झापा–५ मा सञ्चारमाध्यमको निष्पक्षतामाथि कांग्रेसको प्रश्न : दल र उम्मेदवारको मर्यादा मिच्ने सामग्री प्रसारण भएको आरोप

0
10

झापा । नेपाली कांग्रेसका नेताहरूले झापा–५ को निर्वाचनलाई लिएर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बाहिर आएका सामग्रीप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष पत्रकारितामाथि प्रश्न उठाएका छन्। फेसबुकलगायत सामाजिक सञ्जालमा फैलाइएका झुटा, तथ्यहीन र भ्रामक प्रचारले नागरिकको सही सूचना पाउने अधिकार हनन भएको उनीहरूको दाबी छ।

कांग्रेस झापा–५ निर्वाचन क्षेत्रको चुनाव प्रचार–प्रसार अन्तर्गतको सूचना सञ्जाल समन्वय समितिको आयोजनामा आज बिहान दमकमा आयोजित पत्रकार अन्तरक्रियामा नेताहरूले पत्रकारिताका आधारभूत मूल्य–मान्यता, सिद्धान्त र निर्वाचन आचारसंहिताविपरीत सामग्री प्रकाशित–प्रसारित भइरहेको उल्लेख गरे।

कांग्रेसबाट झापा–५ की प्रत्यासी उम्मेदवार मन्धरा चिमरिया पौडेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेताहरूले विघटित संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएको र अघिल्लो निर्वाचनमा पनि झापा–५ मा निकटतम प्रतिस्पर्धी दलको हैसियत बनाएको स्मरण गराए। तर, केही सञ्चारमाध्यमले दल र उम्मेदवारको मर्यादा विपरीत सामग्री प्रस्तुत गर्दै चौथो–पाँचौँ स्थानमा रहेका दलका उम्मेदवारलाई प्राथमिकतामा राखेर पत्रकारिताको मर्ममाथि प्रहार गरेको उनीहरूको आरोप थियो।

कांग्रेस केन्द्रीय सदस्य सुरेश सुब्बाले सर्लाही र झापाका विषयलाई जोडेर प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत फैलाइएका प्रचारमा कुनै सत्यता नरहेको बताए। यस किसिमका गतिविधिले सञ्चार जगतको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा भएको उनको टिप्पणी थियो।

कसैको स्वार्थपूर्तिका लागि कल्पनाका आधारमा तयार गरिएका सूचना सामग्री सार्वजनिक गर्नु अघि सञ्चारकर्मी तथा सामग्री प्रवाहकर्ताले आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल गर्नुपर्ने सुब्बाको सुझाव छ। तालमेल, गठबन्धनलगायत विषयमा भ्रम फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने र कांग्रेसप्रति नकारात्मक धारणा निर्माण गर्न भूमिका खेल्ने तत्वहरूको पहिचान भइसकेको भन्दै उनले कानुनी उपचार खोजिने चेतावनी दिए।

कांग्रेस झापाका कार्यवाहक सभापति शेरबहादुर भट्टराईले झापा–५ को विषयमा देश–विदेशबाटै भ्रम फैलाउने प्रयास भइरहेको बताए। नागरिकहरू त्यसप्रति सचेत हुनुपर्ने उनको आग्रह छ। कांग्रेसभित्र उम्मेदवारीका विषयमा कुनै मतभेद नरहेको र पार्टी एकढिक्का भएर निर्वाचनमा होमिएको उल्लेख गर्दै उनले मतदाताबाट सकारात्मक परिणामको अपेक्षा गरिएको बताए।

कांग्रेस झापा–५ का सभापति ढुण्डीराज भण्डारीले यसपटक झापा–५ मा गुमेको कांग्रेसको विरासत फर्काउने दृढ संकल्पसहित नेता तथा कार्यकर्ता चुनावी अभियानमा जुटेको बताए। सबै किसिमका तथ्यहीन र भ्रामक प्रचारको पार्टीले एकताबद्ध रूपमा प्रतिवाद गरिरहेको उनको भनाइ छ।

विपक्षी दलहरू कांग्रेस निर्वाचन जितको नजिक पुगेको देखेपछि अत्तालिएर सामाजिक सञ्जालको दुरुपयोग गर्ने, मतदाताको गोपनीयता भंग गर्ने जस्ता गैरजिम्मेवार क्रियाकलापमा संलग्न भएको भण्डारीको आरोप छ।

सञ्चारमाध्यमले निष्पक्ष र स्वतन्त्र पत्रकारिताको अभ्यास गर्दै मूल्य–मान्यता र सिद्धान्तअनुसार सबै दल र उम्मेदवारप्रति समान व्यवहार गरे मात्र लोकतन्त्र सुदृढ हुने र नागरिकको सर्वोच्चता कायम रहने कांग्रेस नेताहरूको निष्कर्ष छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here