आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ । देशभरका कूल एक सय ६५ सिटका लागि प्रतिष्पर्धामा उत्रिएका दलहरुका बीचको भिडन्त प्रति आमनागरिकको चासो पनि चुलिएको छ । ती मध्ये केही निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमै प्रभाव पर्नेसम्मको भिडन्त हुने लगभग पक्का छ । ती क्षेत्रका नतिजाले परम्परागत राज्यसत्ता, संसद र विगतका समीकरणमा पनि व्यापक फेरबदल हुने आंकलन गरिँदैछ । यसरी आसन्न निर्वाचनमा चर्चा र चासोको क्षेत्र बनिएको छ झापा । झापाको पनि निर्वाचन क्षेत्र नम्बर ५ यसबेला सर्वाधिक चर्चा र उत्सुकताको क्षेत्र बनिएको छ ।

झापा ५ मा बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका कारण सर्वाधिक चासो र चर्चाको क्षेत्र हो । जहाँ आठौं पटक निर्वाचन लडिसकेका र प्रधानमन्त्री समेत भइसकेका केपी ओली एमालेका तर्फबाट प्रतिष्पर्धा गर्दैछन् । जेन–जी बिद्रोहका कारण सत्ता छाड्न बाध्य तत्कालीन प्रधानमन्त्री ओलीका लागि जेन–जी कै बल र समर्थनमा उम्मेदवार बनेका बालेन ठूलो चुनौती बनेका छन् । इतिहासमै सर्वाधिक युवाको हत्या भएको छोटो समयको आन्दोलनमा मृत्युवरण गर्न पुगेका युवाको रगत सुक्न नपाउँदै हुन लागेको निर्वाचनलाई यसकारण पनि अर्थपूर्ण र चासोका रुपमा हेरिएको छ ।
काठमाडौं महानगरको नगर प्रमुखबाट राजीनामा दिएर पहिलोपटक संसदीय निर्वाचन लड्न झापा ५ रोजेका बालेनका लागि ओलीको पकड क्षेत्र मानिन्छ । यसर्थ बालेनलाई निर्वाचन जित्नु फलामको च्युरा चपाउनु सरह हुनेछ । तर पनि युवा, ऊर्जाशील र परिवर्तनकारी छवि बनाएका बालेन, उनको दलको सक्रियता र युवाकै समर्थनले कमजोर भने छैन । अझ अन्य दलका युवा नेता तथा कार्यकर्तालाई रास्वपामा भित्र्याएका बालेन र उनका सहयोगीका कारण परिणाम अनपेक्षित हुनसक्ने एकथरीले विश्लेषण गरेका छन् । जे होस् झापा राजनीतिक चेतनाले अग्रणी जिल्ला हो र देशकै ध्यान खिचेर यसपटक चर्चाको चुलीमा छ ।
यसपटकको निर्वाचनमा दोस्रो चर्चामा रहेको जिल्ला सर्लाही ४ । त्यहाँ कांग्रेस सभापति आफ्नो निर्वाचन क्षेत्र छोडेर पुगेका छन् । जहाँ कांग्रेसकै पुराना अनुभवी अमरेशकुमार सिंहले अघिल्लो चुनावमा स्वतन्त्र उठेर जितेका थिए । कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा पार्टीले प्रधानमन्त्रीका रुपमा अघि सारेका युवा उम्मेदवार हुन् । त्यसैगरी प्रतिनिधि सभाका पूर्व सभामुख र उपसभामुखहरुको झापा २ को भिडन्त पनि रोचक हुने अनुमान गरिँदैछ । एमालेका देवराज घिमिरे र रास्वपाकी इन्दिरा राना मगरका बीचको प्रतिष्पर्धाको परिणामले पनि पार्टीको हैसियत मापन गराउने छ । चुनावी प्रतिष्पर्धा स्वच्छ, स्वतन्त्र, शान्त र निष्पक्ष होस् । मतदाताले विवेक प्रयोग गरुन्, जनताले परिवर्तनको अनुभूति गरुन्– त्यही आजको आवश्यकता हो ।



























