बिर्तामोड ।

फिनल्यान्डको उच्च शिक्षाले नेपाली विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गरिरहेको भन्दै झापाको बिर्तामोडमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको आयोजना तथा आईडीबी ग्लोबलको सहकार्यमा भएको एजेन्ट मिट एण्ड ग्रिट कार्यक्रममा फिनल्याण्डका विश्वविद्यालयको बारेमा जानकारी दिइएको थियो । फिनल्याण्डमा विद्यार्थीका लागि छात्रवृत्ति, जागिरको अवसर, वर्क भिसा, डिपेन्डेन्ट सुविधा, पीआर प्राप्ति लगायत विषयमा युनिभर्सिटी अफ भाषाका दक्षिण एसिया रिजनल एडभाईजर बिर्जु पट्टेलले जानकारी गराएका थिए ।

उनले पछिल्ला केही वर्षमा फिनल्यान्ड नेपाली विद्यार्थीका लागि आकस्मिक रूपमा लोकप्रिय गन्तव्य बनेको बताए । पछिल्लो समय विद्यार्थीका लागि फिनल्यान्ड एउटा विकल्प बनेर आएको भन्दै पट्टेलले शान्त, सफा, सुरक्षित, पढाइ राम्रो भएको उल्लेख गरे ।

शैक्षिक पृष्ठभूमि जस्तोसुकै भए पनि भिसा पाइने सम्भावना, तुलनात्मक रूपमा कमाएर तिर्न सकिने कलेज शुल्क र डिपेन्डेन्ट ल्याउन पाउने व्यवस्था मुख्य आकर्षण भएको उनले जानकारी दिए । पछिल्लो समय झापाबाट समेत धेरै विद्यार्थीले फिनल्याण्डका विश्वविद्यालयका बारेमा जिज्ञासा राख्ने गरेकोले यो कार्यक्रम उपलब्धि मुलक बनेको बताए ।

नेपालबाट फिनल्यान्डमा विशेष गरेर व्यवहारिक र प्रयोगात्मक सिप मुलक शिक्षा आर्जन गर्न जाने प्रचलन छ। स्नातकोत्तर तहका केही विषयमा अध्ययन गर्न विश्वविद्यालयमा पनि विद्यार्थी जाने गरेका छन्। फिनल्यान्डमा अंग्रेजी भाषा परीक्षामा राम्रो अंक ल्याएका विद्यार्थीले सहज रुपमा भर्ना पाएको नेपाल शैक्षिक परामर्श संघ झापाका तालिम विभाग प्रमुख नबीन बोहोराले जानकारी दिए ।
कार्यक्रममा आईडीबी ग्लोबल प्रमुख ईश्वर घिमिरेले फिनल्याण्डका विश्वविद्यालय, विद्यार्थीले अध्ययन गर्न पाउने विषयका साथै नेपालबाट गरिने प्रक्रियाका विषयमा जानकारी दिएका थिए । उनले फिनलण्डको शैक्षिक अवस्था र कानुनका विषयमा समेत जानकारी गराएका थिए ।

इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी युनिभर्सिटी अफ भाषाका दक्षिण एसिया रिजनल एडभाईजर बिर्जु पट्टेल, इक्यान झापाका निर्वतमान अध्यक्ष रोशन सुवेदी, आईडीबी ग्लोबल प्रमुख ईश्वर घिमिरे, इकयान झापाका कोषाध्यक्ष तुलसी पाठक लगायतको आतिथ्य रहेको थियो । स्वागतसहित कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख नबीन बोहोराले गरेका थिए ।































