झापा । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस दमक नगर समितिले आफ्ना कार्यकर्तालाई सचेत गर्दै पार्टीका आधिकारिक उम्मेदवार मन्धरा चिमरिया पौडेललाई ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेको छ ।
दमक नगर समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको दोस्रो विशेष महाधिवेशनले तय गरेको “बद्लियौ काँग्रेस, बदल्छौ देश” भन्ने मूल नारालाई कार्यान्वयन गर्दै पार्टी लोकतान्त्रिक ढंगले अघि बढिरहेको भन्दै पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको हो ।
गत माघ ६ गते नेपाली कांग्रेसका तत्कालीन नगर सभापति प्रकाश प्रसाईले आफ्नो स्वेच्छाले पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्नुको राजनीतिक र लोकतान्त्रिक प्रक्रियालाई सामान्य रहेको जनाउँदै प्रसाई अब पार्टीका साधारण सदस्य समेत नभएको जनाएको छ ।
नेपाली कांग्रेस दमक नगर समितिले आफ्नो सदस्यता कायम राखेका कार्यकर्तालाई भ्रामक प्रचार वा कपोलकल्पित गतिविधिबाट बच्न सचेत रहन आग्रह गर्दै पार्टीका उम्मेदवारलाई पूर्ण समर्थन गर्ने सन्देश दिएको छ।
नेपाली कांग्रेसका वडा, नगर, प्रदेश र क्षेत्रीय तहका प्रतिनिधिहरूले जारी विज्ञप्तिमा पार्टी एकताको महत्व र लोकतान्त्रिक मूल्यहरूको पालनामा जोड दिएका छन् – प्रेस विज्ञप्तिमा भनिएको छ ।
वडा तहदेखि क्षेत्रभरिका कार्यकर्ताहरूलाई चनाखो रहन, भ्रामक र प्रतिगमन हुने कार्यप्रति सजग रहँदै आफनो पार्टीको उम्मेदवार मन्धरा चिमरिया पौडेललाई मतदान गराउन दृढतापूर्वक लाग्न अनुरोध गर्दछौं – विज्ञप्तिमा भनिएको छ ।
दमक ६ का वडा सभापति मणिकमार बढाथोकी, कार्यवहाक नगर सभापति प्रेम भट्टराई, पार्टीका प्रदेश ख सभापति रवि केसी न्यौपाने क्षेत्र नम्वर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिले पार्टी एकता र लोकतान्त्रिक मूल्यहरूको महत्वलाई जोड दिएको छ ।































