आजको युग डिजिटल प्रविधिको युगमा रुपान्तरण भएको छ । विश्वका अन्य देशहरुको तुलनामा प्रविधिमा केही पछि भए पनि नेपाल क्रमशः डिजिटल प्रविधि र कनेक्टिभिटीमा दू्रत रुपमा अघि बढिरहेको छ । यो यात्राले धेरै सुविधा र दैन्दिनी जीवनलाई सहज पनि बनाएको छ । तर, यही सुविधाले साइबर अपराधको बढ्दो जोखिम पनि जन्माएको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अतुलनीय र द्रूत विकासपछि त्यसकै प्रयोग गरेर साइबर अपराधीहरुले सूचना प्रविधिका उपकरणहरु मोबाइल कम्प्युटर, डाटा र सर्भर आदिबाट स्वदेशी–विदेशी व्यक्तिहरु व्यवसाय, संस्थाहरुलाई लक्षित गर्दै साइबर हमला गरिरहेका छन् । यसले विभिन्न किसिमका सामाजिक, आर्थिक र सुरक्षामा चुनौतीहरु थपेको छ ।

साइबर अपराधले नेपाली समाज पनि प्रभावित हुन थालेको छ । विभिन्न देशका नागरिक, सरकार र संस्थाहरु साइबर अपराधका शिकार भएका समाचार दिनहुँ सार्वजनिक हुन थालेका छन् । डिजिटल प्रविधिकै प्रयोगबाट क्रेडिट कार्ड, एटिएम कार्डका पिन कोड फकाएर, लोभ देखाएर लिने र उनीहरुको बैंक खातामा रहेको पैसा अर्को खातामा स्थानान्तरण गर्ने कार्य दिनहुँजसो हुन थालेका छन् । यतिसम्म कि बैंकहरु नै यस्तो अनलाइन ठगीमा पर्ने गरेका छन् । अपराधीहरुले व्यक्तिगत डिजिटल उपकरणबाट ह्याक गरेर संवेदनशील जानकारी तथा व्यक्तिगत सूचनाहरु प्रकाशित गरेर गोपनीयता भङ्ग गर्ने गरेका छन् । व्यापारी, व्यवसायी र उद्योगहरुले सुरक्षा चुनौतीको सामना गर्नु परेको छ ।
सूचना प्रविधिको गलत प्रयोगले हाम्रो समाजमा हिंसा बढाएको छ । घर–घरमा कलह, द्वन्द्व, मनमुटाव, यौन हिंसा जस्ता गतिविधि बढेको छ । गरिबीको फाइदा उठाउँदै नेपाली युवालाई साइबर अपराधीहरुले बन्धक बनाएका घटनाहरु सार्वजनिक भएका छन् । जसका कारण डिजिटल प्रविधिको विकास हाम्रा लागि चिन्ताको विषय बनिएको छ । पछिल्लो समय नेपालमा यस्ता अपराधहरुको नियन्त्रणका लागि प्रहरीको छुट्टै सेल बनाइएको छ । नेपाल प्रहरी साइबर ब्युरोले विद्युतीय अपराध सम्बन्धी विषयहरुको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमदेखि अनुसन्धान तथा कार्वाहीसम्म गर्छ । तर पनि बढ्दो साइबर ठगी र अपराधका घटनाले नेपाली समाजलाई चिन्तित बनाएको छ ।
गएको पुस महिनामा मात्रै एक सय एकानब्बे वटा अनलाइन ठगी र साइबर अपराधका उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एक महिना मै अनलाइन सपिङ, वैदेशिक रोजगार, बैंक खातामा अनाधिकृत पहुँच र सामाजिक सञ्जालको दुरुपयोगसहित त्यतिको उजुरी परेको बताएका छन् । ती उजुरीमा साडे तीन करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको उनले जानकारी दिएका छन् । साइबर अपराधका उजुरी तथा कार्वाही नेपाल प्रहरी मार्फत नै हुन्छ र अपराधीहरुलाई पक्राउ गर्ने, कार्वाही गर्ने र समाजमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणको जिम्मा प्रहरीकै हुन्छ । तर, यति मात्रैले बढ्दो अपराध न्यूनीकरण गर्न सकिँदैन । त्यसका लागि डिजिटल शिक्षा प्रदान गर्ने, बहस, छलफल गर्ने र डिजिटल ज्ञान, सिप अभिवृद्धि गर्न स्थानीय सरकार पनि लाग्नु पर्छ । यसरी मात्र डिजिटल संसारलाई सुरक्षित गर्न सकिन्छ ।




























