झापा ।

प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवारी दर्ता गराउन आज दमक आइपुगेका छन् ।
सोही क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेपछि झापा–५ को चुनावी माहोल थप तातेको छ ।
आगामी फागुन २१ गते हुने प्रीत्ीन्ीध् सभाको निर्वाचनको मनोनयन दर्ताका लागि पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली सोमवार नै झापा आएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन झापा–५ आइपुगेका हुन् । उनको सचिवालयका अनुसार बालेनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय गरिएको छ ।
बालेनको आगमनसँगै झापा–५ मा समर्थक तथा कार्यकर्ताको चहलपहल बढेको छ । पार्टीका स्थानीय नेताहरूले यस निर्वाचन क्षेत्रलाई परिवर्तनको केन्द्र बनाउने रणनीतिसहित चुनावी अभियान अघि बढाइएको बताएका छन् । रास्वपाले बालेनलाई झापा–५ बाट मैदानमा उतारेर स्थापित दलका प्रभावशाली नेतासँग सीधा प्रतिस्पर्धा गराउने संकेत दिएको छ ।
यता, सोही क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष ओलीले पनि उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । एमाले स्रोतका अनुसार ओली दिउँसो २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
एकै दिन दुई ठूला राजनीतिक व्यक्तित्वको उम्मेदवारी दर्ता हुन लागेपछि झापा–५ लाई यो निर्वाचनको सबैभन्दा चासोपूर्ण र प्रतिस्पर्धी क्षेत्रका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार बालेन र ओलीबीचको भिडन्तले राष्ट्रिय राजनीतिक बहसलाई समेत थप चर्काउनेछ ।
स्थानीय प्रशासनले उम्मेदवारी दर्ताको क्रममा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । सम्भावित भीड र जुलुसलाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण वातावरणमा दर्ता प्रक्रिया सम्पन्न गराउने तयारी गरिएको जनाइएको छ ।
अब दुवै नेताको उम्मेदवारी दर्तापछि झापा–५ मा औपचारिक रूपमा चुनावी प्रतिस्पर्धा सुरु हुने र प्रचारप्रसारले गति लिने अपेक्षा गरिएको छ ।



























