झापा , ‘स्थिर सरकार युगको आवश्यकता’माथि बहस सिर्जना गर्दै लोकतन्त्रको सुदृढीकरण र नागरिकको जनमतको सम्मानका लागि मेची–महाकाली पैदलयात्रा सुरु गरिएको छ ।
कुनै पनि राजनीतिक दल, पार्टी वा उम्मेदवारको समर्थनमा नभई नागरिकको आवाज राज्यसम्म पु¥याउने उद्देश्यसहित अभियन्ता विजयकुमार शर्माले यात्राको थालनी गरेका हुन् ।
रुकुम स्थायी घर भई हाल दाङको तुलसीपुरमा बसोबास गर्दै आएका शर्मा पेशाले पशुपालन व्यवसायी हुन् । उनी ‘आधा सपना’ पुस्तकका लेखकसमेत हुन् ।
निर्वाचनप्रति जनताको विश्वास क्रमशः कमजोर बन्दै गएको अवस्थालाई ध्यानमा राख्दै स्थिर सरकार निर्माणको आवश्यकता उम्मेदवारसम्म पु¥याउन यो यात्रा थालिएको शर्माले बताएका छन् ।
यात्राको मुख्य उद्देश्य झापादेखि कञ्चनपुरसम्मका उम्मेदवारलाई स्थिर सरकार निर्माणप्रति प्रतिबद्ध हुन प्रेरित गर्नु र नागरिकको आवाज प्रत्यक्ष रूपमा सुनाउनु हो – यात्रा शुभारम्भका क्रममा उनले भने । लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र जनमतको सम्मान गर्ने वातावरण सिर्जना गर्न पैदलयात्रा प्रभावकारी माध्यम हुने विश्वास उनको छ ।
यात्राअन्तर्गत शर्मा दैनिक करिब ४० किलोमिटर पैदल यात्रा गर्नेछन् । पाँच दिन निरन्तर पैदल हिँड्ने र छैटौँ दिन मौन रूपमा दौडने कार्यक्रम तय गरिएको छ ।
छैटौँ दिनको दौड १०० किलोमिटरको हुने जनाइएको छ । समग्र यात्रामा करिब ६०० किलोमिटर पैदल र ५ सय किलोमिटर दौड पूरा गरिनेछ ।
यात्राको समापन २१ दिनमा कञ्चनपुरस्थित महाकाली पुगेर गरिने कार्यक्रम रहेको छ ।
मेची–महाकाली पैदलयात्राको औपचारिक शुभारम्भ झापा स्थित मेचीपुलबाट गरिएको हो । उद्घाटन समारोहमा झापा क्षेत्र नम्बर–२ की उम्मेदवार तथा निर्वतमान उपसभामुख इन्दिरा राना मगर, नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नम्बर–१ का उम्मेदवार रामचन्द्र उप्रेती, नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डे, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक निशेष चापागाईंलगायत स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटनका क्रममा दीप प्रज्ज्वलन गर्दै यात्राप्रति ऐक्यबद्धता जनाइएको थियो । सहभागीहरूले लोकतन्त्र मजबुत बनाउन नागरिकस्तरबाट हुने यस्ता शान्तिपूर्ण अभियानले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका थिए ।
अभियन्ता शर्माले यात्राका क्रममा विभिन्न स्थानमा नागरिकसँग संवाद गर्ने, उनीहरूको अपेक्षा संकलन गर्ने र ती आवाज उम्मेदवार तथा सरोकारवाला निकायसम्म पु¥याउने बताए ।
स्थिर सरकारबिनाको राजनीतिक अस्थिरताले विकास र सुशासनमा असर पारेकाले नागरिक सचेतनाका लागि पनि यो यात्रा महत्वपूर्ण हुने उनको भनाइ छ ।
यसैबीच यात्रा सफलताको शुभकामना दिँदै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले नागरिकस्तरबाट गरिएको यो अभियान प्रभावकारी हुने र निष्पक्ष निर्वाचन,स्थितर सरकारको आवाजलाई थप वुलन्द बनाउन सचेतना फैल्याउने विश्वास व्यक्त गरे ।






























