नयाँले खोसेर लिए पुराना नेताका बिरासत

0
8

आनन्दसँग ज्येष्ठ नागरिक भत्ता खाँदै विश्राम या अवकाश जीवन बिताउनुपर्नेहरु सधैँ नेपाली राजनीतिक पार्टीका उच्च पदमा र सत्तामै बसिरहनाले नयाँ पुस्ताको क्षमता प्रदर्शनमा ब्रेक लागेको अवस्था छ । जसले गर्दा देशले पाउनुपर्ने नयाँ ऊर्जा, नयाँ जाँगर, नयाँ सोच, नयाँ श्रम, नयाँ नीति, नयाँ गति, नयाँ आयाम र नयाँ विकासहरुको अनिकाल लागेको अवस्था छ । त्यसै भएर होला हाल नेपालमा नयाँ पुस्ताहरुले बिद्रोहको आँधीबेहरी सहित ठूलै हलचल ल्याइदिएका छन् र पुरानाहरुलाई विस्थापन पनि गर्दैछन् ।

नेपाली कांग्रेसमा पुस्तान्तरण :

चाहेर होस् या नचाहेर नेपाली कांग्रेस पार्टीमा पुस्तान्तरणको चरण शुरु भएको छ । सजिलै हुन नसकिरहेको पुस्तान्तरण अन्ततः गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले विशेष महाधिवेशनको माध्यमबाट अर्थात् बिधिबाटै पुस्तान्तरण लिए । एकप्रकारले भन्ने हो भने खोसेरै अधिकार लिएका छन् । ज्येष्ठ पुस्ताका नेताहरु बिलखबन्धमा परेका छन् तर सम्मानित स्थानमा राख्ने भनेर नयाँ पुस्ताले भनेका छन् । अभिभावकीय भूमिकामा रहेर पार्टीमा योगदान गर्न सक्ने देखिन्छन् ।

पुराना पुस्ताको पद मोह, उच्च पदमा बसिरहने लोभ, पार्टी तथा देशको स्रोत साधनमा ढलिमलि गरिरहने कहिल्यै नमेटिने मृगतृष्णाले पार्टीमा पुस्तान्तरण कठिन भइरहेको थियो । तर, नेपाली काग्रेसमा ऐतिहासिक तथा सकारात्मक परिवर्तन भएको मान्न सकिन्छ । यो हुन पर्ने पनि थियो । किनकि यो पार्टी अनुभवी र आशालाग्दो पार्टी हो । अब नयाँ पुस्ता संसद र सत्तामा पुगेर पक्कै पनि देशका लागि नयाँ आयामले दु्रत विकास गर्ने छन् भन्नेमा आशावादी हुन सकिन्छ । नत्र त पुरानाकै जस्तो हालत हुनेछ । तसर्थः पनि पुस्तान्तरणलाई स्वर्णीम अवसरका रुपमा परिणत गर्नु नेकाका नयाँ पुस्ताहरुको मिसन या कर्तव्य हुन आउँछ ।

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)मा पुस्तान्तरणः

एमालेमा पुस्तान्तरण अझै केही वर्ष असम्भव जस्तै देखिन्छ । किनकि नयाँ पुस्ताहरुले आफ्ना लागि समर्थनको आधार नै बनाउन सकेका रहेनछन् । गत महाधिवेशनबाट केपी शर्मा ओली नै पार्टीका सर्वोच्च नेता चुनिए । पुस्तान्तरणको प्रश्न उठाउनेहरुले आफ्नो लागि समर्थन नै जुटाउन सकेनन् । अन्ततः केही वर्ष पछि नै बस्नुपर्ने स्थिति सिर्जना भएको छ । आगामी महाधिवेशनका लागि समर्थन जुटाउन त्यही अनुसारका व्यबहार, योजना, क्षमता र समन्वय कला प्रदर्शन गर्नु जरुरी देखिएको छ । पुस्तान्तरण हुन नसकेकै कारणले माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेबाट अलग्गिए तर पुस्तान्तरण लिन आफूलाई योग्य पनि त बनाउनुपर्छ र आँट पनि चाहिन्छ ।

अन्य पार्टीहरुमा पुस्तान्तरण :

अन्य पार्टीमा पनि पुस्तान्तरण दयनीय अवस्थामा रहेका पाइन्छन् । पुस्तान्तरण हुन नसकेकै कारण माओवादी पार्टी कमजोर र छिन्नभिन्न भएको देखिन्छ । सो पार्टीका नेताहरु कोही कता कोही कता लागेका छन् । कतिपय त अवकाश जस्तै अवस्थामा छन् । पुस्तान्तरण, जिम्मेवारी तथा पद हस्तान्तरण नभएपछि आफ्ना उर्जाहरु त्यतिकै खेर फाल्न सकिँदैन भन्दै लाखापाखा लागेका अवस्था देखिन्छ । माओवादी बाहेकका पार्टीहरु पनि छिन्नभिन्न अवस्थामा रहेका देखिन्छन् । नेताहरु मिसिने र छुट्टिने क्रम चलिरहेको देखिन्छ । पार्टीहरु पनि समायोजन, बिलय र फ्याकपर्ने क्रम चलिरहेका देखिन्छन् । राजनीतिमा यो एउटा गज्जबको संस्कृतिको विकास भएको पाइन्छ जसले नेपाली राजनीतिको युगानुकुल विकास क्रम रोकिदिएको छ ।

