विष्फोटक पदार्थ मुद्दाका अभियुक्त खरेल पुर्पक्षका लागि थुनामा

0
9

सुरेन्द्र भण्डारी

झापा । विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका झापा दमक नगरपालिका–१ का ४८ वर्षीय खगेन्द्र खरेल पुर्पक्षका लागि थुनामा पठाइएका छन् । झापा जिल्ला अदालतको माघ २१ गतेको आदेशअनुसार उनलाई सुनसरीस्थित झुम्का कारागार चलान गरिएको हो ।  

इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका खरेललाई बुधबार साँझ करिब ७ बजेर ५० मिनेटको समयमा प्रहरी नायब निरीक्षक प्रकाश मेहताको कमाण्डमा खटिएको चार जनाको प्रहरी टोलीले कारागारतर्फ लगेको थियो । नेपाल प्रहरी लेखिएको सेतो बुलेरो गाडीमार्फत लगिएका खरेललाई राति करिब ९ बजेर ४५ मिनेटको समयमा झुम्का कारागार बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खरेलमाथि विष्फोटक पदार्थ सम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको छ ।

को हुन् खगेन्द्र खरेल ?

२०३४ साल वैशाख १७ गते ताप्लेजुङमा जन्मिएका खरेल बाल्यकालमै बुबाआमासँग भारत गएका थिए । उनी भारतको असाममा बसेर अध्ययन गरेको प्रहरी स्रोत बताउँछ । उनका बुबाआमा हाल झापामा बस्दै आएका छन् भने अन्य आफन्त असाममै छन् ।

प्रहरीका अनुसार खरेल सन् १९९७ मा भारतीय सेनामा भर्ती भएका थिए । त्यहाँ केही वर्ष काम गर्ने क्रममा उनले बम बनाउने, हतियार चलाउने र विस्फोटक प्रयोगसम्बन्धी सीप सिकेको प्रहरीको दाबी छ । जागिर छाडेपछि सन् २००८ मा नेपाल फर्किएका उनी वैदेशिक रोजगारीका क्रममा दुबई पनि गएका थिए ।
नेपाल फर्किएपछि उनी ‘ग्रेटर नेपाल’ र ‘हिन्दूराष्ट्र नेपाल’ जस्ता अभियानमा सक्रिय रहेको प्रहरीको भनाइ छ ।

यस्तो छ बम आतंकका पटके अभियुक्तको आपराधिक इतिहास

प्रहरीको अभिलेखअनुसार खरेल शृङ्खलावद्ध बम आतंकमा संलग्न पटके अभियुक्त हुन् । उनी यसअघि झापा र सुनसरीका विभिन्न घटनामा संलग्न भई दुई पटक कारागार सजाय भोगिसकेका छन् ।
गत वर्ष सुनसरीको इटहरीमा नक्कली बम (होक्स) राखेर आतंक सिर्जना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । तीमध्ये एक खरेल हुन् । उनीसँगै इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीया लक्ष्मीदेवी थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२०८१ साल पुस १६ गते इटहरी उपमहानगरपालिका कार्यालय अगाडि, सुनसरी–मोरङ जोड्ने बुढीखोला पुल तथा धरान–इटहरी जोड्ने भोटेखोला पुलमा बम राखिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सूचनामा मानवीय क्षति पु¥याउनेभन्दा पनि पुल भत्काउने उद्देश्य रहेको उल्लेख थियो ।

प्रहरीले खोजतलास गर्दा इटहरी उपमहानगरपालिका कार्यालय अगाडि नक्कली बम फेला पारेको थियो भने अन्य स्थानमा केही फेला परेन । सोही दिन खरेल भारततर्फ फरार भएका थिए ।

कारागारबाट छुटे लगत्तै उही आतंक

प्रहरीका अनुसार खरेल पछिल्लो पटक २०८१ असोज १४ गते कारागारबाट छुटेका थिए । तर, कारागारबाट छुटेको तीन महिनापछि नै उनले पुनः आतंक सिर्जना गरेको आरोप लागेको छ ।

पुस १६ गतेको घटनापछि भारत पुगेका खरेलले ह्वाट्सएपमार्फत ३१ वटा जिल्लामा बम राख्ने धम्की दिएको प्रहरी स्रोत बताउँछ । त्यसपछि संघीय संसद भवनमा ड्रोन खसाल्ने धम्कीसमेत दिएका थिए ।
यसै क्रममा उनले गत पुस १९ गते बिहान झापा स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम (होक्स) राखेर त्रास फैल्याएका थिए ।

पटक–पटक आतंक सिर्जना गर्ने गतिविधिमा संलग्न भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा सुनसरी प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतको भनाइ छ ।
‘यो व्यक्ति प्रविधिमा पोख्त छ, ह्वाट्सएपमार्फत संसदमा ड्रोन खसाल्ने धम्की दिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘पटक–पटक आतंक फैलाउने उद्देश्यले सक्रिय रहने भएकाले ऊ उच्च जोखिममा राखिएको अभियुक्त हो ।’

पहिले पनि बम काण्डमा संलग्न

२०७८ चैत १४ गते इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा भएको बम विस्फोटको घटनामा पनि खरेल संलग्न थिए । सो घटनामा सुतली बम बनाउने क्रममा विस्फोट हुँदा रविन थापा र लमजुङका शेरजंग गुरुङ घाइते भएका थिए ।
त्यसबेला घाइते दुईसहित लक्ष्मीदेवी थापा र सञ्जय भनिने खगेन्द्र खरेललाई प्रहरीले पक्राउ गरेको थियो । २०७९ जेठ २० गते कारागार चलान भएका खरेल २०८१ असोज १४ गते छुटेका थिए ।

यसअघि २०७६ वैशाखमा झापाको कन्काई नदीको पुलमा बम राखिएको घटनामा पनि खरेल संलग्न थिए । गोर्खा जनमुक्ति पार्टीको नाममा राखिएको उक्त बम प्रहरीले डिस्पोज गरेको थियो । सो घटनामा संलग्न भएको आरोपमा खरेलसहित पाँच जना पक्राउ परेका थिए । दुई वर्ष कारागार सजाय भोगेर छुटेलगत्तै उनी पुनः सुनसरीको बम विस्फोट प्रकरणमा मुछिएका थिए ।

प्रहरीका अनुसार खरेलले ‘हिमाल सुरक्षा परिषद्’ नामक समूहसमेत गठन गरेका थिए ।
पटक पटक वम विष्फोट घटनामा मुछिएका खरेल झुम्का कारागारमा कैद भुक्ता गरिरहेका थिए । तर, ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा उनी फरार भएका थिए ।
फरार अभियुक्तलाई झापा प्रहरीले अनुसन्धानपछि झुम्का कारागार नै पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here