अनेक शंका–उपशंकाका बीच मुलुक निर्वाचनको चरणमा प्रवेश गरेको छ । मंगलबार देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य बन्ने प्रयोजनका लागि सबै दल तथा स्वतन्त्रका तर्फबाट उम्मेदवारी दर्ता गरियो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ठूलो संख्यामा उत्साहपूर्वक मनोनयन पत्र दर्ता भएपछि मुलुक निर्वाचनको महŒवपूर्ण चरणमा प्रवेश गरेको सिद्ध भयो । निर्वाचन आयोगको कार्य तालिका अनुसार मनोनयपछि निर्वाचन सम्बन्धी अन्य प्रक्रिया अब निरन्तर रुपमा अघि बढ्ने छ । झण्डै तीन हजार पाँच सय नेपाली नागरिकले निर्वाचनका लागि मनोनयन दर्ता गरेका कारण अबको कार्यक्रम पनि शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास बढेको छ ।

प्रजातान्त्रिक प्रणालीमा निर्वाचन नै एक त्यस्तो हतियार हो, जसले राज्य सञ्चालनका विभिन्न निकायलाई गतिशिल बनाउँछ । त्यसकै आधारमा मुलुक हाँक्ने सक्षम नेतृत्व चयन हुन्छ भन्ने मान्यतालाई संस्थागत गर्छ । आम मतदाताद्वारा सर्वाधिक रुचाइएको दल र तिनका प्रतिनिधि जनताबाट निर्वाचित हुने भएकाले उनीहरु जनता र देशप्रति उत्तरदायी हुन्छन् भन्ने सर्वमान्य पनि छ । त्यसको सफल कार्यान्वयन भने सचेत मतदाताको विवेकपूर्ण मतदानबाट मात्र सम्भव हुन्छ । त्यसैले मतदाताले कसैको झोला बोकेर होइन स्वतन्त्र, निर्भय र दवावमुक्त मतदान गर्नुपर्छ । यसले मात्र देश र देशबासीको भाग्य, भविष्य र परिणाम निर्दिष्ट गर्छ । त्यसको सफल कार्यान्वयनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक समाज लगायत आमजनताको पनि साझा जिम्मेवारी रहनु पर्दछ ।
हिजोसम्म निर्वाचन पैसा र शक्तिको बलमा जितिन्छ भन्ने गरिन्थ्यो । तर, आज समय र परिस्थिति बद्लिएको छ । त्यस्ता पात्रलाई दलले नै टिकट नदिएर निर्वाचनको स्वच्छताको रक्षा गर्नुपर्छ । कथम्कदाचित त्यस्ता शक्ति निर्वाचित भए भने सम्बद्ध दल, संसद र मूल जनतामा बद्नाम र क्षति गराउँछ । त्यसै पनि आसन्न निर्वाचन भदौ २३ को जेन–जी विद्रोहको जगमा हुन लागेको छ । आन्दोलनका बाहक युवा पुस्ताको माग सुशासन, भ्रष्टाचारमुक्त र समृद्ध नेपालको सपनासँग गाँसिएको छ । त्यसकारण पनि अबको निर्वाचनले आन्दोलनको मर्मलाई सम्बोधन गर्नुपर्छ । त्यसो हुन निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत बनाउनुपर्छ ।
निर्वाचन स्वच्छ बनाउनकै लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको छ । त्यसको पालना गर्नु दल, उम्मेदवार तथा सम्बद्ध पक्षले अनिवार्य रुपमा गर्नुपर्छ । आचारसंहिताको उल्लंघन गर्ने जो कोही दण्डित हुनुपर्छ र निर्वाचनको गरिमाको रक्षा गर्नुपर्छ । मुलुक दुई दशकदेखि अस्थिरता, अराजकता र अव्यवस्थाको अँध्यारोमा हराएको छ । यसलाई हटाउने र वर्तमानको आवश्यकता पूरा गर्ने यो अभियानलाई पूर्णतः सफल बनाउनुपर्छ । राज्यका सम्पूर्ण संयन्त्र पनि यो महान् कार्यमा सहभागी भई निर्वाचनप्रतिको विश्वास कायम राखुन् ।



























