अर्जुनधारा, मञ्जुश्री २८६२औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ संघ अर्जुनधारा नगर समितिको आयोजनामा शनिबार शुभकामना आदानप्रदान एवम् वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–३स्थित ड्रक नोर्बु छयोलिङ गुम्बाको स्तरोन्नती गर्ने उद्देश्यले गुम्बाको प्राङ्गणमा समितिका अध्यक्ष वृखबहादुर गोलेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकारद्वय प्रिती आले र विशाल थिङसहित स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो । सोही कार्यक्रममा विभिन्न क्षेत्रका तामाङ समुदायका व्यक्तित्वहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा जनप्रतिनिधितर्फ नगर प्रमुख तामाङ, शिक्षातर्फ प्राध्यापक वाङचु गोम्देन, स्वास्थ्यतर्फ डा.रुकमान घिसिङ तामाङ र सारंगा तामाङ, प्राविधिकतर्फ इञ्जिनियर सुरज तामाङ, खेलकुदतर्फ देबेन्द्र तामाङ र व्यवसायतर्फ लोकबहादुर तामाङ रहेका छन् ।

कार्यक्रममा संघ बुद्धशान्ति गाँउ समितिका अध्यक्ष देवीध्वज योञ्जनलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका सहसचिव एवम् कार्यक्रम संयोजक धनबहादुर तामाङले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए ।






























