झापा । नयाँ नेपाली चलचित्र ‘तिलस्मी’ ले औपचारिक रूपमा यात्रा थालेको छ। चलचित्रको शुभमूर्हत झापाको हल्दीबारी गाउँपालिका–१, गोल्धापस्थित सिंहबाहिनी मन्दिर परिसरमा धार्मिक विधिपूर्वक सम्पन्न गरिएको हो।
मन्दिरको शान्त वातावरणमा कलाकार, निर्माण टिम र शुभेच्छुकको उपस्थितिमा शुभारम्भ गरिएको कार्यक्रमले चलचित्रप्रति उत्साह थपेको देखिन्थ्यो।
चलचित्रको कथा तथा निर्देशन तारा अधिकारीको रहेको छ भने पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका हुन्। कलाकारितामा महेश खड्का, जान्बी बस्नेत, सुनिसा बजगाईं, रस्मी भट्टलगायतको सहभागिता रहने निर्माण पक्षले जनाएको छ। चलचित्रका दृश्यहरू झापा, इलाम र काठमाडौंका विभिन्न लोकेसनमा छायाङ्कन गरिने तयारी छ।
सुनौलो तारा मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको ‘तिलस्मी’ ले समाजमा घटिरहेका समसामयिक घटनाहरूलाई कथावस्तुका रूपमा प्रस्तुत गर्ने निर्देशक अधिकारीले बताइन्। उनका अनुसार चलचित्रले केवल मनोरञ्जन मात्र नभई दर्शकलाई सोच्न बाध्य पार्ने विषयवस्तु बोकेको छ।
शुभमूर्हत कार्यक्रममा बोल्दै कलाकारहरू महेश खड्का, जान्बी बस्नेत, सुनिसा बजगाईं, भविष्य कार्की र आर्जे सिंहले चलचित्रको कथावस्तु र निर्माण टिमप्रति विश्वास व्यक्त गर्दै ‘तिलस्मी’ दर्शकको मन जित्नेमा आशावादी रहेको बताए।
उत्साहपूर्ण माहोलबीच सुरु भएको ‘तिलस्मी’ अब छायाङ्कनतर्फ अघि बढ्दै नेपाली चलचित्र बजारमा नयाँ अपेक्षा बोकेको प्रवेश गर्ने संकेत देखिएको छ।































