झापा , सामाजिक सञ्जालमार्फत समाजमा हिंसा भड्काउने खालका अभिव्यक्ति दिएको आरोपमा झापाका एक व्यक्तिमाथि प्रहरीले अनुसन्धान थालेको छ ।
बिर्तामोड नगरपालिका–७ घर भएका ५० वर्षीय भद्रप्रसाद नेपाल उर्फ स्वागत नेपालले चुनावी प्रचारका क्रममा युट्युब च्यानल र सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका अभिव्यक्ति दिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रारम्भिक सोधपुछ गरेको हो ।
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्वर २ बाट नेपालले मनोनयन दर्ता गराएका छन् ।
लोक आवाज लगायतका युट्युब च्यानलमा प्रसारित भिडियोमा नेपालले ‘जो पृथ्वी नारायण शाहको विरोध गर्छ, उसको टाउको काटिन्छ, काट्नुपर्छ, म काट्न तयार छु’ जस्ता अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रहरीले उक्त अभिव्यक्तिको सत्यता बुझ्न उनलाई उपस्थित गराई सोधपुछ गरेको जनाएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा नेपालले भविष्यमा यस्ता गलत अर्थ लाग्ने र कानुनविपरीतका अभिव्यक्ति नदिने तथा कानुनको पालना गर्ने प्रतिबद्धता जनाउँदै लिखित कागज गरेको प्रहरीले जनाएको छ । सोही आधारमा हाल उनलाई खोजी भएका बखत उपस्थित हुने सर्तमा छाडिएको र घटनाबारे अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत हिंसालाई प्रश्रय दिने, कानुनविपरीतका अभिव्यक्ति दिने तथा श्रव्य–दृश्य सामग्री प्रसारण गर्ने गतिविधिमाथि निरन्तर निगरानी भइरहेको छ ।
‘यस्ता गतिविधिमा संलग्नता पुष्टि भए कानुन बमोजिम कारबाही गरिनेछ,’ सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।






























