व्यवसायीलाई आपत–विपतमा तत्काल सहयोग गर्ने लक्ष्य
झापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायी सदस्य राहत कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् ।
उद्योगी–व्यवसायी सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषमा उनले आफ्नो जन्मदिनको अवसर पारेर ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । 
संघले उद्योगी–व्यवसायीलाई विभिन्न प्रकारका जोखिम र संकटबाट जोगाउन तथा आपतकालीन अवस्थामा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले व्यवसायी सदस्य राहत कोष स्थापना गरेको छ ।
सो कोषमा अध्यक्ष न्यौपानेले आफू अध्यक्षमा निर्वाचित भएपछि व्यवसायीको हकहित संरक्षण गर्दै आपत–विपतमा परेका सदस्यलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको र सोही अभियानलाई सुदृढ बनाउन आफूले व्यक्तिगत रूपमा योगदान गरेको बताए ।
उनले व्यवसाय क्षेत्र स्वभावतः जोखिमपूर्ण हुने भएकाले राहत कोषलाई निरन्तर सशक्त बनाउँदै लगिने उल्लेख गरे । ‘व्यवसायीहरुलाई समय समयमा विभिन्न किसिमका संकटमा पर्न सक्छन् । त्यस्ता बेला राहत कोषले सदस्यलाई समयमै सहयोग पु¥याउने विश्वास लिएका छौँ,’ उनले भने, – आगामी दिनमा पनि कोषलाई थप मजबुत बनाउन सहयोग निरन्तर रहनेछ। ’
न्यौपानेले व्यवसायीको दुःख–सुखमा संघ सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोगबाट कोषलाई अझ प्रभावकारी बनाइने बताए । उनले सदस्यको आवश्यकता र अवस्थाअनुसार राहत वितरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तथा व्यवसायी सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले स्वागत मन्तव्यसहित कोष स्थापनाको उद्देश्यबारे जानकारी दिएका थिए ।
घिमिरेले एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको बताए । उनले जन्मदिन, वैवाहिक वर्षगाँठ तथा पितृ स्मरणजस्ता अवसरमा कोषमा सहयोग जुटाउँदै आएको जानकारी दिँदै जुनसुकै सहयोगले कोषलाई जीवन्त बनाउने उल्लेख गरे । व्यवसायीको सहयोगले संकटको घडीमा सदस्यलाई छिटो राहत उपलब्ध गराउन थप ऊर्जा मिलेको उनले बताए ।
उनले राहत कोषमा सहयोग गर्ने दातालाई सम्मान गर्ने परम्पराले सहयोगीको आत्मबल बढ्ने विश्वास व्यक्त गर्दै कोष सञ्चालनमा पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखिएको बताए ।
कार्यक्रममा जन्मदिनको अवसरमा सहयोग उपलब्ध गराएका अध्यक्ष न्यौपानेलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा संघका सल्लाहकार तथा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले न्यौपानेले जन्मदिनको अवसर पारेर राहत कोषमा सहयोग गरेकोमा प्रशंसा व्यक्त गर्दै अन्य व्यवसायीलाई पनि सहयोग अभियानमा जोडिन आग्रह गरे ।
प्रमुख अतिथि शिवाकोटीले बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी सदस्य राहत कोष स्थापना गरेर समाजोपयोगी र पुण्य कार्य गरेको टिप्पणी गरे । उनले यस्तो कोषले संकटमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।




























