
हरेक महिनाको शुक्लपक्ष र कृष्णपक्षका ११औं तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथिलाई कृष्णपक्षको एकादशी भनिन्छ भने औंशीपछि आउने तिथिलाई शुक्लपक्षको एकादशी तिथि भनिन्छ । हिन्दु सनातन सम्प्रदायमा यी दुबै प्रकारका एकादशी तिथिहरुको धेरै महŒव रहेको छ । एकादशीको व्रतलाई महाव्रत पनि भनिन्छ । अन्य व्रतहरुको तुलनामा एकादशी व्रतको महŒव अधिक रहेको बताइन्छ ।
अश्वमेधसहस्त्राणि राजसूयशतानि च ।
एकादश्यपुवासस्यकलां नार्हन्तिषोडशीम ।।
अर्थात्ः एकादशी व्रतको महत्व यति छ कि हजारौंहजार अश्रवमेध यज्ञ र सयौं राजसूय यज्ञको महत्व एकादशी व्रतको महत्वको सोह्र भागको एक भाग जति पनि हुँदैन । अधिक वर्ष र शुद्ध वर्षमा एकादशीको संख्या फरक–फरक हुन आउँछ । चन्द्रमासका हिसाबले हरेक महिनाका कृष्णपक्ष र शुक्लपक्षमा एक–एक गरी एक महिनामा दुईवटा र वर्षभरिमा २४ वटा एकादशी हुन्छन् । तर, मलमास वा अधिकमासमा अरु दुईवटा एकादशी थपिएर जम्मा २६ वटा एकादशी हुन्छन् । यदि एकादशी तिथि दुई दिन परेको भए शैवमार्गीहरुले पहिलो दिन र वैष्णवहरुले दोस्रो दिन एकादशी व्रत राख्छन् ।
सबै एकादशीहरु उत्पत्तीका कथा, महत्व र व्रत विधिहरु बताइएको छ । एकादशी व्रत भगवान विष्णुको पूजा र उपासनाका लागि समर्पित गरिन्छ । व्रतमा भगवान विष्णुको पूजा र कथा श्रवण गरिन्छ । सबै प्रकारको सुख प्रदान गर्ने व्रतका रुपमा एकादशी पर्वलाई मानिन्छ । एकादशी व्रतका प्रभावले व्यक्तिका सबै पाप र दुर्गुणहरु नाश भएर जान्छन् र यसको विधिपूर्वक राखिएको व्रतका कारण विष्णुको कृपा प्राप्त हुन्छ । एकादशी व्रतको महत्वका बारेमा पद्म पुराणमा उल्लेख गरिएको छ ।
स्वर्गमोक्षप्रदा हृोषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदाहृोषाधनमित्रप्रदायिनी ।।
नगंगा न गया राजन न च काशी च पुष्करम् ।
न चापिकौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।
एकादशी स्वर्ग मोक्ष, आरोग्य, सुभार्या एवम् सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन ! गंगा, गया, काशी, पुष्कर र कुरु क्षेत्र यी पुण्य क्षेत्र मध्ये कुनै एउटा क्षेत्रको तुलना एकादशीका साथमा हुन सक्दैन । यस श्लोकमा उल्लेख गंगा नदी र अन्य तीर्थ क्षेत्रहरु हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । यी नदी र तीर्थको नाम लिना साथ तीर्थस्नानको फल प्राप्त हुने विश्वास गरिन्छ । तर, यस्ता पवित्र तीर्थ स्थलहरु मध्ये एकादशीसँग एउटा स्थानको पनि तुलना नहुने बताइएको छ । अर्थात् एकादशीको महत्व ती सबैभन्दा उच्च छ ।
भीमा (जया) एकादशी महात्म्य
एकदिन देवराज इन्द्र विभिन्न अप्सराहरुका साथमा नन्दन वनमा नाचगानको आनन्द लिइरहेका थिए । अप्सरा र गन्धर्वहरुको नृत्य र गायकी कलाद्वारा आनन्द प्रदान गरिरहेका थिए । रमाइलो प्रस्तुति चलिरहँदा माल्यवान गन्धर्व र पुष्पवती अप्सरा नजिकिन पुगे र एकआपसमा मोहित हुन पुगेछन् । एकअर्कामा हेराहेर गर्नमा मग्न भएपछि उनीहरुले आप्mनो प्रस्तुतिमा ध्यान केन्द्रित गर्न सकेनन् । यसबाट क्रोधित भएका देवराज इन्द्रले उनीहरुलाई ‘तत्कालै मत्र्यलोकमा गएर पिशाच दम्पती भइ जाओ’ भनेर श्राप दिए ।
