झापा ,सहारा साकोस शिक्षा सदन, बिर्तामोड – २ झापाको आठौं वार्षिकोत्सव कार्यक्रम विविध शैक्षिक तथा सांस्कृतिक गतिविधिसहित सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विन्दू श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी प्रमुख अतिथि रहेका थिए । 
कार्यक्रममा सहारा नेपाल शिक्षा सदनका सञ्चालक तथा सहारा नेपाल साकोसका कार्यकारी निर्देशक एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले विद्यालयको दीर्घकालीन शैक्षिक तथा भौतिक विकाससम्बन्धी आगामी योजना सार्वजनिक गर्दै विद्यालयको पूर्वाधार विकासका लागि पाँच विगाह जमिन व्यवस्थापन भइसकेको जानकारी दिए । उनले चारपाने आसपासको सोही स्थानमा आधुनिक भौतिक संरचना निर्माण गरिने बताए ।
विद्यालयलाई नेपालीपन झल्कने नमूना विद्यालयका रूपमा विकास बताएका गिरीले विद्यार्थीका लागि नेपाली पोशाक अनिवार्य गरिने, नेपाली संस्कार र संस्कृति झल्कने शिक्षामा जोड दिइने तथा जापानको शैक्षिक मोडललाई आधार मानेर स्तरोन्नति गरिने योजना अघि सारिएको कार्यक्रममा उपस्थित आम अभिभावकलाई जानकारी गराए ।
मौलिक जीवनशैलीसँग जोडिएको अध्यापन, गुणस्तरीय र प्रविधिमैत्री सिकाइ, व्यवहारिक तथा संस्कारयुक्त शिक्षा प्रदान गर्ने लक्ष्य विद्यालयले लिएको उनको भनाई थियो ।
कार्यक्रममा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने योजना पनि सार्वजनिक गरिएको थियो । यस कार्यक्रममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने वातावरण विद्यालयले नै सिर्जना गर्ने छ विद्यालयका सञ्चालक गिरीले भने – आठवर्ष अघिबाट शुरु भएको यो विद्यालयलाई नेपालकै नमूना विद्यालय बनाउने लक्ष्य हामीले लिएका छौं सम्पूर्ण विद्यार्थी र तपाई आम अभिभावकको साथ हामीलाई चाहिएको छ ।
यस वर्षदेखि कक्षा थप गर्दै क्रमशः कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्थापन मिलाइने, इसिए गतिविधि विस्तार गरिने र विद्यार्थीलाई प्रोजेक्ट वर्कमा जोड दिइने योजना समेत विद्यालयले अघि सारेको उनको भनाई थियो ।
विद्यालयका शैक्षिक गतिविधिमाथि प्रकाश पार्दै प्रिन्सिपल विष्णु सिंहलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहारा साकोस शिक्षा सदन २०७४ सालमा स्थापना भएको जानकारी गराउँदै प्रारम्भमा सात जना विद्यार्थी, दुई जना शिक्षक एक जना सवारी चालकबाट सुरु भएको यस विद्यालयमा हाल ७०० विद्यार्थी अध्ययनरत रहेको कार्यक्रममा बताए ।
हाल विद्यालयमा ४२ शिक्षक, ६ सवारी चालक, १९ आया, एक भान्से, पाँच गार्ड, एक हेल्पर, एक सुपरभाइजर तथा पाँच अतिरिक्त शिक्षक गरी ७३ कर्मचारी कार्यरत रहेको उनको भनाई थियो ।
नर्सरी, एलकेजी, युकेजी र कक्षा एकमा तीन–तीनवटा सेक्सन सञ्चालन भइरहेको जानकारी गराएका प्रिन्सिपल सिंहलले प्रत्येक वर्ष कक्षा थप हुँदै आएको विद्यालयले आगामी शैक्षिक सत्रमा कक्षा ९ सञ्चालन गर्ने प्रक्रिया अघि बढाइसकेको बताए ।
विद्यालयले चौमासिक र मासिक परीक्षा सञ्चालन गर्दै आएको, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू गरिएको, कमजोर विद्यार्थीका लागि बिहान र बेलुकी विशेष कक्षा सञ्चालन गरिएको जानकारी उनको भनाई थियो ।
विद्यार्थीको भाषिक, नेतृत्व तथा शारीरिक विकासका लागि बिहानको प्रार्थना सभा, खेलकुद प्रतियोगिता र हरेक बुधबार अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएको र धर्म–संस्कृतिको संरक्षणका लागि पर्व विशेष कार्यक्रमहरू पनि नियमित रूपमा आयोजना गरिँदै आएको कार्यक्रममा जानकारी गराएका थिए ।
यसैबीच वार्षिकोत्सव कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यार्थी जेनिस तिवासी र विराज आचार्यले कविता वाचन प्रस्तुत गरेका थिए भने स्वरस्वती वन्दना, गुरु वन्दना र करतो प्रदर्शन प्रस्तुत गर्दा अभिभावक भावुक देखिएका थिए । प्रसुन भण्डारीको एकल गीत प्रस्तुतिले कार्यक्रमस्थलमा उत्साह थपेको थियो ।
सांस्कृतिक कार्यक्रमअन्तर्गत ‘हिल्स अन द बस’, तामाङ सेलो, ‘आई एम सो ह्याप्पी’, ‘रेशम फिरिरी’, ‘नाच्न पनि आउँछ मलाई’, महाकाल नृत्य, ‘खिले फूल बनी’, ‘हिजो राति सपनी’, कप्तान नृत्य, थारु नृत्य, मयूर नृत्य, मारुनी नृत्य, साकेला, नेवारी नृत्य, कालोटोपी, वुमवुम तथा ‘छिटको सारी मखमली चोरी’ बोलको गीतमा विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यले अभिभावक र अतिथिहरू मन्त्रमुग्ध देखिन्थे ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी सृष्टि खतिवडाले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालनसमेत शिक्षकको सहयोगमा विद्यार्थीहरुले नै भने अध्यक्ष विन्दू श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक यात्रामा अभिभावक, शिक्षक र कर्मचारीको निरन्तर सहयोगले नै प्रगति सम्भव भएको उल्लेख गरिन्।
आठ वर्षको यात्रामा सहारा साकोस शिक्षा सदनले न्यून शुल्क तथा निःशुल्क छात्रवृत्तिमार्फत आर्थिक रूपमा कमजोर तथा असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले जनाएको छ ।
आगामी दिनमा पनि समयसापेक्ष शिक्षा, व्यवहारिक सिकाइ र संस्कारयुक्त अध्यापनलाई निरन्तरता दिने प्रतिबद्धता विद्यालयले आम अभिभावक माझमा व्यक्त गरेको छ ।






























