झापा ।

झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–७ गरामनीकी ५४ बर्षीया कल्पना भण्डारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । माघ ११ गते दिउँसो १ः३० बजे मेचीनगर–७ नमुना टोलस्थित भित्री सडक खण्डमा काँकरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड–७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती कल्पना गम्भीर घाइते भएकी थिइन् । टाउको र शरीरमा चोट लागेकी कल्पनालाई बीएण्डसी अस्पताल लगिएको थियो । उनको आज उपचारको क्रममा मृत्यु भएको हो ।
४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका–६ निवासी ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।































