कर्मकाण्डभन्दा चेतनाको परीक्षा

0
20

सरस्वती पूजा केबल एक दिनको धार्मिक कर्मकाण्ड होइन, यो सभ्यताको दीर्घ स्मृतिमा गाँसिएको ज्ञान–चेतनाको उत्सव हो । जब माघ महिनाको शुक्ल पक्षको पञ्चमी अर्थात् माघ ९ गते नजिकिन्छ, तब विद्यालयका प्राङ्गण, पुस्तकालयका कोठा र घरका कुनाकन्दरामा सेतो रङको मौन उपस्थितिले संकेत दिन थाल्छ– ज्ञानको आराधनाको दिन आउँदैछ । सरस्वती पूजा आउँछ, तर प्रश्न सधैँ उही रहन्छ– के हामी ज्ञानको पूजा गर्दैछौँ, कि केवल परम्पराको ?

देवी सरस्वती हिन्दू दर्शनमा केवल देवीका रूपमा सीमित छैनन् । उनी चेतनाको रूप हुन्, शब्दको सार हुन् र मानवलाई पशुत्वबाट अलग गर्ने बौद्धिक क्षमताको प्रतीक हुन् । ‘वाक्’का रूपमा उनको उपस्थिति सृष्टिको आरम्भसँग जोडिन्छ । जहाँ शब्द जन्मिन्छ, त्यहीँ विचार जन्मिन्छ र जहाँ विचार हुन्छ, त्यहीँ परिवर्तन सम्भव हुन्छ । त्यसैले सरस्वती पूजा भन्नु नै परिवर्तनको सम्भावनाको पूजा हो । तर आजको समाजमा परिवर्तन शब्दमै सीमित हुँदै गएको छ, चेतनामा होइन ।

सेतो वस्त्रमा सजिएकी सरस्वती शुद्धताको प्रतीक हुन् । उनको हातमा रहेको पुस्तक निरन्तर अध्ययन र आत्मअनुशासनको संकेत हो । वीणाले जीवनको लय, सन्तुलन र सौन्दर्यको महŒव सम्झाउँछ । यी सबै प्रतीकहरू आजको जीवनशैलीसँग टकराइरहेका छन् । हामी छिटो परिणाम चाहन्छौं तर धैर्यपूर्वक अध्ययन गर्न चाहँदैनौं । हामी बोल्न चाहन्छौं, तर सुन्न चाहँदैनौं । हामी जानकारी जम्मा गर्छौैं, तर ज्ञान आत्मसात् गर्दैनौं । यस्तो परिवेशमा सरस्वती पूजा एउटा मौन आलोचना जस्तै देखिन्छ– हामीलाई हेरेर चुपचाप प्रश्न गरिरहेकी ।

आज शिक्षाको विस्तार भएको छ, तर चेतनाको गहिराइ घटेको छ । विद्यालय र कलेजको संख्या बढेको छ, तर पुस्तकसँगको सम्बन्ध कमजोर भएको छ । विद्यार्थीहरू परीक्षा पास गर्न पढ्छन्, बुझ्न होइन । प्रश्न सोध्नु जोखिम मानिन्छ, मौन बस्नु सुरक्षित ठानिन्छ । यस्तो शिक्षा प्रणालीले ज्ञान उत्पादन गर्दैन, आज्ञाकारी जनशक्ति उत्पादन गर्छ । सरस्वती पूजा यसै व्यवस्थामाथि प्रश्न उठाउने दिन हो– के शिक्षा केबल रोजगारीका लागि हो, कि समाज रूपान्तरणका लागि ?

धार्मिक दृष्टिले सरस्वती पूजा आत्मशुद्धिको अभ्यास हो । अज्ञान सबैभन्दा ठूलो पाप मानिन्छ, किनकि अज्ञानबाटै अन्याय, हिंसा र विभेद जन्मिन्छ । तर आधुनिक समाजमा अज्ञानलाई ढाकछोप गरिएको छ– डिग्रीको आवरणमा, पदको खोलभित्र । मानिसहरू शिक्षित छन्, तर पूर्वाग्रहबाट मुक्त छैनन् । तर्क गर्न जान्दछन्, तर सहिष्णु हुन सक्दैनन् । यस्तो विरोधाभासबीच सरस्वती पूजा आउँछ र हामीलाई सम्झाउँछ– ज्ञान भनेको अहंकार होइन, विनम्रता हो ।

