पहिचानवादी नेता एलबी पालुङ्वा पाँचथरबाट समानुपातिक उम्मेद्वार

0
52

झापा । पहिचान अधिकार, स्वाभिमान र समावेशी राज्य संरचनाको पक्षमा निरन्तर आवाज उठाउँदै आएका युवा नेता लाखबहादुर पालुङ्वा (एलबी) पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेद्वार बनेका छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालको साझा उम्मेद्वारका रूपमा पालुङ्वा चुनावी मैदानमा उत्रिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले ‘जाँतो’ चुनाव चिन्ह पाएका छन् ।

युवा पुस्तामाझ लोकप्रिय मानिएका पालुङ्वाले सुशासन, समृद्धि, स्वाभिमान र पहिचान अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै चुनावी अभियान अघि बढाएका छन् । ‘राष्ट्रिय मुक्ति क्रान्ति सफल पारौँ !’ भन्ने मूल नारासहित उनी चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।

हाल पालुङ्वा पाँचथर जिल्लाका विभिन्न स्थानीय तहमा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । पहिचान, अधिकार र समावेशी राजनीतिका सवालमा आफ्ना धारणा राख्दै उनले परम्परागत राजनीतिक अभ्यासबाट भिन्न विकल्प दिन सक्ने दाबी गरेका छन् ।

संयुक्त उम्मेद्वारीमार्फत पहिचानवादी शक्तिहरू एक ठाउँमा उभिएको सन्देश प्रवाह गर्ने प्रयास भइरहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । पाँचथरमा पालुङ्वाको उम्मेद्वारीले पहिचान र अधिकारको मुद्दा फेरि केन्द्रमा आउने अपेक्षा गरिएको छ ।

को हुन् एलबी पालुङ्वा ?

पहिचान आन्दोलनबाट संसदीय राजनीतिसम्मको यात्रामा अगाडि बढ्दै 

 पहिचान अधिकार, स्वाभिमान र समावेशी राज्य संरचनाको मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएका एलबी पालुङ्वा (लाखबहादुर पालुङ्वा) पछिल्लो समय पहिचानवादी राजनीतिका उदाउँदा नेताका रूपमा चिनिँदै आएका छन् ।

२०३७ साल असार २५ गते मंगलबार ताप्लेजुङको मावलिघर नाङ्खोल्याङमा जन्मिएका पालुङ्वाको नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा भने २०४० साल असार २४ गते जन्ममिति उल्लेख छ । साविक पञ्चमी गाउँ विकास समिति वडा नम्बर–३ (हाल हिलिहाङ गाउँपालिका–३, डाँडे) उनका स्थायी वतन हुन् । २०७२ सालदेखि उनी झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा बसोबास गर्दै आएका छन् ।

उनका बुबा आइन्द्रबहादुर पालुङ्वा किसान हुन् भने आमा विष्णुमाया पालुङ्वा गृहिणी हुन् । बाजे बमप्रसाद पालुङ्वा ब्रिटिश लाहुरे थिए । आर्थिक रूपमा मध्यम वर्गीय परिवारमा हुर्किएका पालुङ्वाको पारिवारिक पृष्ठभूमिमा अनुशासन र परिश्रमको प्रभाव देखिन्छ ।

शिक्षा र बौद्धिक यात्रा

पालुङ्वाले गाउँकै शिवालय आधारभूत विद्यालयबाट कक्षा ५ सम्म अध्ययन गरेका हुन् । २०५६ सालमा अमरपुर उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनी मावि तहसम्म प्रायः कक्षामा प्रथम हुँदै अब्बल विद्यार्थीका रूपमा चिनिन्थे ।

उच्च शिक्षाका लागि उनले महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलामबाट स्नातक तथा स्नातकोत्तर तह (अंग्रेजी र अर्थशास्त्र) अध्ययन पूरा गरे । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट अंग्रेजी र अर्थशास्त्रमा स्नातकोत्तर गरेका पालुङ्वाले अर्थशास्त्र केन्द्रीय विभागबाट एमफिल अध्ययनसमेत पूरा गरेका छन् ।

उनको शैक्षिक यात्रा यहीँ रोकिएन । ‘रैथाने अर्थतन्त्र’ (Indigenous Economy) विषयमा शोध (थेसिस) सम्पन्न गरेका पालुङ्वा हाल त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (PhD) को तयारीमा जुटेका छन् । एमफिल शोधका लागि उनले विश्वविद्यालय अनुदान आयोगबाट ‘फ्याकल्टी स्कलरशिप’ पनि प्राप्त गरेका थिए ।

