आज माघ शुक्ल पञ्चमी । आजको दिनलाई बसन्त पञ्चमी पर्व पनि भनिन्छ । वैदिक सनातन हिन्दू धर्म अनुसार आज विशेषगरी ज्ञान र चेतनाकी देवी सरस्वती माताको विशेष पूजा–आराधना गरिन्छ । यही दिन विशेष साधनाका साथ बसन्त श्रवण गर्ने परम्परा छ । ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीका रुपमा सरस्वतीको पूजा तथा आराधना गर्ने शास्त्रीय परम्परा रहेको छ । आजको शुक्लपक्षको पञ्चमी तिथि पूर्ण तिथि र गुप्त नवरात्रको समय रहेकाले आज गरिने पूजापाठ विद्या तथा ज्ञान सम्बन्धी विभिन्न कला ग्रहण तथा साधना गरे सफल हुँइन्छ भन्ने मान्यता रहेको छ । जुनसुकै राम्रो कामको शुभारम्भ गर्दा सफल हुने विश्वासका साथ आज विभिन्न शुभ कर्म पनि गर्ने गरिएको छ ।

विद्या आर्जनको प्रारम्भ गर्ने उमेरका बालबालिकालाई यही दिनदेखि अक्षर शुभारम्भ गरे पूर्ण ज्ञान प्राप्त गर्ने शास्त्रीय मान्यता छ । त्यस्तै बालबालिकाको नाक, कान छेडेर फुली, मुन्द्री लगाइदिए दीर्घायु तथा अटल सौभाग्य प्राप्त गर्न सरस्वतीको पूर्ण कृपा रहने धार्मिक विश्वास छ । खासगरी नेपाल र भारतमा विशेष उत्सवका रुपमा मनाइने यो दिनलाई सरस्वती पूजा भनिन्छ र विद्यालय एवम् शिक्षण संस्थाहरुमा घुमघामका साथ मनाइन्छ । भगवान नारायणले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताउनु भएको र त्यही मन्त्रको साधनाबाट वाल्मीकिमा कवित्व शक्ति प्राप्त भएको मानिन्छ । सरस्वती देवीकै साधनाबाट व्यास, वसिष्ठ, विश्वामित्र, शौनकऋषिहरु पनि कृतार्थ भए । त्यही कृपाबाट उनीहरु महर्षि भए हिन्दू समाजमा श्रद्धेय भए भन्ने विश्वास छ ।
ऋतुहरुको राजा बसन्तको आगमनको पूर्व सन्ध्यामा पर्ने माघ महिना शुक्ल पक्षको पञ्चमी तिथिदेखिको समयलाई गर्भकाल पनि भनिन्छ । आजकै दिनको चालीस दिनपछि फागु पूर्णिमा आउने हुँदा बसन्त ऋतुको गर्भकालको पहिलो दिन बसन्त पञ्चमीका रुपमा मनाउने परम्परा रहेको छ । आज काठमाडौंको बसन्तपुर दरबारको हनुमान ढोका अगाडिको चोक राष्ट्र प्रमुखको उपस्थितिमा बसन्त श्रवण गर्ने र वासन्तिक रागको गायन गर्ने परम्परा छ । यही समयदेखि आँप, कटहर लगायतका बिरुवामा नयाँ पालुवा पलाउन थाल्छ, चराचुरुङ्गीले सुमधुर स्वरमा गीत गाउन थाल्छन् । यसरी विभिन्न प्राणी र वनस्पति समेतको नवसृजनाको तयारी थाल्ने भएकाले यस पर्वको विशेष महत्व रहेको छ ।
संस्कृति, परम्परामा समृद्ध हाम्रा पर्वहरु पनि हाम्रा समृद्धिका कारक हुन् । यस्ता चाडपर्वहरुले फरक–फरक भूगोलमा बसे पनि हामीलाई जोड्ने काम गर्छ । यीनले हाम्रो जातीय र क्षेत्रीय पहिचान पनि दिलाउँछ । मनभित्रका कलुषित भावहरुलाई पखाल्न र सदाचारी बन्न प्रेरणा दिन्छ । विद्याकी देवी सरस्वतीले सबैको मनको कल्मष भावना र दुर्विचारलाई ज्ञानरुपी चेतनाले पवित्र पारिदिउन् । सरस्वती माताकै कृपाले खासगरी हाम्रा नेताहरु सकारात्मक, सृजनात्मक, सद्भावपूर्ण र सहिष्णु बनून् । त्यति भए बालबालिका, शिक्षार्थी, सर्जक तथा पौरखी नेपालीको जय हुन्छ, सरस्वती पूजा तथा बसन्त पञ्चमीको शुभकामना ।




