राजनीतिक र सामाजिक सन्दर्भमा सरस्वती सधैँ असजिलो पात्र रहिआएकी छन् । किनकि ज्ञानले प्रश्न गर्छ, विवेकले हिसाब माग्छ । सत्ता प्रश्नबाट डराउँछ, त्यसैले अज्ञानलाई मलजल गर्छ । प्रश्न नगर्ने समाज सजिलै चलाइन्छ, भावनाले भरिएको भीड सजिलै उचालिन्छ । यही कारणले शिक्षा र अनुसन्धान प्राथमिकताको सूचीमा तल धकेलिन्छ । भाषणमा ज्ञानको प्रशंसा हुन्छ, तर व्यवहारमा उपेक्षा । सरस्वती पूजा यसै पाखण्ड माथि चोट गर्ने अवसर हो ।

भाषा सरस्वतीको सबैभन्दा नजिकको रूप हो । भाषा कमजोर हुँदा सोच कमजोर हुन्छ, सोच कमजोर हुँदा समाज दिशाहीन हुन्छ । आज मातृभाषा बोल्न हिच्किचाउने प्रवृत्ति बढ्दै गएको छ । साहित्य पढ्नु समयको बर्बादी ठानिन्छ, गहिरो चिन्तनलाई अप्रासंगिक । सामाजिक सञ्जालमा छिटो प्रतिक्रिया लोकप्रिय छ, गहिरो विचार बोझिलो । यस्तो अवस्थामा सरस्वती पूजा भाषा र साहित्यको रक्षा गर्नुपर्ने चेतावनीजस्तै देखिन्छ ।

घर–घरमा सरस्वती पूजा हुँदा बालबालिकाले किताब र कलम अगाडि राखेर आशिष् माग्छन् । तर त्यो आशिष परीक्षामा राम्रो अंकका लागि मात्र सीमित हुनु दुःखद् हो । सरस्वतीको आशिष् भनेको सत्य बोल्ने साहस हो, अन्याय देख्दा चुप नलाग्ने चेतना हो र आजीवन सिकिरहने अनुशासन हो । यदि बालबालिकालाई प्रश्न गर्न नदिइने, गल्ती गर्न नदिइने र फरक सोच्न दण्डित गरिने वातावरण छ भने त्यहाँ गरिएको सरस्वती पूजा केवल औपचारिकता हुन्छ ।

माघ ९ गते पर्ने सरस्वती पूजा हाम्रो पात्रोमा एउटा दिन मात्र हो, तर यसको अर्थ समयभन्दा पर छ । यो दिनले हामीलाई सम्झाउँछ– ज्ञान सजावट होइन, साधना हो । पुस्तक पूजा गरेर धुलो लाग्न दिने हो भने त्यो पूजा होइन, उपहास हो । सरस्वती पूजा भनेको पढ्ने प्रतिज्ञा हो, लेख्ने साहस हो र बुझ्ने धैर्य हो । आजको समाज भावनात्मक उत्तेजनाले भरिएको छ । सत्यभन्दा अफवाह छिटो फैलिन्छ, विचारभन्दा नारा छिटो बिक्छ । यस्तो समयमा सरस्वतीको शान्त उपस्थितिले एउटा फरक बाटो देखाउँछ– ढिलो तर गहिरो, शान्त तर स्थायी । ज्ञानको बाटो कहिल्यै भीडको रोजाइ हुँदैन, तर सभ्यताको भविष्य त्यहीँ निर्भर हुन्छ ।

अन्ततः सरस्वती पूजा देवीलाई खुशी पार्नका लागि होइन, आफूलाई जिम्मेवार बनाउनका लागि हो । अज्ञान अगाडि नझुक्ने संकल्प, प्रश्न गर्न नडराउने साहस र सत्यका पक्षमा उभिने नै सरस्वतीप्रतिको वास्तविक श्रद्धा हो । माघ ९ गते हामी फूल चढाउँछौं, तर त्यो फूलसँगै एउटा प्रश्न पनि चढाऔं– के हामी सचेत नागरिक बन्न तयार छौं ?

यदि यो प्रश्नले हामीलाई असहज बनाउँछ भने त्यही असहजता नै सरस्वती पूजाको सार हो । ज्ञान सधैँ आरामदायी हुँदैन, तर मुक्ति सधैँ त्यहीँबाट शुरु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here