सिमसार दिवसको सार्थकता

0
12

प्रत्येक वर्षको फेबु्अरी २ का दिन सिमसार दिवस मनाउने गरिन्छ । सिमसार क्षेत्र सम्पूर्ण मानव जाति एवम् अन्य प्राणी र वनस्पतिको समेतको जीवनसँग जोडिएको छ । त्यसैले सिमसारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले यो दिवस विश्वव्यापी रुपमा मनाउने गरिएको हो । सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा सिमसार महासन्धि आजकै दिन भएको थियो । त्यही दिन र सिमसारको महत्व विश्वव्यापी गर्न सन् १९०५ देखि यो दिवस मनाउन थालिएको हो । सोही महासन्धिको आधारमा नेपालमा सन् १९९१ देखि सिमसार दिवस विविध कार्यक्रमका साथ मनाउन थालिएको हो ।

प्राकृतिक वा कृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रुपले पानीले ढाकेको, पानी बग्ने, भासिने वा दलदल भएको धापलाई सिमसार भनिन्छ । अर्थात् पानीका स्रोतहरुबाट सधैँभरी पूर्ण रहने जमिनको क्षेत्र नै सिमसार हो । नेपाल प्रकृतिको अनुपम वरदान हो, यहाँ भूगोलमा पनि विविधता छ । भूगोल, हावापानी, माटोका आधारमा भिन्न–भिन्न प्राणी र वनस्पतिको खेल्ने र बाँच्ने सुन्दर ठाउँ हो नेपाल । जैविक विविधताको भण्डार छ र पृथ्वीमा पाइने सम्पूर्ण जीव र वनस्पतिमध्ये चालीस प्रतिशत यही क्षेत्रमा पाइन्छ ।

सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरण जोगाउन ठूलो योगदान दिन्छ । यसले वातावरण संरक्षण हुने मात्र होइन पर्यावरणको प्रवद्र्धनमा पनि टेवा पु¥याउँछ । तर पछिल्लो समय अत्यधिक प्रयोग भूमि अतिक्रमण, पानीका मुहान सुक्का र मिचाहा प्रजातिका कारण सिमसारको संरक्षणमै चुनौती थपिएको छ । जलवायु परिवर्तनले पानीका स्रोतहरु सुक्दै गएका छन्, पोखरीमा जलस्तर घट्दै गएको छ र सिमसारको अस्तित्वमा संकट उत्पन्न हुन थालेको छ ।

सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । त्यसैले यसलाई सामाजिक, जैविक, पर्यावरणीय मात्र होइन आर्थिक दृष्टिले पनि मूल्यवान मानिएको छ । तर, नेपालमा प्रत्येक वर्ष सिमसार क्षेत्रहरु अतिक्रमण र दोहनका कारण नासिँदै जान थालेका छन् । खासगरी सिमसार क्षेत्रको विनाशको चुरे क्षेत्रमा पानीको हाहाकार हुन थालेको छ । भूमिगत जल सतह सुक्दै जाँदा र सिमसार क्षेत्रको पुनर्भरण नहुँदा उत्पन्न संकट गहिरिँदो छ । त्यसैले यो दिवसले सिमसार क्षेत्रको संरक्षण गर्ने सरोकारवाला सबैलाई प्रेरीत गर्नुपर्छ । अनि मात्र यस्ता सुन्दर प्राकृतिक स्रोतहरु सुरक्षित हुन्छन् र दिवसको सार्थकता देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here