पाथीभरा माताको मन्दिर निर्माण पुराण

0
21

योगेन्द्र योगी,
सुन्दरहरैंचा ।

सुनसरीको इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटी भित्र निर्माणाधीन पाथीभरा माताको मन्दिर निर्माण सम्पन्न गर्ने उद्देश्यले ९ दिने श्रीमद्भागवत महापुराण आयोजना गरिने भएको छ।

महापुराण आगामी चैत ५ गते कलस यात्रा शुरु गरेर राम नवमीको दिन समापन गरिनेछ। निर्माणाधिन पाथीभरा माताको मिन्दर परिसरमा भएको छलफलमा नेत्र प्रसाद चौलागाई,सुरज बिष्ट,रन्जु सोनी र राजन बराइलीलाई महापुराण मूल समितिको संयोजक चयन गरेको छ।

धार्मिक आस्था र संस्कृतिको संरक्षणसँगै मन्दिर निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने लक्ष्यसहित महापुराण आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ। आगामी दिनहरूमा शुरु हुने महापुराणमा राष्ट्रिय तथा स्थानीय कथा वाचकहरूको सहभागिता रहनेछ भने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। महापुराण अवधिभर धार्मिक प्रवचन, भजन–कीर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिने मूल आयोजक समितिका संयोजक नेत्र प्रसाद चौलागाईले जानकारी दिए।

मन्दिर निर्माण समितिका अनुसार पाथीभरा माता क्षेत्र स्थानीयवासीको आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। निर्माणाधीन मन्दिर सम्पन्न भएपछि धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ। पुराण आयोजना साथै सो विषयमा विभिन्न माध्यमबाट भक्तजनसम्म जानकारी पुराउने उद्देश्यले प्रचार प्रसारका लागि विशेष ध्यान दिन प्रचारप्रसार समिति चयन गरेको मूल आयोजक समितिको अर्का संयोजक सुरज बिष्टले बताए।

साथै,महापुराण सम्पन्न गर्न,आर्थिक लगायत अन्य विभिन्न समितिहरु पनि चयन गरिएको बताईएको छ। आयोजक समितिले मन्दिर निर्माणलाई सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजन, समाजसेवी, बुद्धिजीवी तथा दाताहरूलाई महापुराणमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। महापुराणको अन्तिम दिन ग्रीन सिटी भित्र २१० फिट अग्लो नेपालको झन्डा पनि फहराईनेछ।

मन्दिर संगसंगै उक्त ग्रीन सिटी भित्र स्कुल,कलेज,अस्पताल, रिसोर्ट र सुपरमार्केट निर्माण हुनेछ। स्वच्छ र ठूलो पार्क,हरेक घरमा रुख हुने छ भने रेस्टुरेन्ट र स्विमिङपुल पनि रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here