
विवाहको दिन बेहुला–बेहुली हेर्न आफन्त, शुभचिन्तक, छिमेकी र पाउनासम्मको ठूलो भिड लाग्छ । त्यो भिड घरको आँगनदेखि गल्ली, चोक र सडकसम्म फैलिन्छ । उत्साह, ताली, कौतुहल र हल्लाले माहोल भरिन्छ । तर, विवाह सकिएपछि आउने परम्परागत ‘दुलन फर्काउने’ दिन दृश्य फेरिन्छ । त्यो दिन रमाइलो हेर्न आएका हुँदैनन्, जिम्मेवारी बोक्ने सीमित मानिस मात्र साथमा हुन्छन् । यही नेपाली समाजको सामान्य तर गहिरो यथार्थ हो । आजको नेपाली राजनीतिमा पनि यही उपमा अक्षरशः लागू हुन्छ । विशेषतः काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहको उम्मेदवारी, उनको देश यात्रा र त्यसले सिर्जना गरेको भिडको सन्दर्भमा ।
बालेन शाह जहाँ–जहाँ पुग्छन्, त्यहाँ भिड देखिन्छ । युवाको ताली, नाराबाजी, मोबाइलका क्यामेरा, सामाजिक सञ्जालका लाइभ र रील सबैले मिलेर एउटा ‘लहर’को आभाष दिन्छ । समर्थकहरूले यसलाई जनताको अपार समर्थनको प्रमाण ठान्छन् । तर, राजनीति दृश्यको खेल होइन, परिणामको खेल हो । चुनाव भिडले होइन, मतपेटिकाको गणनाले जितिन्छ । यही बिन्दुमा बालेन शाहको देश यात्रालाई भावनात्मक उत्साहबाट होइन, कठोर राजनीतिक यथार्थबाट मूल्याङ्कन गर्नुपर्छ ।
नेपालको चुनावी इतिहास निर्दयी छ । यहाँ पटक–पटक यस्तो भएको छ– सभा भरिभराउ, सडकमा उत्साह, सामाजिक सञ्जालमा ट्रेण्ड तर परिणामको दिन मतगणनामा सन्नाटा । २०६४ को संविधानसभा निर्वाचनमा देखिएको परिवर्तनको उभार, २०७४ मा नयाँ शक्तिको चर्चा, २०७९ मा स्वतन्त्र उम्मेदवारहरूको ‘लहर’ यी सबैका साझा विशेषता थिए– उत्साह धेरै, संरचना कमजोर । अन्ततः पुरानै शक्ति बलियो भएर फर्कियो । इतिहासले यही भन्छ लहर टिक्दैन, संगठन टिक्छ ।
बालेन शाहको राजनीतिक उदय पनि यही विरोधाभाषको बीचमा उभिएको छ । काठमाडौं महानगरको मेयरका रूपमा उनले परम्परागत राजनीतिलाई असहज बनाउने निर्णयहरू गरे । फुटपाथ, नक्सा पास, कर प्रणाली, सार्वजनिक स्थान सबै क्षेत्रमा उनले हस्तक्षेपकारी भूमिका खेले । यसले उनलाई ‘स्टाटस को’ तोड्ने नेताको छवि दियो । तर राष्ट्रिय राजनीति महानगरको प्रशासनभन्दा धेरै जटिल छ । यहाँ निर्णयभन्दा पहिले संगठन, गठबन्धन र शक्ति सन्तुलन आउँछ ।
यहाँ अर्को पात्र प्रवेश गर्छ– केपी शर्मा ओली । नेपाली राजनीतिमा ओलीको नाम केबल पद र कार्यकालसँग सीमित छैन, उनको नामसँग एउटा स्पष्ट राजनीतिक विरासत जोडिएको छ । समर्थक र आलोचक दुबैले स्वीकार गर्नुपर्ने केही ऐतिहासिक तथ्य छन् । २०७२ सालमा संविधान जारी भएलगत्तै भारत–नेपाल सीमा क्षेत्रमा देखिएको अघोषित नाकाबन्दीको समयमा ओलीले लिएको कडा अडानले उनलाई जनस्तरमा फरक उचाइमा पु¥यायो ।
पेट्रोल, ग्यास र औषधिको अभावले देश आक्रान्त हुँदा पनि उनले ‘कुनै पनि दबाबमा राष्ट्रिय स्वाधीनता साटिन्न’ भन्ने सन्देश दिए । वैकल्पिक आपूर्ति मार्गको खोजी, चीनसँग पारवहन सम्झौताका पहल र भारत माथिको निर्भरता घटाउने इच्छाशक्तिले ओलीलाई ‘नाकाबन्दीका बिरुद्ध उभिएको प्रधानमन्त्री’को छवि दिलायो । यही क्षणबाट उनका लागि राष्ट्रवाद नारा मात्र होइन, राजनीतिक पहिचान बन्यो ।
