
प्रवेश :
जीवनमा धेरै कुरा गर्नुहुने र गर्नु नहुने छन् । गर्नु नहुनेमा मुख्य दुई कुरा कोट्याउँछु । कसैको अनुपस्थितिमा कुरा काट्नु नहुने र आफ्ना अगाडि प्रशंसा सुन्नु नहुने । तर, यसैमा मजा आउँछ । अँ त, हो नि, भन्दै अर्कालाई पखाल्न जति मजा आउँछ उति नै मजा तपाईं त होनोहार, सर्वगुण सम्पन्न भनि दिए भने नाक थाम्न चोके लगाउनुपर्ने हुन्छ ।
अर्काको नराम्रो पक्ष उजागर गर्दा आफ्नो राम्रो पक्ष उसँग जान्छ भने उसको नराम्रो पक्ष आफूसँग आउँछ । किनकि पखाल्यौ नि । ‘तपाई न सपाइ आफैं मपाई’ भन्ने आहान झैँ म यस्तो, उस्तो, यो गरँे, उ गरे भन्दा आफू तल झरिन्छ भन्ने हेक्का हराउँछ । सुन्ने र भन्ने दुबै माइनस भएको यो तथ्य आजको यस परिवेशमा अझ मौलाउँदै गएको देखिन्छ ।
संघ–संस्था :
वर्तमान परिवेशमा समाजमा नगन्य संघ–संस्था च्याउ उम्रिए झैं खोलिएका छन् । खोल्नु ठूलो कुरा होइन, सबल परिचालन ठूलो कुरा हो । जन्मदिन जति सजिलो छ, पाल्न ताल्न र सक्षम बनाउन अझ गाह्रो छ भन्ने तथ्य मनन गर्नुपर्ने देखिन्छ ।
नेतृत्व गरेरै संघ–संस्था चल्छन् । यो धु्रवसत्य यथार्थ हो । यद्यपि खोलेर एक–दुई पदावधि नेतृत्व गरेपछि अर्कालाई जिम्मा दिन पटक्कै मन उठ्दैन । भरसक एक पदावधि अध्यक्ष भई सञ्चालन गरेपछि अर्को उत्तरधिकारीलाई जिम्मा लगाउन पाए अर्कोले पनि काम सिक्ने थिए, सिकाउनुपर्छ । तर, अझै दुई–तीन पटक अगाडि सर्दा चाहिँ यसभित्र केही मिठास छ भन्ने शङ्का उब्जिँदोरहेछ । केलाई भन्दा देख्नेलाई लाज भने झैं ।
मठ–मन्दिर, देवालय, विद्यालय, पालिका आदिमा हाम्रा परिवेशका अग्रजलाई हामीले छानेर नेतृत्व गर्न पठाउँछौं । विश्व जगतको यो स्वभाविक प्रक्रिया हो । तर, एक पदावधि नेतृत्व गरेपछि पूर्व अध्यक्ष त भइगइयो । दुई–तीन पदावधि नेतृत्व गर्दा पनि आखिरी पूर्व नै हो, त्यो भन्दा माथि हुँदैन । महापूर्व भनेको सुनेको छैन । त्यसैले आफ्नो कार्यकालमा अर्को हकवाला (प्रतिनिधि) बनाएर जिम्मा दिने गरौं कि !
