बिराटनगर ।

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–४ मा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका भवानी लिम्बूलाई चार ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र बुद्धशान्ति गाउँपालिका–३ का श्याम धिमाल र कविन्द्र बस्नेतलाई छ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।
चेजजाँचकै क्रममा मोरङको लेटाङ–३ की तारा कुमारी लिम्बूलाई दुई ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय लेटाङले र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई–८ का इन्द्रराज घिमिरेलाई ३०० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान–१६ का राम तामाङ र संगे शेर्पालाई २२० ट्याब्लेट प्रतिबन्धित औषधी सहित, धरान–१२ का विनय राई र धरान–१९ का रुविन राईलाई ३७० ट्याव्लेट प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