देवराज इन्द्रको श्रापले तत्कालै उनीहरुले पिशाच योनी प्राप्त गरे र मत्र्यलोकमा झरे र दम्पत्तीका रुपमा कष्टपूर्ण जीवन निर्वाह गर्न थाले । यसैगरी रहँदा बस्दा माघ महिना आयो, जाडो बढ्न थाल्यो । पानी पनि परेकाले उनीहरुको जीवन थप कष्टकर बन्यो । उनीहरुले न खान पाए, न सुत्न पाए । उनीहरु निथ्रुक्क भिजेका थिए । वर्षात् कै पानीले स्नान त भयो तर अहोरात्र भोक, अनिद्रा र कष्टले उनीहरुलाई व्याकुल बनाएको थियो । संयोगवश त्यसदिन माघ शुक्लपक्षको एकादशी तिथि परेको रहेछ । अन्जानमै उनीहरुको स्नान भयो र निराहार उपवास र चिसोले सुत्न नसकेका कारण जाग्राम पनि भयो र एकादशी तिथिमा गर्नुपर्ने विधिहरु पालन गर्न पुगे । यसरी अन्जान मै पूर्ण भएको जया एकादशीको व्रतका प्रभावले माल्यवान गन्धर्व र पुष्पवती अप्सरा भएर मत्र्यलोकमा देखिए ।
यसरी पापमोचन भएपछि उनीहरुलाई लिन विमान आइपुग्यो र त्यसमा सवार भए र पुनः स्वर्गलोकमै पुगे । देवराज इन्द्रले उनीहरुबाट सम्पूर्ण वृतान्त सुनेपछि जया एकादशी तिथिको महिमा थाह पाएपछि हरिभक्त, शिवभक्त र स्वर्गका सबै देवताहरुलाई जया एकादशीको महत्व बताउँदै व्रत लिन सुझाए र माल्यवान र पुष्पवतीलाई पनि स्वर्गमा स्वागत र यथोचित सत्कार गरे ।
भीमा एकादशी सामान्य परिचय
माघ शुक्लपक्षको एकादशी तिथिलाई भीमा एकादशी भनिन्छ । यस वर्ष भीमा एकादशी आज माघ १५ गते बिहीबार परेको छ । कुन्ती पुत्र भीमसेनले समेत यस एकादशीको व्रतको पालन गरेकाले यस एकादशीलाई भीमा एकादशी पनि भनिन्छ । सम्पूर्ण पापहरु नाश गरी मोक्ष प्रदान गर्ने एकादशीका रुपमा भीमा एकादशीलाई लिइएको छ । यस एकादशीका प्रभावले मनुष्यले भोग र मोक्ष दबै प्राप्त गर्दछ भन्ने विश्वास रहिआएको छ । अरु एकादशीका दिनमा झैं भीमा एकादशीका दिन पनि रात्रि जाग्राम बस्ने र विष्णुको किर्तन गर्ने गरिन्छ । जया एकादशीका दिन भगवान नारायणलाई धूप, दिप तथा नैवेद्यले पूजा गरी खिचडी पकाएर चढाउने धार्मिक परम्परा रहेको छ ।
पाँच पाण्डव मध्येका माइला भीमसेनले समेत यस एकादशीको व्रत गरेका कारण यस एकादशीको नाम भीमा एकादशी हुन गएको पौराणिक वर्णन गरिएको छ । भीमले एकादशीको व्रत बसेका कारण सबै पितृ ऋणहरुबाट मुक्त भएको कुरा गरुड पुराणमा उल्लेख गरिएको छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल दुष्ट पत्नीले पति अधर्मले धर्म, कुमन्त्रिले राजा, अज्ञानताले ज्ञान, आशौचले शौच, अश्रद्धाले श्रद्धा, असत्यले सत्य, उष्णताले शितलता, अनाचारले सम्पत्ति, विष्मयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्दछ, ठिक यसको विपरीत भीमा एकादशीको व्रतले सबै पापहरुलाई त्यसरी नै नष्ट गरी मानिसलाई सुमार्ग प्रदानगर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
भीमा एकादशीको व्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु पत्नीगमन जस्ता पापहरु नाश गर्ने शक्ति प्राप्त हुन्छ । नैमिष क्षेत्र, कुरु क्षेत्र, प्रभास क्षेत्र, यमुना, गंगा लगायत सबै तीर्थहरु पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमा एकादशीको व्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरुभन्दा ठूलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको व्रतको महात्म्य ठूलो मानिएको छ । भीमा एकादशीको पूजाका लागि पूजा सामग्रीहरु वराहदेवको प्रतिमा, भगवान विष्णुको मूर्ति वा तस्वीर, पुष्प/पुष्पमाला, ऋतुफल, धूप, दिप, घ्यू, पञ्चामृत, तिल, तुलसीदल, चन्दन, काठको चौकी, पहेँलो वस्त्र, आसन, शुद्धजल या गंगाजल, पहेँलो वस्त्र, पहेँलो पूmल, पहेँलो फल, आरतीका सामान, व्रतकथाको पुस्तक ।



