नयाँहरुको छुट्टै नयाँ पार्टीहरु निर्माण :

स्थापीत पुराना राजनीतिक पार्टीहरुमा पुस्तान्तरण असम्भव भएपछि र नयाँहरुले अवसर नपाएपछि नयाँ पुस्ताहरुले नयाँ–नयाँ पार्टीको निर्माण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी लगायत थुप्रै नयाँ पार्टीहरु निर्माण भइ आसन्न निर्बाचनमा भाग पनि लिँदैछन् । यसलाई पुस्तान्तरणको एउटा उत्कृष्ट रुप मान्न सकिन्छ । नयाँ पुस्ताले आफ्नै सोच र प्रयासमा आफ्ना लागि आफै नै राजनीतिक अवसर सिर्जना गरेका छन् । यसलाई सकारात्मक रुपमा लिनु सान्दर्भिक हुन्छ ।

किनकि नेपाल अव यथास्थितिमा, कक्रिएर बस्न सक्दैन र बस्न हुँदैन पनि । विश्वका देशहरुले कति प्रगति गरिसके अनि नेपाल चाहिँ जहिल्यै पनि पुराना राजनीतिक पार्टीहरुको पेवा, घरेडी, परेड खेल्ने ठाउँ, ढलीमली गर्ने ठाउँ, नातावाद, कृपावाद र फरियावादको शिकार भइरहन सक्दैन । यस्तो गएगुज्रेको अवस्थाबाट हाम्रो देशलाई बाहिर ल्याउनै पर्दछ र विकास पथका नयाँ विचार, नयाँ जोश जाँगर अनि नयाँ शैलीमा दगुराउनै पर्दछ । यस्तै विचार र योजना लिएर नयाँ पुस्ताहरु नयाँ नयाँ पार्टीहरुका माध्यमबाट देशको बागडोर सम्हाल्न आइरहेका देखिन्छन् । यस घटनालाई पनि नयाँले पुरानाका बिरासत खोसेको रुपमा लिन सकिन्छ ।

कहिल्यै नखुलेको चेत :

गनन थापाले कतै भने अझै चेत फिरेन, के भयो भने हामी चेत्छौँ, अनि कहिले चाहिँ चेत्छौँ ? चेतप्रतिको थापाको यो भनाई या प्रश्न निकै गहन र समयसान्दर्भिक छ । नेपाली कांग्रेसका अग्रजहरुले अहिलेको जुन अवस्था झेलिरहेका छन् त्यो उनीहरुको चेतमा बिर्को लागेकै कारणले हो । चेतेका भएत सानदार तरिकाले पुस्तान्तरण गर्दथे र इज्जतिलो भएर पार्टीलाई मार्गदर्शन गर्दथे । नचेतेपछि अनुभवी र शीर्ष भए पनि यस्तै हविगत हुन्छ ।

अब रह्यो नयाँ पुस्ताहरुको राजनीतिमा दमदार आगमन । राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी आदि अहिले चर्चामा रहनु र जनताहरुका बीचमा छोटै समयमा लोकप्रिय बस्नु पनि स्थापित भनिएका पुराना पार्टीका राजनीतिज्ञहरुमा चेत नखुल्नु नै हो । युग अनुसारको चेतको विकास नभएपछि शताब्दी लामो इतिहास बनाएका पार्टीहरु नयाँ पार्टीहरुका अगाडि निरीह बन्नुपर्दो रहेछ । चेतको अभावमा पुराना पार्टीहरुले आफ्ना लागि संकट निम्त्याएका छन् ।

नयाँ पार्टीहरुको उदय पुस्तान्तरणको नमूना :

स्थापित पुराना राजनीतिक पार्टीहरुले पुस्तान्तरण नगरेपछि नयाँहरुले आफै नै मौलिक पाराको पुस्तान्तरण गरेका छन् । नयाँहरुले आकर्षक पार्टीहरु मात्र जन्माएनन् अब संसद र सत्ता नै कब्जा गर्ने यात्रामा दु्रतगतिमा अगाडि बढिरहेका छन् । प्रधानमन्त्री पनि तोकिसकेका छन् । छलाङ मार्ने मार्गमा दौडिरहेका छन् । पुस्तान्तरण यसरी पनि हुँदो रहेछ । नयाँ अर्थात् नेपालका युवापुस्ताले पुस्तान्तरणको नयाँ मोडल प्रतिपादन गरेका छन् ।

नयाँ र पुरानाको भिडन्त :

निश्चय पनि यो आम चुनाव नयाँ पार्टीहरु र पुराना पार्टीहरु बीचको प्रतिस्पर्धाको रुपमा हुँदैछ । पहिला पहिला पुरानै पार्टीमात्र भिड्दथे । यसपाली पुराना र नयाँहरु भिड्दैछन् । दुबै पक्षका लागि परीक्षाको घडी भएको छ । नयाँहरुले सटिक एजेन्डा नबनाए पनि नयाँ जोशजाँगरसहित आएका छन् । पुरानाका कमजोरीबाट सिकेर आएका छन् । यो निकै राम्रो पक्ष हो । पुरानाहरु पनि पक्कै पनि नयाँ सोच, योजना र सुधारसहित आउनेमा आशावादी हुन सकिन्छ । यो नै समयको माग हो । नवीन युग सुहाउँदो नेतृत्व र योजना देश र जनताले पाउन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here