव ओझा, नेकपा एमालेका प्रतिनिधि प्रेम गिरीलगायत विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो। सहभागी दलका प्रतिनिधिहरूले निर्वाचन आयोगले तोकेका नियमहरूको पालना गर्दै मर्यादित निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





























