निर्वाचन सुरक्षाः ६ जिल्ला उच्च निगरानीमा, झापामा सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’

0
3

झापा । 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा संयन्त्रलाई सशक्त बनाएको छ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको भए पनि प्रचार–प्रसारका गतिविधि अनौपचारिक रूपमा तीव्र बन्दै गएपछि प्रहरीले सम्भावित जोखिमको मूल्यांकन गर्दै अतिरिक्त सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

केन्द्रीय प्रहरी नेतृत्वले प्रदेश तथा जिल्ला तहका सुरक्षा निकायसँग समन्वय गरी दैनिक रूपमा सुरक्षा अवस्थाको विश्लेषण गरिरहेको प्रहरी स्रोत बताउँछ । संवेदनशीलता र सम्भावित चुनौतीका आधारमा देशभर ६ जिल्लालाई उच्च सुरक्षा चुनौतियुक्त क्षेत्रका रूपमा सूचीकृत गरिएको छ ।

प्रारम्भिक मूल्यांकन अनुसार ती जिल्लामा उम्मेदवारको राजनीतिक हैसियत, अघिल्ला निर्वाचनका अनुभव, सामाजिक–राजनीतिक तनाव र स्थानीय गतिविधिलाई मुख्य आधार बनाइएको छ । उच्च निगरानी सूचीमा परेका जिल्लामा अतिरिक्त प्रहरी टोली परिचालन गरिएको छ भने नियमित जनशक्ति अपुग हुने स्थानमा गण र गुल्मबाट सहयोगी टोली पठाइएको छ ।

उच्च निगरानीमा राखिएका जिल्लामध्ये एक जिल्लामा पूर्वप्रधानमन्त्री तथा ठूला राजनीतिक दलका शीर्ष नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । सोही कारण त्यहाँ निर्वाचन गतिविधि लक्षित निगरानी बढाइएको प्रहरी स्रोतको भनाइ छ । यद्यपि, केही ‘हाइ प्रोफाइल’ उम्मेदवार हाल जिल्ला बाहिर रहेकाले उनी फर्किएपछि सुरक्षा व्यवस्थापन थप कडाइ गरिने बताइएको छ ।

अन्य उच्च चुनौतिका रूपमा सूचीकृत जिल्लाहरूमा पनि पूर्वप्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता तथा प्रभावशाली राजनीतिक व्यक्तित्वहरू उम्मेदवार रहेकाले प्रहरीको ध्यान केन्द्रित छ । कतिपय जिल्लामा पूर्व द्वन्द्वकालीन पृष्ठभूमि भएका उम्मेदवार, फौजदारी अभियोग लागेका व्यक्ति तथा विवादास्पद समूहसँग जोडिएका नेताहरू मैदानमा रहेकाले सुरक्षा संयन्त्र सतर्क बनाइएको छ । केन्द्रीय प्रहरीका अनुसार अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी) र विशेष व्युरोले संयुक्त रूपमा दैनिक सुरक्षा विश्लेषण गर्दै आवश्यक परे तैनाथी हेरफेर गर्ने योजना बनाइरहेका छन् ।

सीमावर्ती २२ जिल्ला उच्च जोखिममा

निर्वाचन सुरक्षाको दृष्टिले भारतसँग खुला सीमा जोडिएका २२ जिल्लालाई प्रहरीले उच्च जोखिमयुक्त क्षेत्र मानेको छ । ती जिल्लामा सशस्त्र प्रहरी बलसँग समन्वय गरी सीमा निगरानी कडा बनाइनेछ । खुला सीमाका कारण हुने अवाञ्छित आवतजावत, अवैध सामग्री ओसारपसार तथा बाह्य हस्तक्षेपको सम्भावनालाई ध्यानमा राखेर विशेष सतर्कता अपनाइएको हो ।

अघिल्ला घटनाबाट पाठ, दोलखा र स्याङ्जामा सतर्कता

अघिल्ला निर्वाचनमा मुठभेड र बुथ कब्जाजस्ता घटनाले चर्चामा आएका दोलखा र स्याङ्जामा यसपटक विशेष सतर्कता अपनाउन स्थानीय प्रहरी नेतृत्वलाई निर्देशन दिइएको छ । विगतका अनुभवका आधारमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गरिनेछ ।

मतपेटिका ओसारपसार, मतपत्रको सुरक्षा, मतदानस्थल र मतगणना स्थलको सुरक्षाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सम्हाल्नेछन् । प्रत्येक चरणमा जोखिम मूल्यांकनका आधारमा सुरक्षा योजना परिमार्जन गरिने प्रहरीले जनाएको छ ।

डिजिटल माध्यमबाट हुन सक्ने प्रभाव र चुनौतिलाई मध्यनजर गर्दै निर्वाचन आयोग परिसरमै ‘कमाण्ड पोष्ट’ स्थापना गरिएको छ । उक्त युनिटले अनलाइन प्लेटफर्ममार्फत हुने गतिविधिको निगरानी गर्दै आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्नेछ । सो प्रयोजनका लागि नेपाल प्रहरीले सूचना प्रविधि निर्देशनालयबाट एक डीएसपीको नेतृत्वमा टोली खटाएको छ ।

