पुस्तक व्यवसायीको महाधिवेशनको नयाँ मिति तय

0
54

झापा,

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय समितिको १० औँ पूर्ण भर्चुअल बैठकले महासंघको आठौँ राष्ट्रिय महाधिवेशन आगामी माघ २३ र २४ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।

महासंघका अध्यक्ष शिवसागर शर्माको अध्यक्षतामा बसेको बैठकले देशको वर्तमान राजनीतिक घटनाक्रम र आम निर्वाचनका कारण तयारीका लागि थप समय आवश्यक भएकाले यसअघि तय गरिएको माघ १६–१७ को मिति सारेर नयाँ मिति तोकिएको जनाएको छ।

महासंघको १४ औँ पदाधिकारी बैठकबाट पूर्वनिर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न नसकिने अवस्था आएपछि सो निर्णय गरिएको महासंघले परिपत्रमार्फत जानकारी गराएको हो। महाधिवेशनलाई भव्य, सभ्य र सफल रूपमा सम्पन्न गर्न यसअघि नै गठन गरिएको मूल व्यवस्थापन समिति तथा विभिन्न उपसमितिका संयोजकहरूलाई तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्न महासंघले निर्देशन दिएको छ।

यसैगरी, सम्पूर्ण प्रदेश समितिहरूलाई आ–आफ्नो प्रदेश तथा मातहतका जिल्ला समितिबाट चयन भएका महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकहरूको नामावली, फोटोसहित माघ १२ गतेभित्र महासंघको आधिकारिक इमेल वा ह्वाट्सएपमार्फत पठाउन आग्रह गरिएको छ।

महासंघले अठारौँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनका अवसरमा प्रस्तुत गरिने महासचिवको सांगठनिक प्रतिवेदनका लागि आवश्यक सामग्री पनि समयमै उपलब्ध गराउन निर्देशन दिएको छ। प्रदेश तथा जिल्ला समितिहरूले नयाँ कार्यसमितिको विवरण, महत्वपूर्ण गतिविधिहरू, खोजमूलक तथा सन्देशमूलक लेख–रचना र फोटोहरू माघ ७ गतेभित्र पठाउनुपर्ने जनाइएको छ।

महासंघले स्पष्ट रूपमा लेख तथा सामग्रीहरू प्रिति फन्टमा टाइप गरिएको वर्ड फाइलमा मात्र स्वीकार गरिने र हातले लेखिएका वा फोटो खिचेर पठाइएका सामग्रीलाई मान्यता नदिइने जनाएको छ। तोकिएको समयसीमाभित्र नआएका सामग्री महासचिवको प्रतिवेदनमा समावेश नगरिने पनि सूचित गरिएको छ।

महासंघका महासचिव विष्णु प्रसाद पौडेलले जारी गरेको परिपत्रमार्फत सबै प्रदेश तथा जिल्ला समितिहरूलाई संगठनात्मक जिम्मेवारी समयमै पूरा गर्न आग्रह गर्दै महाधिवेशनलाई सफल बनाउने सामूहिक प्रयासको आवश्यकता औँल्याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here