पटना आइआइटीको अन्तर्राष्ट्रिय रोबोटिक्स मञ्चमा चिल्ड्रेनका विद्यार्थीको उत्कृष्ट प्रस्तुति

0
9

झापा,  भारतको प्रतिष्ठित भारतीय प्रविधि संस्थान (आईआईटी) पटना आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको सेलेस्टा टेक्नो म्यानेजमेन्ट फेस्ट तथा वल्र्ड रोबोटिक्स च्याम्पियनसिप मा झापाको बिर्तामोडस्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कुल का विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।


माघ महिनाको दोस्रो हप्तादेखि सञ्चालन भइरहेको उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी विद्यालयको एआई रोबोटिक्स क्लबका विद्यार्थी कुसल राजबंशी, प्रसन राई, नुसागेन लावती, प्रिन्स आचार्य र यमन सिटौलाले विभिन्न विधामा आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गरेका छन्।

विद्यार्थीहरूले रोबो रेस, रोबो सकर, रोबो अक्वा रेस तथा रोबो अक्वा सकर जस्ता चुनौतीपूर्ण प्रतिस्पर्धात्मक विधामा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरिरहेका छन्। आयोजक तथा सहभागीका अनुसार नेपाली विद्यार्थीहरूले देखाएको आत्मविश्वास, प्रविधिमैत्री सोच र कार्यक्षमताले सबैको ध्यान खिच्न सफल भएको छ।

विद्यालयले पछिल्ला वर्षहरूमा प्रविधि शिक्षालाई प्राथमिकतामा राख्दै कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्स क्षेत्रमा निरन्तर लगानी र अभ्यास गर्दै आएको जनाएको छ। यसक्रममा नेपाल रोबोक्राफ्ट इलेक्ट्रोनिक्स एन्ड रोबोटिक्स, काठमाडौंका अनुभवी प्रशिक्षक इन्जिनियर राजकुमार चौरासिया र इन्जिनियर दिवश खनालबाट प्रदान गरिएको नियमित तथा व्यावहारिक प्रशिक्षणले विद्यार्थीको दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको विद्यालयको भनाइ छ।

विद्यालयका ईसीए (एक्स्ट्रा करिकुलर एक्टिभिटिज) संयोजक दिनेशराज शर्माका अनुसार, “विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकको साथ र प्रशिक्षकहरूको समर्पित मार्गदर्शनका कारण चिल्ड्रेन इन्भारोमेन्ट स्कुलले एआई रोबोटिक्सको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। अन्तर्राष्ट्रिय मञ्चमा विद्यार्थीहरूको सहभागिता स्वयंमा गर्वको विषय हो।”

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता र सम्भावित सफलताले देशभित्र प्रविधि शिक्षाप्रति बढ्दो आकर्षण र सम्भावनालाई उजागर गरेको छ। यसले भावी पुस्तालाई विज्ञान, प्रविधि र नवप्रवर्तनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here