प्रहरी स्रोतका अनुसार निर्वाचनको सम्पूर्ण अवधिभर सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा रहनेछ । प्रारम्भिक सुरक्षा विश्लेषणअनुसार देशभरिका ६ जिल्लालाई प्रहरीले उच्च सुरक्षा चुनौतियुक्त जिल्लाका रूपमा सूचीकृत गरेको छ । त्यसमध्ये झापा जिल्लालाई पहिलो नम्बरको सुरक्षा चुनौतियुक्त जिल्ला (हाई अलर्ट) का रूपमा लिइएको छ ।

प्रहरी स्रोतका अनुसार झापामा नियमित रूपमा तैनाथ हुने प्रहरी जनशक्ति अपुग भएका कारण विभिन्न गण र गुल्मका टोली खटाइएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वय र व्यवस्थापनमा ती टोली झापाका विभिन्न प्रहरी कार्यालयमा छरिएका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसहितका उम्मेदवारीबीच चुनावी प्रतिस्पर्धा हुने झापा–५ लाई लक्षित गर्दै प्रहरीका थप टोली तैनाथ भएका हुन् । त्यहाँ पठाइएको थप टोलीले क्षेत्र नम्बर ५लाई लक्षित गरेर आवश्यक काम गर्दैछ । यद्यपि, उक्त क्षेत्रका ‘हाइप्रोफाइल’ उम्मेदवारमध्ये ओली र शाह दुवै जिल्लाबाहिर छन् ।

झापापछि उच्च सुरक्षा चुनौति रहेका जिल्ला सप्तरी, सर्लाही, चितवन, गोरखा र रुकुमपूर्व हुन् । प्रहरीले सामान्यतया उम्मेदवारहरूको हैसियतका आधारमा कुन जिल्ला कति चुनौतियुक्त भन्ने कुराको निक्र्यौल गरेको उच्च स्रोत बताउँछ । झापापछिको उच्च सुरक्षा चुनौति रहेको दोस्रो जिल्ला रुकुम, तेस्रो गोरखा, चौथो चितवन, पाँचौ सर्लाही र छैठौँमा सप्तरी छ ।

दोस्रो सुरक्षा चुनौतिका रूपमा तोकिएको जिल्ला रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रतिस्पर्धाका लागि गएका छन् । उनका बिरुद्ध एमाले र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार मुख्य प्रतिस्पर्धी हुने कारण सबै उम्मेदवारका गतिविधिलाई प्रहरीले उच्च निगरानीमा राख्ने भएको छ । त्यहाँ पनि बुटवलस्थित प्रहरी तालिम केन्द्रसहित विभिन्न गण र गुल्मका थप टोली पुगिसकेका छन् ।

रुकुमपूर्वमा प्रचण्डका प्रतिस्पर्धीमध्ये क्रमशः एमालेका लीलामणि गौतम, प्रलोपाका सन्दीप पुन, नेपाली कांग्रेसकी कुसुमदेवी थापा र रास्वपाका लखनकुमार थापालाई प्रहरीले सम्भावित घटनासँग सम्बन्धित हुने आँकलन गरेको स्रोतले जनायो । एमाले मुख्य प्रतिस्पर्धी भएका कारण र प्रलोपाका उम्मेदवार आफैँ पूर्व लडाकु भएका कारण त्यस्तो अनुमान गरिएको हो ।

तेस्रो जिल्ला गोरखामा विभिन्न किसिमका फौजदारी अभियोग लागेका र जेन–जी आन्दोलनका अगुवासमेत उम्मेदवार रहेका कारण रुकुम पूर्वपछिको चुनौतिपूर्ण जिल्लाका रुपमा लिइएको हो । त्यहाँको क्षेत्र नं. १मा जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङ (रास्वपा), कांग्रेसका प्रेमकुमार खत्री र एमालेका आरसी लामिछानेबीचको प्रतिस्पर्धा हुने अनुमानसहित प्रहरीले सुधनमाथि हुने सम्भावित सुरक्षा चुनौतिलाई दृष्टिगत गर्दै थप टोली पठाइएको प्रहरी स्रोतको भनाइ छ ।

क्षेत्र नं. २मा एमालेबाट ‘चक्रे मिलन’ का नामले चिनिने मिलन गुरुङ उम्मेदवार छन् । उनीसँग रास्वपाका कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका प्रकाशचन्द्र दबाडी, नेकपाका लेखनाथ न्यौपाने मुख्य प्रतिस्पर्धी छन् । उम्मेदवारी यही ‘भद्रगोल’ देखेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दर्ता गरेको उम्मेदवारी पनि फिर्ता लिएका थिए । प्रहरीले उम्मेदवारहरूको स्थिति (विगतको पृष्ठभूमि) लाई ख्याल गर्दै पोखरास्थित प्रहरीका गण र गुल्मबाट थप टोली पठाउने भएको हो ।

चौथो जिल्लाका रुपमा रहेको चितवनमा रास्वपा सभापति रवि लामिछाने र नेकपाकी रेनु दाहालको उम्मेदवारीका कारण सुरक्षा चुनौति हुनसक्ने विश्लेषण प्रहरीले गरेको हो । पाँचौं जिल्लामा राखिएको सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन् । सुरक्षा चुनौतिका दृष्टिले छैठौँ जिल्ला मानिएको सप्तरीमा जसपा अध्यक्ष उपेन्द्र यादव क्षेत्र नं. ३ र जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त राउत) क्षेत्र नं. २बाट उम्मेदवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here