सामाजिक सक्रियता

पालुङ्वाको सामाजिक यात्रा २०५८ सालबाट सुरु हुन्छ । आफ्नै पहलमा उनले पाँचथर जिल्लामा ‘सामाजिक विकास तथा सृजनशील युवा समन्वय संगठन’ स्थापना गरे । २०६७ सालसम्म सो संस्थाको अध्यक्षका रूपमा उनले विभिन्न सामाजिक र विकासका कार्यक्रम सञ्चालन गरे ।

२०६२ सालमा पालुङ्वा वंशको उत्थानका लागि पाँचथर जिल्लामा क्षेत्रीय सचिवको भूमिका निर्वाह गरेका उनले २०७५ सालयता ‘फुरुम्बोर पालुङ्वा वंश प्रतिष्ठान’ अन्तर्गत झापा, मोरङ, इलाम र सुनसरी चार जिल्लाको सचिवका रूपमा दुई कार्यकाल जिम्मेवारी बहन गरेका छन् ।

राजनीतिक यात्रा : विचारको खोज र पहिचान आन्दोलन

पालुङ्वा २०४८ सालतिर बामपन्थी राजनीतितर्फ आकर्षित भए पनि वीर नेम्वाङद्वारा लिखित ‘लिम्बुवानको राम कहानी’ र गोपाल गुरुङको ‘अदृश्य सत्य’ पुस्तकले उनलाई पहिचानवादी राजनीतितर्फ मोड्यो ।

२०५५ सालमा राष्ट्रिय जनमुक्ति पार्टीको विद्यार्थी संगठनमा विद्यालय तहको सचिव बनेका उनी २०५७ सालमा इलाम क्याम्पस अध्ययनरत रहँदा अनेरास्ववियु पाँचथर–इलाम सम्पर्क समितिको कोषाध्यक्ष बने । सोही वर्ष स्वतन्त्र विद्यार्थी युनियन सदस्यमा प्रत्यासी उम्मेदवारसमेत बनेका थिए ।

यद्यपि, एमालेको वैचारिक धारप्रति असन्तुष्ट हुँदै २०६३ सालमा उनले पार्टी सदस्यता त्यागे । सोही वर्ष संघीय लिम्बुवान राज्य परिषद्को महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भई लिम्बुवान आन्दोलनलाई उचाइमा पुर्‍याउन सक्रिय भूमिका खेले ।

दुई पटक नेपाल सरकार र संघीय लिम्बुवान राज्य परिषद् बीच भएको वार्तामा पार्टीको तर्फबाट शान्ति मन्त्रालयमा सहभागी भएका पालुङ्वा २०७१ सालमा पाँच पार्टीबीच भएको लिम्बुवान एकतापछि केन्द्रीय सचिव बने । २०७३ सालमा संघीय लिम्बुवान पार्टीको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्ष निर्वाचित भएका उनी पार्टीलाई निर्वाचन आयोगले रोक लगाएपछि २०७९ सालको संघीय निर्वाचनमा पाँचथरबाट स्वतन्त्र उम्मेदवार बने ।

निर्वाचनपछि पनि उनी निरन्तर पार्टी एकता र वैकल्पिक राजनीतिक शक्ति निर्माणमा सक्रिय छन् ।

हालको जिम्मेवारी र रुचि

हाल पालुङ्वा नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुखका रूपमा कार्यरत छन् । उनी झापा जिल्ला संयोजकसमेत हुन् ।

शिक्षण क्षेत्रमा पनि अनुभव बटुलेका पालुङ्वाले २०६२/६३ मा इलामको सुनाखरी बोर्डिङ स्कुलमा लेखा र अर्थशास्त्र पढाए । पाँचथरमा शिवालय प्राथमिक विद्यालय तथा २०७२/७३ मा वीरेन्द्र नमुना क्याम्पस चन्द्रगढीमा स्नातक तथा स्नातकोत्तर तहमा अंग्रेजी माध्यमबाट अध्यापन गराएका छन् ।

समाज सेवा, भ्रमण तथा अध्ययन–अनुसन्धान उनका प्रमुख रुचिका क्षेत्र हुन् । प्रेरणाको स्रोतका रूपमा उनी आफ्ना बाजे बमप्रसाद पालुङ्वा, पालुङ्वा वंशका अग्रज व्यक्तित्व तथा आफूलाई पढाउने गुरुहरूलाई मान्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here