सुनसरी,

रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना के.सी. विगत दुई दशकदेखि निरन्तर सामाजिक सेवामा समर्पित रहँदै आएकी प्रेरणादायी महिला अभियन्ता हुनुहुन्छ। रोल्पा जस्तो विकट भूभागमा जन्मिएर हुर्किएकी के.सी. ले समाजका दुःखी, पीडित तथा पछाडि पारिएका वर्गको पीडा नजिकबाट अनुभूति गर्दै सामाजिक सेवाको यात्रा सुरु गर्नुभएको हो।
स्वास्थ्य, शिक्षा, खानेपानी तथा मानवीय सेवाका क्षेत्रमा उहाँले पुर्याएको योगदान उल्लेखनीय मानिन्छ। दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले काठमाडौंबाट चिकित्सक टोली लिएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएकी के.सी. ले विशेषगरी ॐ समाज डेण्टल अस्पतालसँगको सहकार्यमा १९० पटकभन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गरी हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा उपलब्ध गराउन सफल हुनुभएको छ।
“सेवा कुनै ठाउँले होइन, आवश्यकताले माग गर्छ,” यमुना के.सी. भन्छिन्, “जहाँ उपचार छैन, त्यहीँ अस्पताल पुर्याउनु नै मेरो लक्ष्य हो।” स्वास्थ्य सेवासँगै सामाजिक संरचना निर्माणमा पनि उहाँको भूमिका सक्रिय रहँदै आएको छ।
रोल्पामा वृद्ध–बृद्धाका लागि वृद्धाश्रम, दाङमा असहाय तथा बेसहारा बालबालिकाका लागि बालआश्रम स्थापना गर्नुका साथै मठ–मन्दिर, पाटी–पौवा, तटबन्ध निर्माण तथा वृद्धाश्रमहरूमा नगद र खाद्यान्न सहयोग गर्दै आउनुभएको छ। सप्तरी र रामेछापमा मन्दिर निर्माण तथा संरक्षणमा पनि उहाँको योगदान उल्लेखनीय छ।
काम गर्दा भावनाभन्दा योजनालाई प्राथमिकता दिने अभियन्ताका रूपमा परिचित के.सी. कुनै पनि अभियान अघि बढाउनु अघि सरोकारवालासँग परामर्श गर्ने बताउनुहुन्छ। करिब १५ वर्षदेखि अभियन्ता राजन थापासँग सहकार्य गर्दै उहाँले सामाजिक अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ। यिनै योगदानको कदरस्वरूप उहाँले देशका विभिन्न स्थानबाट सयौँ सम्मान तथा कदरपत्र प्राप्त गरिसक्नुभएको छ।
सामाजिक सेवामा गरेको लामो योगदानकै आधारमा यमुना के.सी. हाल सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ। उहाँको चुनाव चिह्न ‘मुसा’ रहेको छ। स्थानीयस्तरमा उहाँको इमान्दारिता, समर्पण र सेवाभावको व्यापक प्रशंसा हुँदै आएको छ।
एक वृद्ध आमाले “तपाईं त काठमाडौंमै बसेर राजनीति गर्न सक्नुहुन्थ्यो, किन सुनसरी ?” भनी सोध्दा उहाँले दिएको जवाफ अहिले जनस्तरमा चर्चाको विषय बनेको छ। “काठमाडौंमा धेरै विकास भइसकेको छ, तर सुनसरीमा विकास गर्न अझै धेरै बाँकी छ,” ।
के.सी. भन्छिन्, “जहाँ आवश्यकता बढी छ, त्यहीँबाट मैले आफ्नो जिम्मेवारी सुरु गर्न चाहें। मैले राजनीति सेवाका लागि रोजेकी हुँ, पदका लागि होइन।” हालै ॐ समाज डेण्टल अस्पतालद्वारा आयोजित ‘सडकदेखि सदनसम्म’ कार्यक्रमअन्तर्गत काठमाडौंको माछापोखरीमा सम्पन्न स्वास्थ्य शिविरमा सहभागी हुँदै उहाँले कलाकार, पत्रकार, चिकित्सक तथा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको थियो। सो अवसरमा उनले भनिन् — “यहाँहरूको साथ र सहयोगले मलाई अझ बलियो बनाएको छ।”
त्यसै दिन तारकेश्वर नगरपालिका–७ स्थित नवजीवन परोपकार समाज पुगेर वृद्ध आमाबुबाबाट आशीर्वाद ग्रहण गर्नुभएको के.सी. लाई वृद्ध आमाबुबाले भावुक हुँदै सफल यात्राको कामना गर्दै बिदाइ गरेका थिए। साथै, साँखुस्थित द्वन्द्वपीडित अपांग समाज नेपाल पुगेर ५३ जना बालबालिकासँग भेटघाट गर्दा बालबालिकाले “जितेर आउनुहोस् है आमा” भन्दै भावुक बिदाइ गरेका थिए।
चुनावी प्रतिबद्धताअन्तर्गत यमुना के.सी. ले रामधुरीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी, भ्रष्टाचारमुक्त समाज निर्माण, महिलाको सहभागिता वृद्धि, कृषिको आधुनिकीकरण र बजारीकरण, जेन्जीका माग समाधान, विभिन्न जातजातिको धर्म–संस्कृति संरक्षण, शिक्षा–स्वास्थ्य–खानेपानी निःशुल्क तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख एजेन्डाका रूपमा अघि सार्नुभएको छ।
लामो समयदेखि समाजसेवामा समर्पित यमुना के.सी. लाई अहिले स्थानीय स्तरमा सेवाबाट नेतृत्वमा उक्लिँदै गरेकी उदाहरणीय महिलाका रूपमा हेरिएको छ। सामाजिक सेवाबाट राजनीतिक नेतृत्वतर्फको उहाँको यात्रालाई जनताले कसरी मूल्यांकन गर्छन् भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ।


