यो पंक्तिकार सकारात्मक र निवृत्त कर्मचारी हो । त्यसैले हाम्रो देशमा ६० वर्ष माथिकालाई सेवानिवृत्त बनाइन्छ । ७० वर्ष पुगेपछि समाजका सबैलाई वृद्ध भत्ता पाउने प्रक्रिया छ । यो उमेरको सिमारेखा हो । ६०/७० वर्षका हामीले नेतृत्व गर्नु छैन । हामी पछिका हाम्रा सन्ततिलाई पद मात्र होइन, व्यवहार हस्तान्तरण गर्नुपर्छ । यसरी उमेरको हद लागेकालाई संघ–संस्थाले सल्लाहकार, संरक्षक भनेर मान राख्ने अर्को आदरणीय पद दिए भैगोनी । संस्था चलाउन सल्लाहकारको पनि अहम भूमिका हुन्छ ।
आसन र भाषणको मोह:
कुनै पनि सार्वजनिक संघ–संस्थाहरूमा आसन र भाषण अरु मौलाउँदै गएको देखिन्छ । हो, सभालाई सभाध्यक्ष आवश्यक छ । संस्था प्रमुख सभाध्यक्ष बसौं । अब प्रमुख अतिथि भनेर हाम्रै जनप्रतिनिधि, छर–छिमेकी र प्रतिष्ठित भन्दै ड्यासमा निम्त्याइन्छ । स्रोताभन्दा पाहुना बढी भइसक्दा पनि समय खर्चिएर विभेद बढाएको देखियो ।
निर्मूल भनेको चाहिँ होइन, तर यो क्रम घटाउन पाए समय बच्ने थियो, विभेद बढ्ने थिएन । सृर्जनात्मक काम गर्न सकिन्थ्यो । ड्यासमा बसेकालाई खादा पनि त्यति सुहाएन । बरु एक थुङ्गा फूल दिएर सम्मान गर्दा पुग्थ्यो होला । माथि बस्ने र तल स्रोताको भूमिका निर्वाह गर्नेमा स्रोताको भूमिका निर्वाह गर्नेमा स्रोताको अहम् भूमिका हुन्छ । त्यसैले सम्पूर्ण उपस्थितलाई एकमुष्ट आसन ग्रहण भन्ने सभामा र सभाको रौनकताका बीच समाप्त भनेको सभामा कहिले पुगिएला !
भाषण पनि प्रसङ्ग मिलाएर छोटो, मिठो, हँसिलो, रोचक र ज्ञानवर्धक बनाउँदै लानुपर्ने अवस्था छ । लामो बोल्यो अनि मेरा दुई शब्द कठै । स्रोता छट्पटाएपछि मेरा कुरा बिकेन भन्ने सोच राखौ कि । मनभरि व्यवहारिक बोझ सम्झँदै तपाईंले बोलेको सुनेर ताली पिट्न बाध्य नपार्दा उत्तम हुन्थ्यो । दिग्दार लागेर स्रोता हिँडेपछि बन्दसत्र भन्दै लेखेको निर्णय कतिको प्रभावकारी होला ? भावी सन्ततिले यो कुरा पचाएर व्यवहारमा लागू गर्लान् ?
एउटा भोगेको प्रस· :
योगी नरहरिनाथलाई कोटीहोममा हामी यस झापा क्षेत्रकै प्रमुख व्यक्ति, संघ–संस्थाले अभिनन्दनको कार्यक्रम जोड्यौं । योगीजीलाई सम्मान गरिसकेर उहाँको मन्तव्यले मन छोयो । उहाँ ‘म अर्को जन्ममा यस धराधाममा जन्मनु नपरोस् भन्दै थिए, तर आज तपाईंहरुले मलाई यसै लोकमा आउने बनाउनुभयो’ भन्दै ठूला आँखाबाट आँशु झार्नु भयो । साधु त त्यस्तो पो हुन्छ । हामी हेरेको हेरै भयौं ।
सम्मान त कर्म अनुसार भगवानले दिने हो । हामी–हामीबीच सम्मान बाँडेर आत्मसन्तुष्टि दिलाउनु मात्र हो । अनि मान–सम्मान मिठो बोली–बचनले अर्कालाई गर्ने हो । आफैले लिनु–दिनु अलिक व्यवहारिक देखिँदैन । कृपया सभा–समारोहरुमा कम आसन र भाषण राखेर अमूल्य समयको सदुपयोग गर्दै सिर्जनात्मक काममा अघि बढौं । हार्दिक कामना ।
सर्बे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्बे भद्राणि पश्यन्तु, माकश्चित दुःख भाग भवेत् ।



