भदौ २३–२४ को जेने–जी आन्दोलनका बेला केपी शर्मा ओली सरकार प्रमुख थिए । बन्द सामाजिक सञ्जाल खोलिनु, सुशासनको स्थापना, भ्रष्टाचार र दण्डहीनताको अन्त्य तथा स्वदेशमै रोजगारीको माग गर्दै माइतीघर मण्डलामा शुरु भएको आन्दोलन प्रारम्भमा शान्तिपूर्ण थियो । तर प्रदर्शन निषेधित क्षेत्र बानेश्वरतर्फ बढ्दा अवस्था तनावग्रस्त र हिंसात्मक बन्दै गयो । भदौ २३ को घटनाक्रममा १९ युवाको ज्यान गएकोले देशमा गहिरो शोक र स्तब्धता फैलियो ।
यही घटनालाई बहाना बनाउँदै भदौ २४ मा काठमाडौंमा हिंसात्मक गतिविधि फैलियो, जसमा संसद भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री र नेता निवास, अदालत र प्रहरी कार्यालयहरू, सरकारी तथा पार्टी कार्यालयहरू, व्यापारिक प्रतिष्ठान, मिडिया हाउस र निजी घरहरू सबै निशाना बने । आगजनी, तोडफोड र लुटपाटले आन्दोलनलाई अझ जटिल बनायो । संवेदनशील समयमा सरकार प्रमुख संवाद र समाधानभन्दा बाहिर, राजीनामा बुझाएर सेनाको जहाजमार्फत सुरक्षित स्थानमा जानु राजनीतिक रूपमा कमजोर र विवादास्पद सन्देश बन्यो, जसले नेतृत्वप्रति विश्वासमा गहिरो प्रश्न खडा ग¥यो र राज्य–युवा सम्बन्धमा दूरी अझ स्पष्ट गरिदियो ।
इतिहासमा यस्ता क्षणहरू नेताको विरासत बदल्ने मोड हुन्छन् । २०४६ को आन्दोलनमा दरबार मौन रहँदा राजसंस्थाको नैतिक आधार कमजोर भयो । २०६२/०६३ मा सडकले जित्दा सत्ता केन्द्र चुप लाग्दा पुराना संरचना ढले । भदौ २३–२४ को आन्दोलनले त्यस्तो स्तरको परिवर्तन नल्याए पनि यसले पुस्तालाई स्पष्ट सन्देश दियो– पुराना नेताहरू संकटमा पनि पुरानै शैली दोहो¥याउँछन् ।
झापा ५ मा केपी शर्मा ओली र बालेन शाहबीचको सम्भावित प्रतिस्पर्धा केबल दुई व्यक्तिको चुनाव होइन, दुई समयको टकराव हा े। एकातिर अनुभव, संगठन, इतिहास र चुनाव जित्ने कला बोकेका ओली । अर्कोतिर प्रतिक, असन्तोष र परिवर्तनको चाहना बोकेका बालेन । ओलीलाई थाहा छ चुनाव कसरी जितिन्छ । बालेनलाई थाहा छ भीड कसरी तानिन्छ । प्रश्न यही हो भीड कसरी मतमा बद्लिन्छ ?
बालेन शाहको देश यात्रा अहिले विवाहको दिनको भिड जस्तै छ । मानिस हेर्न आएका छन्– को हो, के बोल्छ, कति फरक छ । ताली बज्छ, फोटो खिचिन्छ, भिडियो बन्छ । तर, यही भिडलाई मतदान केन्द्रसम्म पु¥याउने रणनीति अहिलेसम्म स्पष्ट देखिँदैन । नेपालमा चुनाव जित्न संगठन चाहिन्छ । टोल, गाउँ, वडा, कार्यकर्ता, मतदानको दिनको व्यवस्थापन । सामाजिक सञ्जालको समर्थन मतपेटिकामा आफैं खस्दैन ।
जेने–जी यहाँ निर्णायक देखिन्छ । यही पुस्ताले बालेनलाई उचाल्यो, यही पुस्ताले ओलीको कमजोरी औँल्यायो । तर यही पुस्ता मतदानमा कति जिम्मेवार हुन्छ ? विगतले देखाएको छ– जेने–जी आन्दोलनमा अग्रपंक्तिमा हुन्छ, तर मतदानमा अनुपस्थित । यदि यो पटक पनि त्यही दोहोरियो भने बालेनको भिड इतिहासमा फोटो र भिडियोका रूपमा मात्र बाँकी रहने छ ।
राजनीति अन्ततः जिम्मेवारीको परीक्षा हो । विवाहको दिनको भिडले कथा बनाउँछ, तर दुल्हन फर्काउने दिनको साथले भविष्य तय गर्छ । ओलीले इतिहासमा केही निर्णायक क्षण जिते, तर जेने–जी आन्दोलनको बेला देखिएको पलायन उनको कमजोर अध्याय बन्यो । बालेन आज भिडको बीचमा छन्, तर भोलि त्यो भिड मतमा बद्लिन्छ कि बद्लिँदैन, त्यहीँबाट उनको राजनीतिक मूल्यांकन हुनेछ । आजको प्रश्न कठोर तर अपरिहार्य छ– यो भिड परिवर्तनको बीऊ हो कि फेरि अर्को एक क्षणिक उन्माद ? इतिहास उत्तर कुर्दैन, उसले परिणाम मात्र लेख्छ ।



























